मकवानपुर । मकवानपुरकाे क्षेत्र नम्बर १ का उम्मदवार विजय गौतमले चुनावी अभियान सुरु गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट उम्मेदवारी दिएका गौतमले चुनावी अभियान तीव्र बनाएका हुन् ।
चुनावी अभियानकै क्रममा बागमती गाउँपालिकाका ३ वडामा अगुवा कार्यकर्ता भेला तथा कार्यालय उद्घाटन गरेका छन् । गौतमलाई विजयी गराउने उद्देश्यका साथ बागमती गाउँपालिकाका तीन वटा वडामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको पार्टीले जनाएकाे छ।
इमान, निष्ठा र जिम्मेवारी बाेधका साथ आफूले उम्मेदवारी दिएकाे गौतमले बताए। उनले चुनावको समयमा मात्र नभई यसअघिदेखि नै आफू निरन्तर जनताको बीचमै रहँदै आएको र अहिले उम्मेदवारीसहित घर–घरमा पुगिरहेको बताए। देशलाई आवश्यक परिवर्तनका लागि नेतृत्वमा पुस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै युवा नेतृत्वको खाँचो रहेको उनले बताए। ‘अहिलेको पुस्ता, विशेषगरी नवयुवा (Gen Z) ले पनि परिवर्तन, हस्तान्तरण र नयाँ नेतृत्व खोजिरहेको छ’ उनले भने ‘आफू परिवर्तनको एजेन्डा बोकेर अघि बढेको दाबी गर्दै मतदाताले सशक्त, जुझारु र सक्रिय युवा उम्मेदवारलाई समर्थन गर्ने विश्वास छ ।’
नेताहरूले मकवानपुर–१ मा विजय गौतमको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै जनसमर्थन थप मजबुत बन्दै गएको बताएका थिए। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले विजय गौतमलाई मकवानपुर–१ बाट सर्वाधिक मतका साथ विजयी गराउन सबैलाई सक्रिय हुन आग्रह गरेका छन्।
बागमती गाउँपालिका वडा नम्बर–७ (पाथिभरा), वडा नम्बर–५ (ज्यामिरे) र वडा नम्बर–४ (झुरझुरे) मा छुट्टाछुट्टै रूपमा कार्यक्रम आयोजना गरी चुनावी अभियानलाई थप गति दिइएको हो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू प्रेमबहादुर पुलामी (छिन्तु), सर्केस घलान, ध्रुव भुजेल, केन्द्रीय सदस्य तथा सल्लाहकार परिषद सदस्य यादव गजुरेल सहित प्रदेशस्तरीय नेताहरू कमान सिंह पाख्रिन, ग्यान सागर लामा, अरुण बल, माधव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।

