मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले जनताले दिएकाे जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका विष्टले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का कार्यकर्तासँगको अन्तरक्रियामा बोल्दै एमाले–कांग्रेसको बहुमत सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण देशमा नवयुवा (Gen-Z) काे विद्रोह भएको दाबी गरे। नवयुवा (जेन–जी) को भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै उनले देशको समृद्धिकाे नेतृत्व पनि नेकपाले गर्ने बताए । ‘जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रूपान्तरण सम्भव हुनेछ’ उनले भने ।
नेकपाका समानुपातिक उम्मेदवार मंगलसिं प्रजाले भने ‘व्यवस्था पनि हामीले बदल्यौँ, अवस्था पनि हामीले बदल्छौँ ।’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री कुमारी माेक्तानले देशब्यापी पाचकुने ताराकाे माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरे । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको नीति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए । हेटौंडा ११ लाई असली कम्युनिस्टको किल्ला बनाउन जरुरी रहेकाे उनलेे बताए ।
नेता सागर बानियाँले स्थानीय बासिन्दाहरू तारा चुनाव चिह्नमा मतदान गर्न उत्सुक रहेको बताए । बानियाँले ‘विष्टलाई जिताउन स्थानीयहरू स्वतःस्फूर्त चुनावी प्रचारमा सक्रिय भएर लागिरहेका छन्’ उनले भने । ११ नम्बर पार्टी संयाेजक रामकृष्ण बस्नेतकाे सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो।
यसैबीच नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँकाे संयाेजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडा स्तरीय प्रचारप्रशार समिति गठन गरिएको छ । सहसंयाेजकहरूमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चाैलागाई रहेका छन् ।

