मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा मकवानपुरकी कानुनी व्यवसायि अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ। यो सँगै अधिवक्ता बस्नेत नेपालकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्ने भएकी छन्।
मंगलबार उनको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरिएको हो। यसअघि दोलखाका जिल्लाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए। काफ्लेले राजीनामा दिएपछि बस्नेतको नाम सिफारिस गरिएको हो।
जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्ष अधिवक्ता बस्नेत एसोसिएसनको पहिलो महिला अध्यक्ष समेत हुन् । १२ बर्षदेखि निरन्तर वकालतमा संलग्न बस्नेत पोलिटिकल साइन्समा स्नातकोत्तर हुन भने एल.एल.एमको विद्यार्थी हुन् ।
बस्नेतलाई आइतबार औपचारिक रूपमा शपथग्रहण गराइने तयारी गरिएको बताइएकाे छ। मकवानपुरकि स्थायी वासिन्दा बस्नेत महिलावादी कानुन कार्यान्वयनमा झुकाव राख्छिन । उनले जिल्ला कानुन सहायता समिति मकवानपुरमार्फत केही बर्ष निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भूमिकामा समेत रहेर काम गरेकी छिन् ।
मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरिएकाे छ । विपक्षी ३ दलले प्रदेश सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन बाेलाउन माग गरेका हुन् ।
अधिवेशन नबोलाए प्रदेशसभा नियमावली अनुसार अघि बढ्ने चेतावनी दिएका छन् । साबिकको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका साथै हाम्रो नेपाली पार्टीले प्रदेश सभाकाे हिउँदे अधिवेशन तत्काल बाेलाउन माग गर्दै बुधवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ज्ञापन पत्रमा सरकारसँग तीन बुँदे माग समेत राखेका छन् ।
तत्काल हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने, चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र संसदमा टेबल भई पारित भएका थप योजनामा बजेट व्यवस्था गर्नुपर्ने माग राख्दै बुझाइएकाे पत्रमा सरकार संसदप्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोप लगाइएकाे छ ।
प्रतिपक्ष दलले तत्काल प्रदेश सभाकाे बैठक नबाेलाए नियमावली अनुसार अघि बढ्ने चेतावनी समेत दिएका छन् । संसद नियमावलीमा सरकारले अधिवेशन नबोलाएको खण्डमा एक चौथाइ सांसदले समावेदन दिएर विशेष अधिवेशन वा बैठक बोलाउन सक्ने व्यवस्था छ । सरकारको गैरजिम्मेवारीपनले चालु बजेट (वर्षे) अधिवेशन हठात अन्त्य गरेको उनीहरूको भनाइ छ ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै नेपाली काँग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति बेहोर्दा समेत प्रदेश सरकार गम्भीर नबनेको विपक्षी दलको आरोप छ ।
दुई दलीय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बिचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापन पत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।
ज्ञापनपत्रमा बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेकपा एकीकृत समाजवादी पार्टीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
प्रतिकुल हावापानीमा राम्रो उत्पादन भएपछि रैथानेबालीमा किसानको आकर्षण
Tags: No Comments
