मकवानपुर । बागमती प्रदेशमा सडक पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोडिने भएको छ । प्रदेश सरकारले सडक निर्माणलाई स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोड्ने नीति अघि सारेको हो ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सडकले सहरको सामान गाउँ पुर्याउने तर गाउँको उत्पादन सहर नल्याउने हो भने त्यसले परनिर्भरता मात्र बढाउने बताए। “प्रादेशिक सडकमार्फत जीविकोपार्जन सिर्जना सम्बन्धी निर्देशिका तयारीको चरणमा रहेको छ” मन्त्री देवकोटाले भने “सडक पूर्वाधारको एकतर्फी प्रवाहलाई रोक्नुपर्नु पर्छ ।” प्रदेशमा सडक सञ्जाल विस्तारमा लोभलाग्दो प्रगति भए पनि त्यसको आर्थिक प्रतिफल कमजोर रहेको उनले बताए ।
“हामीले गौरव गर्न लायक बाटो त बनायौँ, तर त्यो बाटोले के बोक्यो? सहरबाट चाउचाउ र एलपी ग्यास बोकेर गाउँ गयो। तर फर्केर आउँदा के आयो? केही पनि आएन, गाडी रित्तै फर्कियो” उनले भने । करोडौं खर्चेर बनाएको सडकमा दैनिक न्यून सवारी चाप हुनु र आर्थिक गतिविधि नहुनुले लगानीको औचित्यमाथि प्रश्न उठ्ने उनले बताए । ‘ट्रेडिङ इकोनोमी’ होइन, ‘स्वाभिमानी अर्थतन्त्र’ नेपालको अर्थतन्त्र भ्याट र करमा आधारित ‘ट्रेडिङ इकोनोमी’ (व्यापारिक अर्थतन्त्र) मा सीमित भएको भन्दै मन्त्री देवकोटाले चिन्ता व्यक्त गरे । विदेशबाट सामान ल्याउने र कर उठाएर राज्य चलाउने परिपाटीको साटो अब आफ्नै माटोमा ‘स्वाभिमानी अर्थतन्त्र’ निर्माण गर्नुपर्ने उनले बताए ।
“बागमती प्रदेशका १३ जिल्लामा रहेका सम्भावनाका क्षेत्रहरू पहिचान गरी सडक सञ्जालसँग जोड्न सके मात्र ‘हरित उद्यम’ र स्वाभिमानी अर्थतन्त्र निर्माण हुनेछ” उनले भने । विकासका काममा अन्तर–मन्त्रालय समन्वयको अभाव रहेको औंल्याउँदै उनले भने “कृषि, वन, पर्यटन र उद्योग मन्त्रालयसँग उत्पादनको ज्ञान र बजेट छ, तर उनीहरूलाई सडक कहाँ बनेको छ भन्ने जानकारी छैन। अर्कोतर्फ, भौतिक मन्त्रालयले सडक त बनायो तर त्यहाँ के फल्छ भन्ने जानकारी राखेन।” यही सूचना र समन्वयको खाडल पुर्न अब भौतिक पूर्वाधार मन्त्रालयले कृषि र वन मन्त्रालयसँग भएका ‘पकेट क्षेत्र’ को तथ्याङ्क लिएर सडक सञ्जाललाई पुनः परिभाषित गर्ने उनले बताए ।
मन्त्री देवकोटाले इन्जिनियरहरूलाई सडकलाई केवल रिटेनिङ वाल र कालोपत्रेको प्राविधिक आँखाले मात्र नहेर्न आग्रह गरे । “तपाईंहरूले ५–१० प्रतिशत ध्यान यसमा पनि दिनुहोस् कि, मैले बनाएको सडकले त्यहाँको रैथाने उत्पादन, जुनार वा जडिबुटी बजार पु¥याउन कसरी मद्दत गर्छ ?” उनले प्रश्न गरे ।
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले भौतिक पूर्वाधारमा ठूलो फड्को मारे पनि त्यससँगै जोडिनुपर्ने नागरिकको जीविकोपार्जनको पाटो ओझेलमा परेको बताए । विगतमा साँघुरा ट्र्याक खन्दा सँगै आउने आयआर्जनका योजना अहिले फराकिला र पक्की सडक बन्दा छुट्नु विडम्बनापूर्ण रहेको उनले बताए । “मन्त्रीको सोच अनुरुप मन्त्रालय अघि बढेको छ” उनले भने “ठूलो महत्वाकांक्षा भन्दा पनि सुरुमा सानो र नमुना कार्यक्रमबाट काम थालनी गर्दै। सडकलाई उत्पादनसँग जोड्ने विषयमा प्रशासनिक र नीतिगत सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।”
