मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आगमी स्थानीय तह निर्वाचनकाे लागि चैत्र २५ गतेसम्म उम्मेद्वारकाे टुंगो लगाउने भएको छ ।
एमाले मकवानपुरको सचिवालय बैठकले स्थानीय तह निर्वाचन कार्यतालिका निर्माण गरी वडा समितिलाई उम्मेदवार सिफारिस गर्न सर्कुलर समेत जारी गरेकाे छ । पार्टी वडा कमिटीले निर्णय गरी वडा अध्यक्ष सहित सदस्यको उम्मेद्वार जिल्ला कमिटिलाई सिफारिस गर्ने छ भने पालिकाले निर्णय गरी जिल्ला कमिटीलाई प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेद्वारकाे सिफारिस गर्ने एमाले मकवानपुर सचिव नविन सिग्देलले बताए ।
पार्टीकाे निर्वाचन कार्यतालिका अनुसार गाउँपालिका वडा कमिटिको बैठक आगामी चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ । त्यसैगरी जिल्ला कमिटी बैठक चैत्र २९ गते बस्ने तय गरेकाे सचिव सिग्देलले जानकारी दिए । जिल्ला कमिटिले प्रदेश कमिटिलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने भएकाे छ ।
बैठकमा पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागु गर्ने लगाएको निर्णय भएकाे सचिव सिग्देलले बताए ।
मकवानपुर । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रही रहेन छ । प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित-चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभरका गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएकाे छ ।
मकवानपुर/गरिब बस्ति हात्ति गौडा । सबै घरको छाना फुस र स्याउलाले छाइएको । सबैको पेशा भट्टी सञ्चालन । साँझ पर्दै थियो, सबैजसो भट्टीहरुमा सेवाग्राहीको चाप बाक्लिदै थियो ।
बस्तिको एक भट्टी (चम्सुरीको घर) मा नाचगान सहितको कार्यक्रम चलिरहेको थियो । सबैजसोको चहलपहल चम्सुरीकै भट्टीमा थियो । नजिकैको भट्टीमा रक्सि बनाउँदै गरेको चुल्होबाट आगोको झिल्का टहरामा पुग्यो । सानो झिल्को आगोले टहरो दन्दनी बल्न थाल्यो । बस्तिमा हाहाकार मच्चियो । चौधरी निवास, भट्ट निवास र कान्छीको भट्टी नष्ट भए । भागदौडकै क्रममा लडेर केहीको हात भाँचियो त केहीको खुट्टा । सुरक्षा निकायलाई खबर गरियो ।

नेपाली सेना, सशस्त्र प्रहरी बललगायतको अग्नी नियन्त्रण टोली, नगरपालिकाको बारुणयन्त्र, रेड्क्रसको प्राथमिक स्वास्थ्य उपचार टोली सबै आइपुगे । आगो निभाउने, प्राथमिक उपचार गर्ने आ–आफ्नो भूमिकमा सबै लागिपरे । बस्तिको २ घर बाहेक सबै जलेर नष्ट भए । आगो नियन्त्रणपछि स्थानीय वडा अध्यक्षको रोहबरमा प्रहरीले मुचुल्का सहित क्षेति विवरण संकलन गरेर फर्कियो ।
कुनै पनि समय सत्य बन्न सक्ने यो एउटा नाटकीय प्रस्तुती थियो । जिल्ला विपत् व्यवस्थापन समितिको नेतृत्वमा देखाइएको नाटक कुनै पनि बेला कुनै पनि स्थानमा सत्य सावित हुन सक्छ । यसको पूर्व तयारी गर्नको लागि सचेतना अभिवृद्धि गर्ने उद्दश्यका साथ नाटक मन्चन गरिएको थियो ।
एउटा घरमा लागेको आगोले सहजै बस्ति सखाप पार्न सक्छ । चैत बैशाखको समयमा बिशेषगरी हावाहुरी तथा आगलागी हुने संभावना बढी हुने गर्दछ । सुख्खा मौसमका बेला यस्ता विपदले कहिले र कतिबेला समस्यामा पार्छन त्यो भन्न सकिन्न । यसैले सचेतनाको लागि यस्तो प्रस्तुती गरिएको प्रमुख जिल्ला अधिकारी भरतमण्ी पाण्डेले बताए ।
विपदबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको नेतृत्वमा खुला चौरमा सुरक्षा निकायले नमुना सुरक्षा पद्धति (डेमो) परिक्षण प्रदर्शन गरेको हो ।

खासगरी आगलागी नियन्त्रण र व्यवस्थापनको विषयमा गोरख बहादुर गण सुपारेटार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, जिल्ला प्रहरी कार्यलय मकवानपुरका तालिमप्राप्त सुरक्षा सुरक्षाकर्मीहरुले ससाना घरहरुलाई डेमो बनाएर आगलागी कसरी नियन्त्रण गर्ने भनी नमुना प्रदर्शन गरिएको सशस्त्रका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली सेनाका प्रमुख सेनानी सुवासचन्द्र महत, राष्ट्रिय अनुसन्धान हेटौंडाका उपनिर्देशक पप्पुशर्मा पौडेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, शिक्षक, विद्यार्थी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले मकवानपुर जिल्लामा १ मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला सदरमुकाम रहेका हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
