मकवानपुर । २०७८ सालको मदन पुरस्कार नवराज लम्साललाई प्रदान गरिने भएको छ। लम्सालको अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार प्रादान गरिने भएको हो ।
यसैगरि २०७८ सालको जगदम्बा-श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई प्रादान गरिने भएको हो । शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार र श्रेष्ठलाई जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।
यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।
जगदम्बा-श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन्।
२०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो।
गत वर्ष लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार हात पारेका थिए ।
२०४५ सालमा पहिलो पटक जगदम्बा-श्री सम्मानबाट नारायणगोपाललाई सम्मानित गरिएको थियो। गत बर्ष जगदम्बा-श्री सम्मान नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको थियो।
गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा-श्री सम्मान प्रदान गर्दै आएको छ। हाल दुवै पुरस्कारको राशि ४ लाख नगद सहित सम्मानपत्र रहेको छ।
मकवानपुर । मोती जयन्ती एवम् बुबाको मुख हेर्ने दिन कुशे औशीको अवसरमा शनिबार खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको छ । साहित्य संगम मकवानपुरको आयोजना तथा बुढ्यौली साहित्य समाज मकवानपुरको प्रायोजनमा भएको कविता प्रतियोगितामा सहभागी ३४ जना प्रतियोगीमध्ये ३ जना कवि उत्कृष्ट घोषित भएका छन् ।
समर्पण न्यौपाने, स्वस्तिका दाहाल र इलिशा पराजुली उत्कृष्ट कवि घोषित भएका हुन । संगमको ३ सय २२ औ साहित्य सन्ध्या खुल्ला कविता प्रतियोगिता बिशेष भएको हो ।
कविहरु छवि अनित्य, विश्वनाथ सञ्जेल र घनश्याम घिमिरेको निर्णयबाट उत्कृष्ट कवि घोषित भएका तीनैजनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै उषाकिरण अधिकारी र गौरी कँडेललाई प्रोत्साहन पुरस्कृत प्रदान गरिएको छ । प्रोत्साहनस्वरुप जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । न्यौपानेले ‘बा’, दाहालले ‘बाबा’ र पराजुलीले ‘बाका रक्तनली’ शिर्षकमा कविता वाचन गरेका थिए ।
यस्तै अधिकारीले ‘बुबा’ र कँडेलले ‘बा’ शिर्षकमा कविता वाचन गरे । प्रतियोगितामा ३४ जना सहभागीमध्ये २८ जनाले मात्र कविता वाचन गरेका थिए ।
साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा कवि रामचन्द्र फुर्सती आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
मकवानपुर । हिमालयन राईडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । साइकल प्रयोगकर्ताको संस्था हिमालयन राईडर्स सोसाईटीको शनिबार हेटौंडामा भएको प्रथम साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समिति उपाध्यक्ष राजु थापामगर, महासचिव चन्द्रकुमार मानन्धर, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठ र सचिव लेखनाथ ढकाल चयन भएका छन् । यस्तै सदस्यमा बुद्धराम श्रेष्ठ, इश्वर पाण्डे, देवराज आचार्य, सोनिया राई, प्रदीप थापा चयन भएका छन् ।
सभाले सल्लाहकार समितिमा चेतनाथ आचार्य, भानुभक्त आचार्य, निमेष निखील, डा. तारालाल श्रेष्ठ, राममान श्रेष्ठ, रामेश्वर बास्कोटा र दीपेन्द्रचन्द ठकुरी चयन गरिएको छ । सोसाईटीका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता तथा हेटौंडा वडा नम्वर ५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख अतिथ्यतामा सभा भएको हो।
सभामा अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
मकवानपुर । शुक्रबारबाट सुरु भएको नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन छनोटको मापदण्ड र राजनीतिक प्रतिवेदन पारित गर्दै एमालेको केन्द्रीय कमिटी बैठक सकिएको हाे ।
२ दिन भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रतिवेदन माथि समूहगत रुपमा छलफल भएको थियो । बैठकले केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोग, निर्वाचन आयोगका अध्यक्षले आयोगका कामबारे दिएको जानकारी ग्रहण गरेको छ । त्यस्तै भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टीलाई संगठनात्मक र वैचारिक रुपले एकतावद्ध तथा कार्यशैलीमा एकरुपता ल्याउन अध्यक्ष आलीको प्रतिवेदन एकताको सन्देश दिएको बैठकपछि आयोजित पत्रकार ब्रिफिङ्गमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने बताए । तर अन्तिम निर्णय केन्द्रकै हुने छ ।
त्यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने छ।
समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्याइने पनि एमालेले जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा गराएर प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यमा उम्मेदवार नबनाइने एमालेले जनाएकाे छ ।
मकवानपुर । विज्ञान शिक्षक समाज गढी गाउँपालिका अध्यक्षमा दिपेन्द्र प्रसाद यादव चयन भएका छन । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको गढी गाउँपालिका स्तरीय पालिका भेलाले यादवको नेतृत्वमा कार्यसमिति समेत चयन गरेको छ ।
समिति उपाध्यक्षमा अनिता नहर्की, सचिव सञ्जय कुमार राउत, सहसचिव देवेन्द्र गोले, कोषाध्यक्ष धर्मेन्द्र प्रसाद यादव, सदस्यहरूमा सरस्वती काफ्ले, अजय मुखिया, रामचन्द्र सुवेदी, पवन रायमाझी र सल्लाहकारहरूमा गोविन्द प्रसाद भुषाल, जीवन तिमल्सिना, लोकराज घिमिरे र मधुप्रसाद अधिकारी रहेका छन् ।
कार्यक्रममा जिल्ला अध्यक्ष खेमराज लामिछानेले स्थानीय निकायका समितिहरूले स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाउनु पर्ने बताए । गाउँपालिका अध्यक्ष दोर्जे लामाले आफू शिक्षा क्षेत्रबाट नै आएकाले वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि सधैँ प्रतिबद्ध रहेको बताए ।
शुक्रबार मकवानपुर गढी ३ भानु माविमा विज्ञान शिक्षक समाजको भेला गरिएको हो । समाजका जिल्ला सदस्य तथा भेला आयोजक समितिका संयोजक दिपेन्द्र प्रसाद यादवको सभाध्यक्षता र गाउँपालिका अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला कार्यसमिति उपाध्यक्ष भरत प्रसाद पोखरेल ,सहसचिव नितेश ठाकुर, कोषाध्यक्ष मनिल कर्ण, सदस्य मधुसुदन हुमागाईँ लगायतको उपस्थिति रहेको थियो ।