चैतभित्र निर्देशिकाको मस्यौदा तयार हुने यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका निर्देशक नविन कुमार सिंहले बताए । ‘प्रादेशिक सडकमार्फत जीविकोपार्जन सिर्जना’ सम्बन्धी निर्देशिका तयारीका लागि कार्यशालामार्फत ’टास्क फोर्स’ले विज्ञहरूको सुझाव संकलन गरिरहेको उनले बताए । “विज्ञहरूबाट प्राप्त सुझावलाई संकलन गरेर आगामी दुई महिनाभित्र मस्यौदा तयार हुनेछ” उनले भने । उक्त निर्देशिका मन्त्रिपरिषदबाट पास भएपछि सडक योजना छनौट र निर्माण गर्दा यो नयाँ मोडेल कार्यान्वयनमा आउने छ ।
मकवानपुर । मकवानपुरकाे क्षेत्र नम्बर १ का उम्मदवार विजय गौतमले चुनावी अभियान सुरु गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट उम्मेदवारी दिएका गौतमले चुनावी अभियान तीव्र बनाएका हुन् ।
चुनावी अभियानकै क्रममा बागमती गाउँपालिकाका ३ वडामा अगुवा कार्यकर्ता भेला तथा कार्यालय उद्घाटन गरेका छन् । गौतमलाई विजयी गराउने उद्देश्यका साथ बागमती गाउँपालिकाका तीन वटा वडामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको पार्टीले जनाएकाे छ।
इमान, निष्ठा र जिम्मेवारी बाेधका साथ आफूले उम्मेदवारी दिएकाे गौतमले बताए। उनले चुनावको समयमा मात्र नभई यसअघिदेखि नै आफू निरन्तर जनताको बीचमै रहँदै आएको र अहिले उम्मेदवारीसहित घर–घरमा पुगिरहेको बताए। देशलाई आवश्यक परिवर्तनका लागि नेतृत्वमा पुस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै युवा नेतृत्वको खाँचो रहेको उनले बताए। ‘अहिलेको पुस्ता, विशेषगरी नवयुवा (Gen Z) ले पनि परिवर्तन, हस्तान्तरण र नयाँ नेतृत्व खोजिरहेको छ’ उनले भने ‘आफू परिवर्तनको एजेन्डा बोकेर अघि बढेको दाबी गर्दै मतदाताले सशक्त, जुझारु र सक्रिय युवा उम्मेदवारलाई समर्थन गर्ने विश्वास छ ।’
नेताहरूले मकवानपुर–१ मा विजय गौतमको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै जनसमर्थन थप मजबुत बन्दै गएको बताएका थिए। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले विजय गौतमलाई मकवानपुर–१ बाट सर्वाधिक मतका साथ विजयी गराउन सबैलाई सक्रिय हुन आग्रह गरेका छन्।
बागमती गाउँपालिका वडा नम्बर–७ (पाथिभरा), वडा नम्बर–५ (ज्यामिरे) र वडा नम्बर–४ (झुरझुरे) मा छुट्टाछुट्टै रूपमा कार्यक्रम आयोजना गरी चुनावी अभियानलाई थप गति दिइएको हो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू प्रेमबहादुर पुलामी (छिन्तु), सर्केस घलान, ध्रुव भुजेल, केन्द्रीय सदस्य तथा सल्लाहकार परिषद सदस्य यादव गजुरेल सहित प्रदेशस्तरीय नेताहरू कमान सिंह पाख्रिन, ग्यान सागर लामा, अरुण बल, माधव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले जनताले दिएकाे जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका विष्टले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का कार्यकर्तासँगको अन्तरक्रियामा बोल्दै एमाले–कांग्रेसको बहुमत सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण देशमा नवयुवा (Gen-Z) काे विद्रोह भएको दाबी गरे। नवयुवा (जेन–जी) को भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै उनले देशको समृद्धिकाे नेतृत्व पनि नेकपाले गर्ने बताए । ‘जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रूपान्तरण सम्भव हुनेछ’ उनले भने ।
