मकवानपुर । बागमती प्रदेशसभाको आगामी बैठक असार १७ गते विहीबार बस्ने भएको छ। दिनको ३ बजे प्रदेश सभा भवन हेटाैडामा बस्ने बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट, राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए। प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।
असार १ गते बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५७ अर्बको बजेट ल्याएको थियो । बजेट ल्याएसँगै स्थगन भएकाेले त्यसमाथि छलफल भने हुन सकेको छैन । प्रदेश सरकारको बजेटमा सुधार गर्नुपर्ने भन्दै विपक्षी दलहरुले भने असन्तृष्टि जनाउँदै आएका छन् ।

