मकवानपुर । आइतबार दिउसो बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०७९/८० को बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।
संबैधानिक ब्यबस्था अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने हुन्छ । आजै संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यसअघि हिजो शनिबार बसेको संसद बैठकबाट सरकारको नीती तथा कार्यक्रम पारित गरेको थियो ।
सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’
हामीले पढेको स्कूल भीमफेदीको महेन्द्र माध्यमिक विद्यालय मकवानपुर जिल्लाकै पहिलो सरकारी विद्यालय हो। वि.सं. २००४ सालमा स्थापित यस विद्यालय हाल आएर उच्च माध्यमिकको रूपमा परिणत भइसकेको छ । भीमफेदी निवासी जनताका छोराछोरी मात्र नभइ यस विद्यालयमा भीमफेदी वरिपरिका गाउँ लगायत शहरका केटाकेटीहरुले समेत यसै स्कूलबाट शिक्षा आर्जन गर्ने गर्दथे । भीमफेदीसँग जोडिएका गाउँहरु जस्तै सुपिङ्ग, दम्की, दमार, जुरिखेत,गढी र देउरालीका निवासीहरु पनि आफ्ना छोराछोरीलाई पढ्नका लागि भीमफेदी स्थित महेन्द्र हाइ स्कूलमा पठाउने गर्दथे। साथै भैँसेदेखि, चुनिया नामटार, भैँसीखानी, हेटौँडा, बुढीचौरका विद्यार्थीहरु समेतले शिक्षा आर्जन गर्ने मुख्य थलो बनेको थियो भीमफेदीको पहिलो तथा एक मात्र सरकारी हाइ स्कूल महेन्द्र माध्यमिक विद्यालय।
अन्य ठाउँहरुमा पनि स्कूल भए पनि पाँच कक्षासम्म पढाइ हुने गर्थ्यो। छ कक्षादेखि दश कक्षासम्म पढ्नको लागि भीमफेदीमै आउनु पर्ने हुन्थ्यो । धेरै वर्षपछि मात्र हेटौँडामा दश कक्षासम्म पढाइ हुने भएपछि त्यस क्षेत्रका विद्यार्थीलाई भीमफेदीसम्म धाउनु परेन । भीमफेदी वरपरबाट आउने विद्यार्थीहरुका लागि स्कूल परिसरभित्र नै छात्रावासको सुविधा थियो । स्कूल भवन अगाडि लस्करै कोठाहरु बनाइएका थिए।त्यस बाहेक स्कूल भवनको दक्षिणतिर एउटा अर्को दुई तल्ले भवन थियो । स्कूल भवनको ठीक पछिल्तिर खेतीयोग्य खाली जमीन र लहरै तीन चार वटा शौचालय थियो भने स्कूल भवनको तीनतर्फ छात्रावास र उत्तरतर्फ पिउने पानीको धारा थियो ।
स्कूल भवन र छात्रावास अगाडिको फराकिलो ठाउँमा हामी सामूहिक राष्ट्रिय गान तथा सरस्वती वन्दनाका लागि भेला हुने गर्दथ्यौँ । त्यहीँ हाम्रो पहिलो हाजिरी पनि लिइन्थ्यो । त्यही प्राङ्गणमा हामी खेलकूद पनि गर्दथ्यौँ । भीमफेदीको स्वच्छ हावापानी र स्वस्थ्य वातावरणमा पढ्न पाउँदा सबै विद्यार्थी दङ्ग पर्दथे । छात्रावासमा बस्ने गरेका आफ्ना साथीहरु आफैँले पकाएर खाने गरेको र मन लगाएर पढ्ने गरेको देख्दा हामी भीमफेदीका रैथानेहरुलाई पनि त्यसै गरी छात्रावासमा बस्न पाए हुन्थ्यो भनेर रहर लाग्दथ्यो । एउटा कोठामा कम्तिमा पनि दुई जनाको दरले विद्यार्थीहरु बसेका हुन्थे । छात्रावासमा नअटेकाहरुले बजारमा छुट्टै डेरा लिएर पनि बस्ने गर्दथे । स्कूलको पढाइको गुणस्तर ज्यादै राम्रो भएकोले पनि भीमफेदीमा पढ्नेहरुको आकर्षण थियो।
