मकवानपुर । शुक्रबारबाट सुरु भएको नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन छनोटको मापदण्ड र राजनीतिक प्रतिवेदन पारित गर्दै एमालेको केन्द्रीय कमिटी बैठक सकिएको हाे ।
२ दिन भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रतिवेदन माथि समूहगत रुपमा छलफल भएको थियो । बैठकले केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोग, निर्वाचन आयोगका अध्यक्षले आयोगका कामबारे दिएको जानकारी ग्रहण गरेको छ । त्यस्तै भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टीलाई संगठनात्मक र वैचारिक रुपले एकतावद्ध तथा कार्यशैलीमा एकरुपता ल्याउन अध्यक्ष आलीको प्रतिवेदन एकताको सन्देश दिएको बैठकपछि आयोजित पत्रकार ब्रिफिङ्गमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने बताए । तर अन्तिम निर्णय केन्द्रकै हुने छ ।
त्यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने छ।
समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्याइने पनि एमालेले जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा गराएर प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यमा उम्मेदवार नबनाइने एमालेले जनाएकाे छ ।