मकवानपुर । स्थानीय हावापानीसंग वर्षौदेखि अनुकुलन हुँदै आएका रैथाने बालीहरु प्रतिकुल हावापानीमा पनि राम्रोसँग फस्टाउन थालेपछि मकवानपुरका स्थानीयहरु रैथानेबाली प्रति आकर्षण भएका छन् ।
एकातिर काम गर्ने काम गर्ने जनशक्तिको उपलब्धतामा समस्या अर्को तिर नयाँ प्रजातिको बालीमा लगानी बढी भएपछि जग्गा नै बाँझो राख्न थालेका स्थानीयहरु पनि अहिले रैथाने बालीमा आकर्षित भएका हुन् ।
कोदो, फापर, कालो तिल, जुनेलो जस्ता रैथाने बालीहरु वर्षौदेखि परिचित माटोमा सहजै उत्पादन हुन्छन्, जसको लागि अधिक मल तथा विषादी समेत प्रयोग गर्नुपर्दैन । वर्षा र सिंचाइको समस्या पनि धानजस्ता बालीको तुलनामा कमै हुने गर्दछ ।
“उत्पादन गर्न त सहजै थियो, विक्रीमा समस्या हुने हुँदा लगाउन छोडेको थिएँ, अब बजार लैजानै पर्दैन, सहकारीहरुले घरैबाट उठाउने भएपछि गतसालबाट कोदो रोप्न थालेको हुँ मकवानपुरगढी गाउँपालिका ९ का कमलबहादुर खड्काले भने । “यसवर्ष ४ रोपनी बारीमा कोदो र जुनेलो लगाएँ, बाली भित्र्याउने चटारो सकिएको छ । “राम्रै फलेको छ, बेच्न बाँकी छ” उनले भने ।
हावापानीको कारण बाली लगाउन र भित्र्याउन खास समस्या नभएको उनले बताए । विस्तारै सुस्ताउँदै गएको रैथाने बालीप्रतिको आकर्षण फेरि फर्किएको छ । रैथाने बालीको खाद्य परिकार सामान्यदेखि तारे होटलमा समेत माग हुन थालेपछि यसको उत्पादनमा स्थानीय सरकारले पनि महत्व दिन थालेका छन् । मकवानपुर जिल्लाको मकवानपुरगढी, भिमफेदीलगायतका गाउँपालिकाहरुले रैथाने बाली प्रोत्साहन समेत भएपनि किसानहरुमा पनि जोश थपिएको हो । गाउँपालिकाहरुले रैथाने बालीको न्यूनतम समर्थन मूल्य समेत तोकेको छ । यसले गर्दा व्यापारको लागि समेत सहज भएको स्थानीय लक्ष्मी सञ्जेलले बताइन् ।
स्थानीय स्तरमा उत्पादन भएका रैथाने बालीहरु स्थानीय सहकारी मार्फत नै विक्रीको प्रबन्ध मिलाइएको छ । स्थानीय सहकारीहरुसँग स्थानीय तहहरुले नै समन्वय गरिदिएपछि कृषकहरुलाई समेत बजारीकरणको लागि समस्या नभएको सञ्जेलले बताइन् ।
“मकै लगायो बाँदरले छिप्पिनै नदिने, फेरी राम्रो नफल्ने पनि, त्यसैले जग्गा बाँझै थियो, यसपाली कोदो फलाएँ” भिमफेदीका कान्छा लामाले भने “कोदोमा पनि जनावरले दुःख त दिन्छ, तर उब्जाउ राम्रो हुने, व्यापारमा समस्या पनि नहुने भएपछि आँट गरे ।” उनी मात्रै हैन भिमफेदी ८ की सिता कार्कीले पनि भिरबारीभरी जुनेलो फलाइन् । श्रीमान् विदेश जानु भएपछि बारी बाँझै थियो, यसपाली अलि मेहनत गरें राम्रै भयो” सिताले भनिन् “टिप्न नपाउँदै अर्डर आइसकेको थियो ।”
स्थानीय सरकारले रैथाने बाली विशेष गरी कोदो, फापर, जुनेलो, कन्दमुल, लहरे तरकारी खेतीलाई अनुदान दिएर प्रोत्साहन गरिएको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३ वर्ष अघि पहिलो पटक रैथाले बालीलाई अनुदान दिएर व्यापारको लागि समेत सहजिकरण गरेको थियो । यसैको सिको गर्दै जिल्लाको भीमफेदी गाउँपालिकाले २ वर्षदेखि रैथाने बालीलाई प्रोत्साहन गर्न थाल्यो ।
स्थानीयले उत्पादन गरेको रैथाने बालीलाई प्रर्वद्धन गर्न स्थानीय तहहरुले ग्रामिण सहकारीहरुमार्फत संकलन र व्यापारको लागि सहजिकरण गरेपछि बाँझाबारीहरुमा जुनेलो, कोदो, फापर जस्ता रैथाले बालीले हराभरा देखिन थालेका हुन् ।