स्कूलका प्रायः जसो शिक्षक भारतीय वा तराई मूलका हुने गर्दथे भने पहाडका शिक्षहरु पनि एकसेएक विद्वान र अनुभवी हुने गर्दथे । भीमफेदी शैक्षिक क्षेत्रको लागि एउटा उदाहरणीय स्थलको रुपमा लिने गरिन्थ्यो । भीमफेदीको महेन्द्र हाइ स्कूलमा पढेका व्यक्तिहरु तत्कालीन श्री ५ को सरकारको उच्च पदमा समेत पुगेका छन् भने कोही डाक्टर कोही इन्जिनियर कोही हवाई जहाजका प्राविधिक समेत बनेका छन् । भीमफेदीको स्कूलबाट उत्पादित धेरै जसो व्यक्तिहरु आ–आफ्नो क्षेत्रमा सुविख्यात छन्। कोही स्कूलका शिक्षक कोही कलेजका प्राध्यापक बनेका छन् भने कोही बैंक म्यानेजर त कोही सरकारी कार्यालयका प्रमुख त कोही सफल व्यापार व्यवसायी एवम् कोही ठूला तथा नामी ठेकेदार समेत बन्न सकेका छन्। लेखक कवि,न्यायाधिश तथा राजदूत समेत बनेका छन् भीमफेदी निवासी र भीमफेदीमा पढ्नेहरू।
हामीले पढ्ने बेलासम्म स्कूलको कुनै खास पोशाक थिएन । गच्छे अनुसारको लुगामा विद्यार्थी पढ्न आउने गर्दथे । हुनेखानेले राम्रो लुगा र जुत्ता लगाएर आउने गर्दथे भने नहुनेहरूले साधारण कपडा र चप्पल लगाएर आउने गर्दथे । नहुनेहरु खाली खुट्टामा समेत आउने गर्दथे तर पढाइ सबैको लागि बराबरी हुने गर्थ्यो । सानो ठूलो वा गरीब धनी भनेर भेदभाव हुँदैनथ्यो । सबै खालका विद्यार्थीका लागि सरस्वतीको मन्दिर मानिने स्कूलको ढोका सधैँ खुला रहन्थ्यो ।
भीमफेदीको स्कूललाई अब्बल तथा विद्यार्थीहरूलाई योग्य बनाउनुमा स्कूलका तत्कालीन शिक्षक तथा शिक्षिकाहरू तथा स्कूल सञ्चालक समितिको ठूलो हात रहेको पाइन्छ । त्यस बेलाका शिक्षकहरूमा टंकनाथ पराजुली, धर्मनाथ सुवेदी, नरकान्त मिश्र,रघुनाथ, शोभाकान्त, चन्द्रकान्त ओझा, रूकमाङ्गत ज्ञवाली, शोभा श्रेष्ठ, सुनकेशरी ताम्राकार, उत्तरा श्रेष्ठ तथा प्रधानाध्यापकहरु डम्बरध्वज थापा,के.बी. श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, धनलाल श्रेष्ठ, केशव मूल्मीको प्रमुख योगदान रहेको देखिन्छ।
आफू पढेको सोही स्कूलमा यस लेखकले पनि झण्डै तीन वर्षजति शिक्षक बनेर पढाउने सुवर्ण अवसर प्राप्त गरेको थियो।त्यतिखेरका शिक्षक शिक्षिकाहरूमा धनलाल श्रेष्ठ, केशवनारायण मूल्मी, चन्द्रेश्वर,रामचन्द्र सिंह, तुल्सी थापा, वनमाली सुवेदी, अर्जुन बिंडारी, म सुभाष, हनुमानसिंह लामा, चिनीहेरा शाक्य, गङ्गा मूल्मी, सविता जोशी, अम्बिका शर्मा, मदन मानन्धर, उमा प्रधान र सानुमैँया दली थियौ। धनलाल श्रेष्ठ प्रधानाध्यापक हुँदा मैले स्कूलको शिक्षकमा प्रवेश गरेको थिएँ भने केशवनारायण मूल्मी प्रधानाध्यापक हुँदा समेत मैले स्कूलमा पढाउने काम गरेँ । राष्ट्रिय वाणिज्य बैंक भीमफेदी शाखाबाट मलाई बैंकमा काम गर्ने प्रस्ताव आएपछि मात्र मैले स्कूलको शिक्षण पेशा छाडेर बैंकिङ्ग क्षेत्रमा लागेको हुँ । मैले पढेको र मैले पढाएको स्कूल श्री महेन्द्र हाइ स्कूलको शैक्षिक गुणस्तर र अनुशासन सायद अद्यापि कायम रहेको छ।

जुत्ताको पहिचान
हामी निम्न मध्यम वर्गीय परिवारका थियौँ । साधारण भए पनि एक जोर स्कूल जाने लुगा हुने गर्दथ्यो भने अरू एक दुई जोर लुगा र साधारण जुत्ता । हाम्रो आफ्नै घरभन्दा माथि जग्गामा गुण्टे सार्कीको घर थियो । गुण्टे र उनको एक मात्र छोरो सीतारामले भनेजस्तो राम्रो तथा गुणस्तरीय छालाको जुत्ता सिलाउने गर्दथे । वीरगंजमा र भारतको सीमावर्ती शहर रक्सौलमा बाटा कम्पनीको जुत्ता पाइन्थ्यो। बाटाको जुत्ता र आफ्नै स्वदेशमा बनेको बाँसवारी छाला जुत्ता कारखानाको छालाको जुत्ता लगाउने हैसियत नभए पनि गुण्टे र सीतारामले सिलाएको छालाको जुत्तालाई सबैले मन पराउँथे।