यसैगरी बाँकी ९ स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । ताेकिएका निर्वाचन अधिकृतमा थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल रहेका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत दशाैं तहका रुद्रहरी भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय हेटाैडाका निमित्त निर्देशक पूर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।
यसैबीच विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।
७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाले समस्या आएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् ।
सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
तर, कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा. शेखर कोइराला भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् । उनले कांग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय कांग्रेस पार्टी कांग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् ।
यसैगरी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर मैदानमा होमिएका नेता विमलेन्द्र निधिसमेत तालमेलको विपक्षमा छन् । उनले कांग्रेसले कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
सभापति शेरबहादुर देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिँदा शेखर कोइराला पक्षले भने कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ । विमलेन्द्र निधि पनि तालमेलको विपक्षमा उभिएका छन् ।
स्थानीय तह निर्वाचनको तयारी, दलबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा कांग्रेसले गत शुक्रबारबाट केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ ।
बैठकमार्फत नै कांग्रेसले आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा पार्टीका तर्फबाट खटिएका केन्द्रीय प्रतिनिधिसँग पनि राय लिइरहेको छ ।
यसैगरी, कांग्रेसले सातै प्रदेशका पार्टीका प्रदेश सभापतिसँग समेत स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा राय लिएको छ ।
महानगरमा केन्द्रबाटै तालमेल, अन्यमा तलैबाट
नेपाली कांग्रेसले स्थानीय तहको सबैभन्दा ठूलो संरचना महानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल’काे निर्णय गर्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समितिलाई विधानले समेत त्यो अधिकार दिएको छ ।
यसैगरी, उपमहानगरपालिका, नगरपालिका तहमा पनि केन्द्रीय नेतृत्वसँगको रायबाट उम्मेदवार तय गर्ने विषयमा कांग्रेस अघि बढेको छ भने गाउँपालिका तहमा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल’ निर्णय गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस विधानअनुसार महानगरपालिका प्रमुख–उपप्रमुखको केन्द्रीय संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिका प्रमुख–उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख–उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको टुंगो लगाउनुपर्छ ।
विधानअनुसार संसदीय समितिले गर्ने निर्णयलाई सम्बन्धित कार्यसमितिले अनुमोदन गर्नुपर्छ । संसदीय समितिमा सम्बन्धित कार्यसमितिका पदाधिकारीका साथै सभापतिको प्रस्तावमा निश्चित संख्यामा सदस्य मनोनित गर्ने व्यवस्था छ ।
कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । विधानले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समितिको परिकल्पना गरेको छ । कांग्रेस विधानअनुसार निर्वाचनका लागि उम्मेदवार छान्ने सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति नै हो । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।
कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठन’ उल्लेख छ । सो धाराको (१)मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिनापूर्व नै अन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा उल्लेख छ ।
कांग्रेस विधानअनुसार संसदीय समितिमा पुग्नुअघि तल्लो तहको कार्यसमितिले प्रत्येक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्छ । कांग्रेसका तल्ला तहबाट प्रक्रियागत रूपमा सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार चयन हुने व्यवस्था विधानमा छ । राजधानी दैनिकबाट