हाइब्रिड मकै खेती राम्रोसँग नफस्टाएपछि आजित भएका राघब हुमागाई पनि पछिल्लो २ वर्षदखि कोदो खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले रैथाने बालीलाई प्रोत्साहन गर्ने र पुरानै तरिकाले पुरानाबालीहरु ल्गाउन सकिने भएपछि उनी त्यसतर्फ आशावादी भएका हुन् । स्थानीय सरकारले स्थानीय हावा पानी र माटो सुहाउँदो अन्न तथा नगदे बालीलाई प्रोत्साहन गर्ने नीति लिएपछि किसानमा केही आशा बढेको भिमफेदी गाउँपालिका ५ की कान्छीमाया बजुले बताइन् ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले तरकारी र फलफूलमा अनुदान दिएपछि मकवानपुरगढी गाउँपालिकाका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका थिए । अहिले स्थानीय रैथाने प्रजातिको बालीमा न्युनतम समर्थन मुल्य तोक्दै अनुदानको समेत व्यवस्था गाउँपालिकाहरुले गरेका छन् ।
मकवानपुरगढीले कोदो र फापरको ब्रान्डिङका साथसाथै बजारीकरण पनि गर्न थालेको छ । हेटौंडा उपमहानगरपालिकासँगै जोडिएको मकवानपुरगढी गाउँपालिका ४ कालीखोलाका सुकुमबहादुर घलानले ७ वर्षअघिसम्म सात रोपनी जग्गामा कोदो रोप्थे । त्यहाँ उत्पादन भएको कोदासमेत बिक्री नभएर उनी आजित थिए । पहिले पहिले घरेलु मदिराको लागि अलिअलि व्यापार हुन्थ्यो, घरेलु मदिरा विक्रिमा प्रहरी/प्रशासनले कडाइ गरेपछि त्यै पनि रोकियो ।
अनि उनले कोदो बाली लगाउनै छाडेका थिए । स्थानीय सरकारले बजारको व्यवस्थास“गै समर्थन मूल्य तोकेकापछि घलानले गतवर्ष र यसवर्ष पनि २० रोपनी जग्गामा कोदो रोपेका थिए । उनी अहिले ढुक्क छन् । गाउँपालिकाले सहयोग गरेपछि जति उत्पादन भए पनि बिक्रीमा समस्या नआउने भएकोले उनलाइ कुनै चिन्ता पनि छैन ।
“घरमा रक्सी बनाएर प्रहरीको तारो बन्नु पर्दैन भनेर छोराहरुले गुनासो गरेपछि कोदो रोप्न छोडेको थिएँ, अब त्यसरी रक्सी बनाएर बेच्नु पर्ने हैन भनेर फेरी रोपेको हुँ, ढुक्क छ सहकारीले घरैबाट उठाउँछ” उनले भने “हाम्रो लागि यो आम्दानीको भरपर्दा बाटो बनेर आयो ।”
उनकी छिमेकी अम्बिका चौलागाईंले पनि अहिले १० रोपनी जग्गामा कोदो रोपेकी थिन् । दुई वर्षअघिसम्म उनले दुई रोपनी जग्गामा मात्र कोदो रोपेकी थिइन् । कमल खड्का सुकुमबहादुर घलान र अम्बिका चौलागाईंले मात्र होइन, मकवानपुर गढीका १, २, ४, ७ र ८ नम्बर वडाका अधिकांश बासिन्दाले अहिले कोदो खेती गर्न थालेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
कोदोको मूल्य पनि राम्रो र बिक्री गर्न पनि समस्या नभएकाले यो रोप्न थालेका उनीहरु बताउँछन् । कोदो विक्रीमा समस्या भएपछि उनीहरुले गाई वस्तुलाई घाँसका रूपमा नल (कोदोको सुकेको बोट) खुवाउनका लागि कोदो खेती गरिन्थ्यो, अहिले कमाइको निम्ति यसको खेती गरिन थालेको छ ।
रैथाने बालीको उच्च आकर्षणपछि यसको व्यवस्थापनका लागि करिब ६ लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको लम्सालले मकवानपुरगढी गाउँपालिकाका कृषिशाखा प्रमुख गोपाल लम्सालले बताए । यस वर्ष रैथाने बाली कार्यक्रम अन्तर्गत उपलब्ध १० लाख बजेटबाट २०० जना किसान लाभान्वित भएको उनले बताए ।