सीताराम र गुण्टेको कुरा गर्दा एउटा कुराको सम्झना आउँछ । ती दुबै बाबु छोरा रक्सी पिउनमा ज्यादै अम्मली थिए।बिहान सबेरैदेखि रक्सी पिएर काम गर्न बस्थे । गुण्टेले रक्सी नपिइकन काम नै गर्न सक्दैनथे । स्टिलको गिलासमा टन्न रक्सी हालेर दुई गिलास नतन्काइकन उनको कामेको हात रोकिन्नथ्यो। शुरूको एक गिलास रक्सीमा आधाभन्दा बढी त पोखिएर खेर जान्थ्यो । दुई तीन गिलास रक्सी पेटभित्र पसेपछि मात्र उनको हात काम्न छाडेर काम गर्न सक्ने हुन्थे । दिनभरिमा बाबु छोराले तीन चार पटक रक्सी पिउने गर्थे । जति नै रक्सी पिएर मात्तिए पनि जुत्ता सिउने काम भने राम्रोसँग गर्ने गर्थे । ती बाबु छोराले सिलाएको जुत्ता र मर्मत गरेको जुत्ता चप्पल आदि सबै टिकाउ हुनेगर्थ्यो । रक्सीले मात्तिएर कसैलाई गाली गलौज गर्ने र हानी नोक्सानी हुने काम कहिल्यै गरेनन् । बरू दुबै बाबु छोराको हाँसो मजाक गर्ने बानी थियो । गाउँभरका मान्छेलाई रिझाएर राखेका थिए । उनीहरू बस्ने घर छुट्टै थियो दम्की भन्ने ठाउँमा । बिहान सबेरैदेखि रातको अबेरसम्म चाहिँ हाम्रै घरभन्दा माथिको घरमा जुत्ता सिलाइ र मर्मतको काम गर्थे । वर्षा याममा खहरे खोला बढेको बेलामा मात्र बजारको घरमा बस्ने गर्दथे भने अरू बेला आफ्नो परिवारसँग दम्कीमै बस्ने गर्दथे ।
एक पटक दशैँको लागि नयाँ जुत्ता सिलाउन भनेर मेरो बुबाले गुण्टेलाई नगद ५ सय दिनुभयो । त्यो नगद रकम लिएर उ भीमफेदीबाट कुलेखानी मार्खु तथा चितलाङ्ग हुँदै चन्द्रागिरी डाँडो काटेर पैदल काठमाडौं गए । थानकोटमा भैँसीको काँचो छाला पाइन्छ भनेर । तीन चार दिन बसेर उनले ट्यानिङ्ग गरेको कालो चिल्लो मुलायम भैँसीको छाला ल्याएपछि हामी तीन भाइ छोरा र बुबाको लागि गुण्टे र उनको छोरा सीतारामले एकैनासको जुत्ता सिलाइ दिए झण्डै एक महिना लगाएर। जुत्ता ज्यादै आकर्षक, बलियो, आरामदायी बन्यो । दशैँमा नयाँ जुत्ता लगाउनु पाएर हामी तीनै जना दाजुभाइ मक्ख भयौँ । ५ सयमा हाम्रो लागि चार जोर जुत्ता बनाएर पनि अरु धेरै जोर जुत्ता सिलाएर गुण्टे र सीतारामले बाँकी पैसाले धेरै दिन चलाए । यो प्रसङ्ग सायद वि.सं.२०२७ सालतिरको हो।
दशैँपछि पनि हामीले त्यही जुत्ता लगाएर स्कूल जान थाल्यौँ । नयाँ जुत्तामा सबै साथी भाइको आँखा नपर्ने कुरै भएन । कहाँ किनेको भनेर सोध्दा हाम्रो छिमेकी गुण्टे र सीताराम दाइले सिलाएको नयाँ जुत्ता भनेर हामी पनि गर्वका साथ भन्ने गर्थ्यौँ। गुण्टे र सीतारामलाई हाम्रो परिवारले कहिल्यै पनि दलित भनेर हेप्ने गरेनौँ । बरू दुबै बाबु छोरालाई दाइ भनेर नै सम्बोधन गर्थ्यौँ । गाउँ घरका अरू दलित जातिका कसैलाई पनि तँ र तिमी भनेर बोलाउँदैनथ्यौँ । बरू नाम काटेर दाइ भन्ने गर्थ्यौँ ।
गुण्टे र सीतारामको शिल्प हाम्रो छालाको जुत्ता सबैको नजरमा चढेछ । सबैले मन पराएपछि अरूहरूले पनि अर्डर दिएर बनाउन थाले । त्यसपछि अर्को वर्षको कुरा हो। एक आइतवारका दिन देउराली निवासी मित्र दूतबहादुर थापाले मलाई कक्षामा भेट हुनासाथ तेरो घरमा काम गर्ने कोही छ भनेर सोधे । मैले हो एक जना सहयोगी दाइ छ गाईको स्याहार सुसार गर्ने घाँस काट्ने र घरायसी काम गर्ने एउटा छ भनेपछि साथीले फेरि उसको नाम सोधे । उसको नाम बलराम क्षेत्री हो मैले भनेँ।हिजो शनिवारका दिन ऊ कहाँ थियो उनले फेरि सोधे । मैले दिदीको घर चितलाङ्ग गएको थियो भनेर जवाफ दिएपछि बल्ल अब ढुक्क भइयो त्यो केटो चोर हैन भनेर उनले एकै सासमा भने । मैले उनको कुरा बुझ्न सकिनँ।
