पुष्पा नेपाल सुबेदी
एउटा अपरिचित नम्बरबाट कल आयो । उठाऊँ कि नउठाऊँ भयो मलाई । उठाइनँ । पाँच मिनेटपछि फेरि त्यही कल आयो । नजिकै श्रीमान् हुनुहुन्थ्यो । उठाऊँ को हो, को हो ? नउठाऊँ झन् शंका हुने । उठाएँ र केही नसुनी भनिदिएँ, केही सुनिएन, म पछि गर्छु है । घरमा फर्केपछि मनमा खुल्दुली भइरह्यो । को थियो होला अपरिचित नम्बरमा ? फोन काटिदिएकोमा के पो सोच्यो होला ? मिस कल भए त दुई दुईपल्ट कल नआउनु पर्ने । श्रीमान् आफ्नो कोठामा स्कुलका कापीहरु जाँचिरहनु भएको थियो । भान्सामा थिएँ म । कल गरेँ । सम्पर्क हुन सकेन भन्यो । तरकारी ओइरिसकेपछि फेरि एक प्रयास गरेँ । फोन लाग्यो ।
एउटा मधुर पुरुष आवाजले भन्यो, हजुर । कल आएको रहेछ । नम्बर सेभ थिएन । को बोल्नुभयो होला हजुर ? मैले यत्ति सोधेँ । पुरुषले भन्यो, म प्रदीप छेत्री । चिन्नुभयो ? तपाईँको नगरमा आएको थिएँ । फोन उठाउनु भएन । म विस्मित भएँ । जसको किताब मेरो सिरानीमा छ अझै । जसको मुक्तक पढेर म अघाउँदिन । उनको आवाजको सबैभन्दा ठुलो प्रशंसक र प्रेमी हुँ म । त्यो आवाजले मलाई एकान्तमा अपरिमित आनन्द दिन्छ । भनोस् लाग्छ, पुष्पा, हिँड एक कप चिया पिऊँ सँगै । अनि अहिले कहाँ ? मैले सोधेँ । म त इटहरी पुगिसकेँ । उनले भने । किन हिजै भन्नुभएन ? मेरो थकथकी झन् बढ्यो । भान्सा छोडेर बेडरुममा गएँ । शरीर शिथिलजस्तो भयो ।
दिउँसको ३ बजिसकेको थियो । म थिएँ बिर्तामोड । बसमा जाँदा तीन घण्टा लाग्थ्यो । फर्किनु कसरी ? आज त्यतै बस्ने हो ? मैले सोधेँ । उनले भने, पौने पाँचको फ्लाइट छ काठमाडौँको । झन् दिक्क लाग्यो । सन्तोषचाहिँ के लाग्यो भने उनीसँग प्रत्यक्ष बोल्न पाएँ । अर्कै ग्रहको जस्तो कथाकार र मुक्तककार मसँग चिरपरिचित जस्तो बोलिरहेको थियो । मनमा यति धेरै भावनाहरु थिए कि के भन्नु, के भन्नु भयो ।
उनले भने, तपाईँसँग बसेर एक कप चिया खान मन थियो । मेरो थकथकीको कुनै सीमा थिएन । उनले फोन काट्न नपाउँदै भनेँ, पुगेपछि फोन गर्नू ल । उताबाट आवाज आयो हस् ।
पौने छ बजेतिर फेसबुकमा उनको मेसेज आयो । म पुगेँ है, मास्टर्नी माया । मैले त्यो मेसेज सयपल्ट पढेँ ।
इलाम