नेकपाका समानुपातिक उम्मेदवार मंगलसिं प्रजाले भने ‘व्यवस्था पनि हामीले बदल्यौँ, अवस्था पनि हामीले बदल्छौँ ।’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री कुमारी माेक्तानले देशब्यापी पाचकुने ताराकाे माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरे । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको नीति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए । हेटौंडा ११ लाई असली कम्युनिस्टको किल्ला बनाउन जरुरी रहेकाे उनलेे बताए ।
नेता सागर बानियाँले स्थानीय बासिन्दाहरू तारा चुनाव चिह्नमा मतदान गर्न उत्सुक रहेको बताए । बानियाँले ‘विष्टलाई जिताउन स्थानीयहरू स्वतःस्फूर्त चुनावी प्रचारमा सक्रिय भएर लागिरहेका छन्’ उनले भने । ११ नम्बर पार्टी संयाेजक रामकृष्ण बस्नेतकाे सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो।
यसैबीच नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँकाे संयाेजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडा स्तरीय प्रचारप्रशार समिति गठन गरिएको छ । सहसंयाेजकहरूमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चाैलागाई रहेका छन् ।
चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौं जादै गरेकाे लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको रात्री बस शुक्रबार बिहान ३ बजे आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा सडकै पल्टिएको थियो । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ ।
घाइतेहरु मध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणको आधारमा घाइतेहरुको नामावलीः
नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत
१. दाङको लमही नगरपालिका १ बस्ने वर्ष ३३ को गणेश चौधरी (हात खुट्टामा चोट, अवस्था मध्यम) ।
२. ऐ.ऐ. ३ बस्ने वर्ष २१ की रुपा चौधरी (निधारमा चोट, अवस्था मध्यम) ।
३. राप्ती गाउँपालिका ५ बस्ने वर्ष २४ की माधुरी चौधरी (हात खुट्टामा चोट र ढाडमा चोट अवस्था मध्यम) ।
४. सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ को दिनेश चौधरी (वाँया कानमा भित्री चोट, अवस्था मध्यम) ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत
१. दाङको गढवा गाउँपालिका ३ बस्ने वर्ष ३१ की सिमा चौधरी (वाँया हात र टाउकोमा चोट, अवस्था सामान्य) ।
२. गढवा गाउँपालिका ५ बस्ने वर्ष १८ को अभिषेक चौधरी (वाँया हात र ढाडमा चोट, अवस्था सामान्य) ।
३. ऐ.ऐ. बस्ने वर्ष २१ को सम्राट चौधरी (टाउकोमा चोट अवस्था सामान्य) ।
४. घोराही–१८ बस्ने वर्ष ३६ को शालिग्राम खत्री क्षेत्री (टाउको र वाँया हातमा चोट, अवस्था सामान्य) ।
५. दाङ शान्तिनगर गाउँपालिका २ बस्ने वर्ष ६९ को शालिग्राम शर्मा (टाउको र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।
६. वर्ष ३७ की माँया चौधरी (वाँया हात र अनुहारमा चोट, अवस्था सामान्य) ।
७. लमही नगरपालिका २ बस्ने वर्ष ३२ को निर्मल चौधरी (टाउको र ढाडमा चोट अवस्था सामान्य)।
८. लमही नगरपालिका २ बस्ने वर्ष ३१ की गीता चौधरी (टाउकोमा चोट, अवस्था सामान्य) ।
९. ऐ.ऐ. बस्ने वर्ष १९ को आवास चौधरी (वाँया खुट्टा र हातमा चोट, अवस्था सामान्य) ।
१०. ऐ.ऐ. बस्ने वर्ष ३२ को राजु चौधरी (अनुहार र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।
११. दाङ गढवा गाउँपालिका २ बस्ने वर्ष ३२ को लिखुराम चौधरी (टाउको र ढाडमा चोट, अवस्था सामान्य) ।
१२. दाङ घोराही–१८ बस्ने वर्ष ३१ को बाबुराम थापा (अवस्था सामान्य) ।
१३. ऐ.ऐ. ४ बस्ने वर्ष ४० को शुभराम वाग्ले (टाउकोमा चोट, अवस्था सामान्य) ।
मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत
१. सल्यान छत्रेश्वरी ५ बस्ने वर्ष १८ की लिला कवर मगर (टाउकोमा चोट, अवस्था सामान्य) ।
२. ऐ.ऐ. बस्ने वर्ष २१ को रमेश कवर मगर (टाउकोमा चोट, अवस्था मध्यम) ।
३. दाङ गढवा–२ बस्ने वर्ष २७ की मिना चौधरी (वाँया खुट्टा भाँचिएको, अवस्था मध्यम) ।
४. गढवा २ बस्ने वर्ष ३० को विष्णु चौधरी (टाउकोमा चोट, अवस्था मध्यम) ।
५. ऐ.ऐ. बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल (टाउकोमा चोट, अवस्था सामान्य) ।
६. लमही नगरपालिका २ बस्ने वर्ष २१ को प्रकाश चौधरी (निधारमा चोट, अवस्था सामान्य) ।
७. दाङ घोराही–१६ बस्ने वर्ष ६० को फणेन्द्र पछाई (हात खुट्टामा चोट, अवस्था सामान्य) ।
८. दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम (टाउकोमा चोट, अवस्था मध्यम) ।
९. घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल (सामान्य चोटपटक) ।
१०. शान्ती हमालकी छोरी वर्ष १० की प्रमिसा हमाल (सामान्य चोटपटक) ।
११. रोल्पाको होलेरी बस्ने वर्ष ५० को विष्णु बस्नेत (टाउकोमा चोट, अवस्था मध्यम) ।
१२. नुवाकोटको पञ्चकन्या–६ बस्ने वर्ष ४० की सुनिता तामाङ (टाउकोमा चोट, अवस्था सामान्य) ।
१३. ऐ.ऐ. बस्ने बस्ने वर्ष ४२ को सुकमान तामाङ (टाउको र कम्मरमा चोट, अवस्था मध्यम) ।
१४. ऐ. ऐ. बस्ने वर्ष ४५ को बुद्दी बहादुर तामाङ (ढाडमा चोट, अवस्था मध्यम) ।
१५. ऐ.ऐ. बस्ने वर्ष २० को सन्देश तामाङ (दायाँ हातमा चोट, अवस्था मध्यम) ।
जनता केयर अस्पताल मुग्लिङमा उपचाररत
१. रोल्पा रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष वर्ष ३५ को चेतलाल खत्री (हातमा चोट) ।
२. दाङ घोराही १७ बस्ने वर्ष २४ को दिनेश चौधरी (हातमा चोट) ।
३. दाङ घोराही–१० बस्ने वर्ष २९ को चक्र सिंह (हात र टाउकोमा चोट) ।
४. दाङ गढवा–२ बस्ने वर्ष २६ को श्रीराम चौधरी (टाउको र हातमा चोट) ।
५. बस चालक दाङका ३४ वर्षीय सुभाष ओली ।
६. बस चालक (दुर्घटना हुँदाको समयमा चलाउने) दाङ लमही न.पा. २ बस्ने वर्ष २६ को विपिन चौधरी ।
मकवानपुर । गीतकार किरण खरेल १ लाख राशीको पुरस्कारबाट हेटौंडामा सम्मानित भएका छन् ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा बिहीबार ‘बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार खरेललाई सम्मान गरिएको हो । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले सम्मान तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरि खरेललाई १७ औ सस्करणको उक्त पुरस्कार प्रदान गरिएको हो ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका थिए ।
२०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ … सदावहार गीतका सर्जक हुन गीतकार खरेल । नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए खरेलको ‘ए दूरका सितारा..’ बोलको गीत पहिलाे रचना हाे ।
खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको बताइएको छ ।
गीतकार खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
सोही अवसरमा खरेललाई गीतकार संघले समेत सम्मान गरेको छ । साङ्गीतिक कार्यक्रममा गीतकार खरेलका गीत गायीका निशा देसार, स्थानीय तथा दार्जिलिङका गायक पवन गोले (हावासँगै बगूँ भन्छ ..का गायक) लगायतले आफ्नो प्रस्तुतिले माहौल तताएको थिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको छ ।