मेरो साथी दूतबहादुर थापाले पूरा कहानी अर्थ्याउनु थाले । कुरा के भएको रहेछ भने बलरामले मेरो माहिलो दाजुको छालाको जुत्ता लगाएर डोकोभरि पसलका सामानहरु बोकेर दिदीको घरतर्फ लागेको रहेछ । चित्लाङ्गमा भेँडा गोठ भन्ने ठाउँनेर भिनाजुको आफ्नै घरमा पसल थियो । भिनाजुहरु बस्ने घर चाहिँ पारिपट्टि थियो । भिनाजुको पसलको लागि चाहिने चिनी, चिया पत्ति, नून, साबुन, चुरोट आदि भीमफेदी बजारबाट बुबाले किनेर पठाइ दिनु हुन्थ्यो । चित्लाङ्गबाट भिनाजुले आलु,लप्सी,अन्य मोसमी तरकारीहरु पठाइ दिनु हुन्थ्यो हाम्रो लागि । भिनाजुले भीमफेदीबाट पठाएका सामानहरुको पैसा भारी बोकेर लैजाने व्यक्तिकै हातबाट पठाउने गर्नु हुन्थ्यो। यो पटक पनि त्यसै गरी सामनहरु पठाउनु भएको थियो बुबाले बलरामलाई भारी बोक्न लगाएर।
चित्लाङ्ग जाँदा आउँदा हामी देउराली भन्ने ठाउँमा केही बेर आराम गर्न बस्ने गर्दथ्यौँ । देउरालीमा हाम्रै स्कूलमा पढ्ने साथीहरु दूत बहादुर,गुण बहादुर थापा नाम गरेकाहरु र उनीहरुको दिदीको एउटा चिया पसल थियो। त्यही चिया पसलमा बसेर चिया नास्ता खाएर सुस्ताएपछि मात्र हामी पुनःहिँड्ने गर्दथ्यौँ । त्यो दिन बलराम पनि सोही पसल अगाडि डोको बिसाएर चिया पिउन लाग्दा हाम्रो साथी दूतबहादुरले बलरामको खुट्टामा मेरो माहिलो दाजुको जुत्ता देखेर उनलाई शङ्का लागेछ । अनि उनले बलरामलाई केर्न थालेछन् । दाइलाई सानो भएर यो जुत्ता मलाई लगाउन दिनु भएको हो भनेर बलरामले भने पनि साथीले विश्वास नगरेर डोको समेत खानतलासी लिन थालेछन् । धन्य, बलरामले आफ्नो गोजीबाट बुबाले भिनाजुलाई लेख्नु भएको चिठी देखाउन भ्याएछ र चिठीको ब्यहोरा पढेपछि मेरो साथी दूतबहादुर थापाले सबै कुरा बुझेछन्। मनमा अझै शङ्का लागे पनि बलरामलाई चित्लाङ्ग जान दिएछन् ।
दूतबहादुर साथीको आफ्नै दाजु एकबहादुर थापा प्रहरी सेवामा कार्यरत थिए। त्यही भएर पनि बलराम डराएको रहेछ कतै चोर ठानेर थुनी देलान् भनेर। बलराम आइतवार नै भीमफेदी फर्किनु पर्ने थियो । आइतवार स्कूल पुगेपछि हामीलाई सोधेपछि मात्र बलराम चोर हो या हैन भनेर थाहा हुन्छ। ल जा तँ अहिलेलाई छाडिदिएको छु भनेर बलरामको सातो लिएका रहेछन् साथी दूतबहादुरले । बिचरो बलराम डरले थुरथुर भइ चित्लाङ्गबाट फर्कदा चिया खान देउरालीमा नरोकिएर देउरालीबाट एकै सासमा दौडिएर भीमफेदी आइपुगेछ ।
हामी स्कूलमै थियौँ । बलराम हाम्रो घरको एउटा सदस्य हो भन्ने थाहा पाएपछि मात्र साथीले चितलाङ्ग जाँदा आउँदा रोक लगाएनन् र बलराम पनि ढुक्क भएर चिया नास्ता खान दिदीको पसलमा छिर्न थाल्यो । एक जोर जुत्ताले कमालको काम गर्यो।धन्य हाम्रा शुभचिन्तक साथीहरु। ती सबै साथीहरु प्रहरी सेवामै प्रवेश गरी अवकाश समेत भइसके। यो लेखक नेपाल बैंक लिमिटेड, हेटौँडामा कार्यरत रहँदा साथीहरु आफ्नै शाखामा पेन्सन थाप्न आउँदा भेटघाट हुने गर्थ्यो । हामी पुरानो कुरा सम्झिएर हाँस्ने गर्थ्यौँ । अझै पनि केही साथीहरु सम्पर्कमा छन् । एकबहादुर दाइको सुपुत्र टक्कर थापासँग सामाजिक सञ्जालमा भेट भइराख्छ। टक्कर थापा पनि मेरा मित्र हुन् । कतिपय पात्रहरु अहिले यस धरतीमा छैनन् । एक जोर साधारण जुत्ताको पहिचानले हाम्रो विगतलाई भने सधैँभरि ताजा गराइरहन्छ। लेखकको फेसबुकबालबाट लिइएकाे
