मकवानपुर । मोती जयन्ती एवम् बुबाको मुख हेर्ने दिन कुशे औशीको अवसरमा शनिबार खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको छ । साहित्य संगम मकवानपुरको आयोजना तथा बुढ्यौली साहित्य समाज मकवानपुरको प्रायोजनमा भएको कविता प्रतियोगितामा सहभागी ३४ जना प्रतियोगीमध्ये ३ जना कवि उत्कृष्ट घोषित भएका छन् ।
समर्पण न्यौपाने, स्वस्तिका दाहाल र इलिशा पराजुली उत्कृष्ट कवि घोषित भएका हुन । संगमको ३ सय २२ औ साहित्य सन्ध्या खुल्ला कविता प्रतियोगिता बिशेष भएको हो ।
कविहरु छवि अनित्य, विश्वनाथ सञ्जेल र घनश्याम घिमिरेको निर्णयबाट उत्कृष्ट कवि घोषित भएका तीनैजनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै उषाकिरण अधिकारी र गौरी कँडेललाई प्रोत्साहन पुरस्कृत प्रदान गरिएको छ । प्रोत्साहनस्वरुप जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । न्यौपानेले ‘बा’, दाहालले ‘बाबा’ र पराजुलीले ‘बाका रक्तनली’ शिर्षकमा कविता वाचन गरेका थिए ।
यस्तै अधिकारीले ‘बुबा’ र कँडेलले ‘बा’ शिर्षकमा कविता वाचन गरे । प्रतियोगितामा ३४ जना सहभागीमध्ये २८ जनाले मात्र कविता वाचन गरेका थिए ।
साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा कवि रामचन्द्र फुर्सती आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
In: मुख्य खबर, राष्ट्रिय, साहित्य/ कला, स्थानीय खबर/समाज
Tags: No Comments

