मकवानपुर । २०७८ सालको मदन पुरस्कार नवराज लम्साललाई प्रदान गरिने भएको छ। लम्सालको अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार प्रादान गरिने भएको हो ।
यसैगरि २०७८ सालको जगदम्बा-श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई प्रादान गरिने भएको हो । शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार र श्रेष्ठलाई जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।
यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।
जगदम्बा-श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन्।
२०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो।
गत वर्ष लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार हात पारेका थिए ।
२०४५ सालमा पहिलो पटक जगदम्बा-श्री सम्मानबाट नारायणगोपाललाई सम्मानित गरिएको थियो। गत बर्ष जगदम्बा-श्री सम्मान नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको थियो।
गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा-श्री सम्मान प्रदान गर्दै आएको छ। हाल दुवै पुरस्कारको राशि ४ लाख नगद सहित सम्मानपत्र रहेको छ।
In: मुख्य खबर, राष्ट्रिय, साहित्य/ कला
Tags: No Comments