मकवानपुर । पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यन्त्री राजेन्द्र पाण्डेले शुभकामना व्यक्त गरेका छन् । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै शर्मा र पाण्डेले यसतर्फ लागि पर्न सबैलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको उल्लेख गरेका छन् । नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको दिनको स्मरणमा जारी गरिएको शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात अमर शहीदहरूप्रति श्रद्दासुमन अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दै शर्माद्वारा जारी सन्देशमा भनिएको छ “ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को जगमा शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको प्रतिनिधि जनता आफैंले छनौट गर्न पाउने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको पन्ध्रौ वर्षमा प्रवेश गरिरहँदा संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित गरिसकिएको छ । ’
यस्तै, सन्देशमा सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको पनि उल्लेख छ । उनले भनेका छन् “यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो । लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको छ ।”
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शहिदहरुको सपना साकार गर्न सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक रहेको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै उनले लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि पटक–पटक भएका आन्दोलन तथा विभिन्न आरोह–अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज चौध वर्ष पूरा भएको बताएका छन् ।
गणतन्त्र स्थापना पश्चात भर्खरै सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भई सकेको अवस्थामा सम्पन्न स्थानीय तहको निर्वाचनले संघीय गणतन्त्रको आधारभूत तहलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्याएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
राज्य सञ्चालनका सन्दर्भमा आम नेपालीको अपेक्षा तथा वीर अमर शहिदका सपना साकार पार्नु तीनै तहको सरकार सहित हामी सबैको सामुहिक दायित्व र कर्तव्यको रुपमा ग्रहण गर्न आवश्यक रहेको उनले सन्देशमा उल्लेख गरेका छ । लामो संघर्ष पश्चात संविधान सभाबाट जारी भएको संघिय¸ लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा¸ समावेशी लोकतन्त्रको रक्षाका लागि अझै पनि संगठित हुदैँ संविधान विरोधी¸ लोकतन्त्र विरोधी तत्वहरुलाई टाउको उठाउन नसक्ने बनाउन अरु बढि चनाखो हुन जरुरी रहेको पाण्डेले बताए । संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि अझै निरन्तर लागि रहन आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
मकवानपुर । संघीय सरकारले आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्दैछ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिने भएको हो । नेपाल सरकारले जेठ १५ गते बजेट सार्बजनिक गर्नु पर्ने संवैधानिक ब्यबस्था रहेको छ ।
