मकवानपुर । मकवानपुर महिला समूहको अध्यक्षमा पुन कमला सुवेदी चयन भएकी छिन् । आइतबार भएको २१ औं साधारणसभा तथा ७ औं अधिवेशनले सुवेदीलाई सर्वसम्मत चयन गरेको हो । भेलाले उपध्यक्षमा उमा घिमिरे, सचिवमा सावित्री लामिछाने, कोषाध्यक्षमा मञ्जु लामालाइ चयन गरेको छ ।
भेलामा हेटौंडा उपमहानगरपालिका भिम प्रसाद तिमल्सिनाले मकवानपुर महिला समूह मार्फत एचआइभीको क्षेत्रमा उल्लेख्य काम भएको बताए । महिलाको स्थिती परिवर्तनको, सशक्तीकरणको लागि गरेको काम उदाहरणीय भएको तिमल्सिनाले बताए । “चेतनाको लागि काम धेरै भए अब, आर्थिक र उत्पादनसंग जोडेर सशक्त बनाइनु पर्छ, बन्चितीकरण, बहिष्करणमा परेकाहरूका लागि काम गर्नु पर्छ” तिमल्सिनाले भने ।
बालबालिकाको शिक्षा स्वास्थको लागि पनि ध्यान दिनु उनले आग्रह गरे । स्थानीय सरकारले अभिभावकत्व गर्दै विकासमा बन्चितमा रहेकालाई प्राथमिकता दिनको लागि नीति विधि र बजेटमा प्राथमिकता दिदै आएको र अझै छुटेका महत्वपूर्ण सवाललाई सम्बोधन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सबै क्षेत्रमा सामाजिक विकासलाई दीगो विकाससंग जोड्न ध्यान दिन उपमहानगरपालिका सधै तत्पर रहेको उनले बताए ।
कार्यक्रममा जिल्ला बार एशोसियसन अध्यक्ष अप्सरा बस्नेत, माइती नेपाल प्रमुख माया लामा, गैसस प्रदेश अध्यक्ष आरती पाठक, जिल्ला अध्यक्ष रमिला सापकोटा हिमराइट मकवानपुरका कार्यक्रम संयोजक कुमारी बाइवा, हेटौंडा अस्पताल एआरटी सेन्टरका परामर्शकर्ता देवकी क्षेत्री, फ्रेन्डहेटौडाकी किरण थापा,मकवानपुर पोजिटीम समूहका अध्यक्ष राजु प्रसाद सुवेदीलगायतले संस्थाको कार्य र लगनशिलताबारे चर्चा गरेका थिए ।
साधारण सभाले अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको मकवानपुर महिला समूहको कार्यक्रम संयोजक निशा लामाले बताइन् ।

