मकवानपुर । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा २ जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
मकवानपुरबाट ७ जनाकाे उम्मेदवारी
नेकपा एमालेको ११ औ महाधिवेशनमा मकवानपुरबाट ७ जनाको उम्मेदवारी रहेकाे छ । ६ जनाले केन्द्रिय सदस्य र एक जनाले लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मकवानपुरबाट खुलातर्फ महेश बर्तौला, महिलातर्फ भारती पाठक, प्रदेश भूगोल तर्फ रामेश्वर राना, आदिवासी जनजाति तर्फ एकालाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी खुला तर्फ कृष्ण दाहल, दलित तर्फ देवकृष्ण विकले उम्मेदवारी दिएका छन् । केन्द्रीय लेखा आयोग सदस्यमा नवीन सिग्देलकाे उम्मेदवारी रहेकाे छ । दाहाल र विक पोखरेल प्यानलबाट तथा अन्य ५ जनाले वली प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
४ बजेपछि मदतान हुने
नयाँ नेतृत्वकाे लागि अपरान्ह ४ बजेपछि मात्रै मदतान हुने भएको छ । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । यसअघि विहान ११ बजेबाट सुरु हुने भएनिएकाे मतदानकाे कार्यतालिका सर्दै गएर ४ बजेकाे लागि तय गरिएकाे हाे ।
निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने भएकाे बताइएकाे छ।
मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ । मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेले जनाएको छ ।
१४ जना निर्विरोध चयन
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् ।
केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित भएका छन् ।
पछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारहरुकाे सूची यहाँबाट हेर्न सकिनेछः

