मकवानपुर । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले मकवानपुर जिल्लामा १ मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला सदरमुकाम रहेका हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
यसैगरी बाँकी ९ स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । ताेकिएका निर्वाचन अधिकृतमा थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल रहेका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत दशाैं तहका रुद्रहरी भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय हेटाैडाका निमित्त निर्देशक पूर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।
यसैबीच विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।
७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाले समस्या आएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

