मकवानपुर । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि हेटौंडामा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागमति प्रदेशमा हुने निर्वाचन कार्यक्रम संचालनका लागि हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयाेगले ७ वटै प्रदेशमा केही समय अघी निर्वाचन अधिकृत नियुक्त गरेकाे थियाे । बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत ताेकेकाे थियाे । विहीबार स्थापना भएकाे कार्यालयबाट बागमती प्रदेशमा १ जान महिला र अन्य १ गरी २ जनाको निर्वाचन कार्यक्रम संचालन हुने जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट १ जना महिला र १ जना अन्य गरी २ जनाको पद रिक्त हुँदैछ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसैगरी माघ १२ गते विहान ९ बजे देखि ३ बजे सम्म हुने मतदान कार्यक्रम भने हेटौंडा ८ मा रहेको हेटौंडा औधोगिक व्यवस्थापन लिमिटेडको सभागृहमा हुने छ ।
मतदानका लागि बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जनाले सहमागिता जनाउने छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशका निर्वाचन कार्यालयका प्रमुख लुमनाथ पोखरेल, जिल्ला अदालतको मुख्य न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल पत्रकार महासंघ मकवानुरका अध्यक्ष मणीराज गौतम लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएकाे छ । बागमती प्रदेशको राजधानी हेटाैडामा आगामी माघ १६ गतेदेखि माघ २६ गतेसम्म प्रतियाेगिता हुने भएको हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा गर्दै आएकाे मुख्य ठूला ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको मिति सार्वजनिक गरेसंगै हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट हुने भएको हो ।
यसैगरि,एन्फाले सार्वजनिक गरेको मितिमा माघ ६ देखि १५ गतेसम्म पोखरामा आहा रारा गोल्डकप,फागुन १४ देखि २१ सम्म बुटवलको तिलोत्तमा गोल्डकप, सोही मितिमा इटहरी गोल्डकप,फागुन १९ देखि २८ सम्म पोखरा गोल्डकप र फागुन २६ देखि चैत्र ५ गतेसम्म सिमरा गोल्डकप हुने भएको छ ।
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगमा अध्यक्ष सहित ३ जना नियुक्त भएका छन । प्रदेश सरकारले आयोग उपाध्यक्षमा चितवनका डा. कृष्णराज पन्तलाई नियुक्त गरेको छ भने सदस्यद्वयमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त भएका छन ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई बुधबार पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र ४ सदस्य गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । आयोगमा एक महिलासहित दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।
नीति तथा योजना आयोगको नियुक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८/७९ को योजना तर्जुमा प्रक्रिया अघि बढने छ ।
मकवानपुर । सरकारले पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तमु ल्होसारका लागि सार्वजनिक विदाकाे निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा विदाकाे सूचना भन्दै प्रवाह भएको थियाे । तर गृह मन्त्रालयले सार्वजनिक विदाकाे बारेमा सामाजिक सञ्जालमा आएकाे सूचना गलत भएकाे जनाएकाे छ । बुधबार बेलुका बसेकाे मन्त्रिपरिषद बैठकले मात्र सार्वजनिक विदाकाे निर्णय गरेको मन्त्रालयले जनाएकाे हाे ।
२०७७ साल चैत ९ गते प्रकाशित सरकारकाे सार्वजनिक विदा सम्वन्धी राजपत्रमा तमु ल्होसार चाड सबैलाई सार्वजनिक विदा हुनेको सूचीमा छैन । उक्त सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो । तमु ल्हाेसार गुरुङ समुदायले मनाउने पर्व हाे ।