यस्तै प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन ।
नीति तथा कार्यक्रम सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिएका थिए । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । राष्ट्रियसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा अर्थतन्त्रमा बाह्य चाप परिरहेको सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । यसै वर्ष सङ्घीय संसद् सदस्यको निर्वाचन तथा प्रदेशसभाको निर्वाचनसमेत सम्पन्न गर्नुपर्ने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
त्यसअघि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
त्यसपछी प्रतिनिधिसभाको बैठक आइतबार साँझ ६ बजे बस्नेछ । उक्त बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुने तथा पारित गरिने छ ।
मकवानपुर । बागमती प्रदेशसभामा १६ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाे छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रदेश सभाको आज शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ आर्थिक मामिला मन्त्री शालिकराज जम्मकट्टेलले दिएका थिए । त्यस पछी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १६ गते दिउँसो २ बजे बस्ने तथा उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी सदनलाई गराएकाे थिए ।
शनिबारको बैठकमा सांसदहरुले सरकारले ल्याएको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जम्मकट्टेलले सदनमा छलफलमा उठाइएका विषयमा जवाफ दिएका थिए ।
मन्त्री जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको बताए । उनले सोही अनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए ।
मन्त्री जम्मकट्टेलले भने ‘केही रचनात्मक सुझावहरु पनि प्राप्त भएका छन् । केही असन्तुष्टिहरु पनि व्यक्त भएका छन् । समग्रमा सबैको मतको सम्मान गर्दै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्छौँ ।’ उनले वर्तमान सरकारले मन्त्रालय थप गरी प्रशासनिक खर्च बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु स्वभाविक भएको बताए ।
उनले प्रतिपक्षले भने झै सरकारले कुनै पनि योजनाहरु कटौती नगरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले सरकारले कार्यान्वयनमा आउन नसक्ने योजनाहरुलाई रोकेर त्यसको सट्टामा अन्य योजनाहरु अघि सारेको बताए ।
उनले काठमाडौको चेभारबार हेटौडासम्म सिधै हेटौडा सुरुङ मार्ग बन्ने गरी योजना कार्यान्वयन गरिने गरी कार्यक्रम समावेश गरिएको बताए । यसैगरी प्रदेश सरकारले बस किन्ने हाम्रो फरक मत रहेके बताए । सरकारले बस किनेर घाटा हुने छ । यसको लागि पब्लिक क्षेत्रलाई दिने हो । यो निजी क्षेत्रको काम हे । सरकारले विद्धुतीय सवारी साधनको लागि चार्चिङ सेन्टर खोलिसकेकोले निजी क्षेत्रले वस चलाउने गरी कार्यक्रम ल्याउने बताए ।
उनले राजनीतिक नियुक्ती गरेको व्यक्ति अर्को सरकार आउँदा स्वतः छोडेर जानु पर्ने उनले बताए । एउटा सरकारले नियुक्ती गरको व्यक्तिसँग अर्को सरकार आउँदा स्पिड नमिल्ने भएकोले छोड्नु पर्ने उनको धारणा थियो । उनले श्रमिक, बेराेजगार, कृषि, शिक्षा, दलित समुदाय, जन आन्दाेलनको घाइतेहरु लगायतको समस्या समाधान हुने गरी केही नयाँ पन समेत दिने गरी कार्यक्रम ल्याइने बताए ।
