मकवानपुर । गीतकार किरण खरेल १ लाख राशीको पुरस्कारबाट हेटौंडामा सम्मानित भएका छन् ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा बिहीबार ‘बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार खरेललाई सम्मान गरिएको हो । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले सम्मान तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरि खरेललाई १७ औ सस्करणको उक्त पुरस्कार प्रदान गरिएको हो ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका थिए ।
२०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ … सदावहार गीतका सर्जक हुन गीतकार खरेल । नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए खरेलको ‘ए दूरका सितारा..’ बोलको गीत पहिलाे रचना हाे ।
खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको बताइएको छ ।
गीतकार खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
सोही अवसरमा खरेललाई गीतकार संघले समेत सम्मान गरेको छ । साङ्गीतिक कार्यक्रममा गीतकार खरेलका गीत गायीका निशा देसार, स्थानीय तथा दार्जिलिङका गायक पवन गोले (हावासँगै बगूँ भन्छ ..का गायक) लगायतले आफ्नो प्रस्तुतिले माहौल तताएको थिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको छ ।

