नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका हुन् ।
गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूहले २ जेठको पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए ।
महाधिवेशन आयोजक कमिटीको एजेन्डा तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यबारे टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको हो । बुधबार बस्ने आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुनेछ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।
एमाले स्रोतका अनुसार ३ जेठ २०७५ सम्म जो जुन पदमा थिए सोही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । अर्थात् नेकपा एकतापछि एमालेमा फर्किएका पूर्वमाओवादी केन्द्रका नेताहरूसमेत सोही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । नेकपामा हुँदा उनीहरू जुन जिम्मेवारीमा थिए त्यो यथावत् नै रहनेछ ।
उता, एमालेको १०औं महाधिवेशन आयोजक कमिटी विघटनको बैठक आज बुधबार बस्दै छ । महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेताहरू सहभागी नहुने बताइएको छ ।
तर, ओली समूहले नेपालसहित कारबाहीमा परेका ११ जना नेताबाहेक सबैलाई बैठकमा सहभागी हुन भनेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कारबाहीमा परेका ११ जनाबाहेकका सबै नेतालाई बैठकमा सहभागी हुन बोलाइएको बताए ।
वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कल्याणी खडका, रामकुमारी झाँक्रीसहितका ११ जना नेतालाई १० जेठको बैठकले पार्टीबाट कारबाही गरेको थियो । राजधानी दैनिकबाट साभार
मकवानपुर । बागमती प्रदेशसभाको आगामी बैठक असार १७ गते विहीबार बस्ने भएको छ। दिनको ३ बजे प्रदेश सभा भवन हेटाैडामा बस्ने बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट, राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए। प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।
असार १ गते बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५७ अर्बको बजेट ल्याएको थियो । बजेट ल्याएसँगै स्थगन भएकाेले त्यसमाथि छलफल भने हुन सकेको छैन । प्रदेश सरकारको बजेटमा सुधार गर्नुपर्ने भन्दै विपक्षी दलहरुले भने असन्तृष्टि जनाउँदै आएका छन् ।
मकवानपुर । नेपालमा थप ४ हजार ३ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा उनीहरु देशका विभिन्न हाेम अाइसाेलेसन, संस्थागत अाइसाेलेसन र अस्पतालबाट निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै साेही समयमा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २ सय ५९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी जम्मा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेको छ ।
मकवानपुर । प्रदेश संचार नीतिमा मंगलबार हेटौंडामा संवाद कार्यक्रम भएको छ । संवाद कार्यक्रममा बागमती प्रदेश सरकारले संचार संस्था खाेले त्यसलाई खारेज गर्ने कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता इन्द्र बानियाँले बताए । प्रदेश सरकारले संचार माध्यम खोल्न आवश्यक छैन बानियाले भने आवश्यकता अनुसार रेडियो वा सञ्चार माध्यम स्थापनामा सहयाेग गरेर संचार प्रवर्दन गर्नु राम्राे हुनेछ ।
बागमती प्रदेश सरकारले आगामी वर्षमा प्रेस स्थापना गर्न १० करोड बजेट विनियोजन गरेको छ । यसबारे उनले सदनमा सशक्त आवाज उठाउने तथा जबरजस्ती संचार माध्यम खोलेमा कांग्रेसको सरकारले त्यसलाई खारेज गर्ने बताए । सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न संचारगृह खोल्नु लोकतन्त्र विरोधी गतिविधि भएको बानियाल बताए ।
यसको विरोधमा बागमती प्रदेश पत्रकार महासंघ लगायत प्रदेशको १३ जिल्लाका पत्रकार महासंघहरु विरोधमा उत्रिएका छन् । पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट आउनु अघि संचार माध्यमलाई समेटेर बजेट ल्याएको भनेर ढुक्क हुन भनेर झुटो आश्वासन दिएको बताए । उनले मुख्यमन्त्री डोरमणि पौडेलले भेट्न समेत समय नदिएको भन्दै आपत्ति पनि जनाए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा मिडिया उद्यमीहरुले बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रलाई उपेक्षा गरेको र त्यसका बिरुद्धमा आन्दोलनमा रहेको वताएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा भएकाे गरिएकाे कार्यक्रममा बागमती प्रदेश सांसद प्रेम पुलामी, प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पूडासैनी, नेपाल पत्रकार महासंघको केन्द्रिय सचिव सिर्जना अर्याल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, संस्थापक अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुव रावल, ब्रोडकाष्टिङ एशोसियसनका कार्यवाहक अध्यक्ष उज्ज्वल चौलागाईं, आन्तरिक मामिला मन्त्रालयका उपसचिव नारनप्रसाद पोखरेल, प्रेस रजिष्टार रेवती सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरमा १ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी बन्दुक पड्किदा १ जना घाइते भएका छन् । मनहरी गाउँपालिका ३ भुन्द्रुङमा १ स्थानीयले झुण्डिएर आत्महत्या गरेका हुन् ।
भुन्द्रुङका स्थानीय ३० वर्षीय रामबहादुर बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका ३ कटुसघारीमा भरुवा बन्दुक पड्किदा १ जना घाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका स्थानीय ४२ वर्षीय माइते लामा रहेको प्रहरी निरीक्षक दासले बताए ।
प्रवक्ता दासका अनुसार सोमबार बिहान आफ्नै बारीमा मकै खान आएको बादरलाई धपाउने क्रममा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर लामा घाइते भएका हुन् ।