मकवानपुर । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि हेटौंडामा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागमति प्रदेशमा हुने निर्वाचन कार्यक्रम संचालनका लागि हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयाेगले ७ वटै प्रदेशमा केही समय अघी निर्वाचन अधिकृत नियुक्त गरेकाे थियाे । बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत ताेकेकाे थियाे । विहीबार स्थापना भएकाे कार्यालयबाट बागमती प्रदेशमा १ जान महिला र अन्य १ गरी २ जनाको निर्वाचन कार्यक्रम संचालन हुने जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट १ जना महिला र १ जना अन्य गरी २ जनाको पद रिक्त हुँदैछ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसैगरी माघ १२ गते विहान ९ बजे देखि ३ बजे सम्म हुने मतदान कार्यक्रम भने हेटौंडा ८ मा रहेको हेटौंडा औधोगिक व्यवस्थापन लिमिटेडको सभागृहमा हुने छ ।
मतदानका लागि बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जनाले सहमागिता जनाउने छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशका निर्वाचन कार्यालयका प्रमुख लुमनाथ पोखरेल, जिल्ला अदालतको मुख्य न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल पत्रकार महासंघ मकवानुरका अध्यक्ष मणीराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