यस कार्यक्रम मार्फत यान्त्रीकरण प्रवर्धन , उन्नत बिउ–बिजन तथा कीट व्यवस्थापन, साना सिचाइ संरचना, गोदामघर निर्माण, खेती प्रविधि सम्बन्धी तालिम, सहकारीमार्फत विक्री वितरण, प्याकेजिङ तथा ब्रान्डिङका कार्यहरू सञ्चालन गरिएको उनले बताए । “सहकारी संस्थामार्फत न्यूनतम समर्थन मूल्य निर्धारण गरी खरीद व्यवस्था लागू गरेपछि बालीको व्यावसायिक उत्पादन एवं बजार व्यवस्थापन प्रभावकारी रूपमा अघि बढ्दै गएको देखिन्छ” लम्सालले भने ।
मकवानपुरगढी गाउँपालिकाले ८ वटै वडामा उत्पादन हुन रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले चालु आव २०८२/८३ का लागि कृषि उपजहरूको मूल्य तोकेको हो । कोदो र धानको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ, तिते फापरको ९० रुपैयाँ, मिठे फापरको १ सय ५ रुपैयाँ, जुनेलोको प्रतिकेजी ८४ रुपैयाँ तोकेको छ । यसैगरी सेतो सिमिको मूल्य १ सय २० रुपैयाँ, कालो सिमिको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।
किसानद्वारा उत्पादित कोदो, फापर र जुनेलो स्थानीय सहकारीमा विक्री गर्दा गाउँपालिकाले कृषकलाई प्रतिकेजी ६ रुपैयाँ र सहकारीलाई बजारको व्यवस्थापन गर्न प्रतिकेजी ४ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ, गाउ“पालिका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।
“बालीमा अनुदान पाएपछि कृषकहरू अहिले कोदो, फापर र जुनेलो खेतीतर्फ आकर्षित भएको मकवानपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताए । गाउँपालिका, प्रदेश र संघीय सरकारले रैथाने बालीको प्रवद्धनका लागि अनुदान दिन थालेपछि रैथाने बालीको खेतीतर्फ पालिकाबासीहरू आकर्षित भएका हुन् ।
आर्थिक वर्ष २०७९/०८० मा मकवानपुरगढीमा ४ सय ५० हेक्टर जमिनमा कोदो खेती गरिएको थियो । गत आर्थिक वर्ष यो विस्तार भएर ५ सय हेक्टर जमिनमा कोदो खेती गरिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ७ सय ५० हेक्टरमा कोदो खेती भएको गाउँपालिकाका कृषि शाखाका प्रमुख गोपाल लम्सालले बताए । यसैगरी पछिल्लो आर्थिक वर्षमा ६० हेक्टर जमिनमा फापर खेती गरिएको छ भने ५५ हेक्टरमा जुनेलो खेती गरिएको छ ।
यसैगरी ६० हेक्टरमा फापर खेती, ३ सय हेक्टरमा तोरी खेती, ६५ हेक्टरमा लहरे तरकारी खेती, एक सय हेक्टरमा कोशे तरकारी खेती र १० हेक्टर जमिनमा कन्दमुल खेती गरिएको शाखा प्रमुख लम्सालले बताए । यस अनुसार कोदो १ हजार १२५ मेट्रिक टन, फापर ७८ मेट्रिकटन, तोरी ३९० मेट्रिकटन, लहरे तरकारी १ हजार ३०० मेट्रिकटन, कोशे तरकारी र कन्दमुल १५०/१५० मेट्रिकटन उत्पादन भएको छ ।
संघीय, प्रदेश सरकार तथा स्थानीय गाउँपालिकाले रैथाने बालीमा कोदो, फापर र जुनेलोको बजारीकरण गर्न ब्रान्डिङसहित बजारमा पिठो ल्याएको छ । त्यतिमात्र होइन, कोदो र फापरको खपत बढाउनका लागि स्कुलको दिवा खाजा कार्यक्रममा साताको एक दिन अर्थात् बिहीबार कोदो र फापरका परिकार खुवाउनुपर्ने नियमै बनाइएको छ । दिवा खाजा कार्यक्रममा कोदो र फापरका सेल, हलुवालगायत विभिन्न किसिमका परिकार बनाएर खान दिने गरिएको छ ।
यसैगरी भीमफेदी गाउँपालिकाले गत आवदेखि कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो । “गाउँपालिकाले बजेटमा कोदो खेती गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गर्ने बित्तिकै कोदो खेती गर्ने कृषकको संख्या बढेको छ” अध्यक्ष हिदम लामाका अनुसार गतवर्ष पनि झण्डै तीन हजार रोपनीमा कोदो रोपिएको थियो ।
अनुदानको व्यवस्था नहुँदा गत आवमा एक हजार रोपनीमा पनि कोदो रोपिएको थिएन । अनुदान पाउने भएपछि कोदो खेतीतर्फ कृषक आकर्षित भएको स्थानीयहरु बताउँछन् । यो गाउँपालिकाले कोदो खेतीको प्रवद्धन गर्न गत आवमा निम्ति ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
भीमफेदी मात्रै १ हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा २० लाख कोदो उत्पादन बढाउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए । गतवर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने कोदो खेती गर्दै आएका किसानहरु बताउँछन् । अनुदान पाएका किसान बाहेक गाउँपालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गाउँपालिकाको गत वर्ष आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ रुपैयाँ र फापर प्रति केजी १०० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी मकवानपुरगढी गाउँपालिकाले कार्यक्रम स्वीकृत गरेर कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा आधारित प्रोत्साहन अनुदान (रैथानेबाली) कार्यक्रम कार्यान्वयन गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयानुसार रैथानेबाली कोदो र धानकोदो तथा फापर र जुनेलोको मूल्य निर्धारण गरेको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मंगलबार बकैया ७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बकैया ७ अधेरी बस्ने ५५ वर्षीय केशव माझी, युवराज माझी, ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १९ जनाको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा २ जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
मकवानपुरबाट ७ जनाकाे उम्मेदवारी
नेकपा एमालेको ११ औ महाधिवेशनमा मकवानपुरबाट ७ जनाको उम्मेदवारी रहेकाे छ । ६ जनाले केन्द्रिय सदस्य र एक जनाले लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मकवानपुरबाट खुलातर्फ महेश बर्तौला, महिलातर्फ भारती पाठक, प्रदेश भूगोल तर्फ रामेश्वर राना, आदिवासी जनजाति तर्फ एकालाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी खुला तर्फ कृष्ण दाहल, दलित तर्फ देवकृष्ण विकले उम्मेदवारी दिएका छन् । केन्द्रीय लेखा आयोग सदस्यमा नवीन सिग्देलकाे उम्मेदवारी रहेकाे छ । दाहाल र विक पोखरेल प्यानलबाट तथा अन्य ५ जनाले वली प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
४ बजेपछि मदतान हुने
नयाँ नेतृत्वकाे लागि अपरान्ह ४ बजेपछि मात्रै मदतान हुने भएको छ । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । यसअघि विहान ११ बजेबाट सुरु हुने भएनिएकाे मतदानकाे कार्यतालिका सर्दै गएर ४ बजेकाे लागि तय गरिएकाे हाे ।
निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने भएकाे बताइएकाे छ।
मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ । मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेले जनाएको छ ।
१४ जना निर्विरोध चयन
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् ।
केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित भएका छन् ।
पछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारहरुकाे सूची यहाँबाट हेर्न सकिनेछः