मकवानपुर । मकवानपुरकाे प्रतिनिधसभा क्षेत्र नम्बर १ काे लागि राप्रपा नेपालले पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार सिफारिस गरेकाे छ । आगामी मंशिर ४ गते हुने प्रतिनिधिसधा निर्वाचनकाे लागि पार्टी केन्द्रीय अध्यक्ष थापालाई उम्मेद्वार बनाउने सिफारिस गरिएकाे हाे ।
थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नंबर १ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका प्रवक्ता आयुष डाेटेलले बताए ।
राप्रपा नेपाल जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाका अनुसार जिल्लाको प्रतिनिधि क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्रहरुमा अर्को बैठकबाट नाम सिफारिस गर्ने तय भएकाे छ ।
हेटौंडा । मकवानपुरकाे प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ८ जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनकाे लागि शनिबार एमालेकाे २ वटै क्षेत्रिय कमिटीले ८ जनाको नाम सिफारिस गरेको हो ।
एमाले मकवानपुर क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधिसभा निर्वाचनकाे लागि ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय कमिटीको हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
यसैगरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ कमिटीले नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार बिभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरेकाे हाे । दुबै तर्फको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु डोरमणि पौडेल, जुनेली श्रेष्ठ, भारती पाठक, अनन्त पौडेल, रामचन्द्र राई, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो ।
जुनु खड्का
समाज भाँड्ने र बिगार्नेहरूको
जमातभित्र पर्ने नाम हो `जलन´
यसको दुश्मनी अरूको खुशी
अरूको हाँसो र प्रगतिसित हुन्छ
अरूको प्रगतिमा जल्नेहरूले
न इमानदारीताको कदर गर्छन्
न मिहिनेतको फल देख्छन्
बस जलनको आगो फुकेर
अरूको वचन रुपी घिउ खोज्दै गाउँ डुल्ने
दुरुस्त भुस्याहा जस्तै हुन्छन्
कपोलकल्पित भनाइका तिखा नङ्ग्राले
चिथोरि रहन्छन्
यस्ता जलनहरूले आफू जल्दै
अरूलाई जलाउन खोज्छन्
मिलेसम्म प्रगतिलाई काँडेतारले रोक्ने
खुशीलाई तहसनहस परिदिने
हाँसोलाई लुट्ने
हिँड्ने गरोटोमा पहिरो खन्याउने
चढ्ने सिँढी भत्काउने
कोसिस गरिरहन्छन्
ए समाजभित्रका जलनहरू हो
निच पनि कति बन्छौ
कसैको इमान बेचेर
बेइमानीको कठघरामा
किन उतार्छौ ?
तिमीहरूलाई हेक्का नहोला सायद
समयले घुमाउँदै एक दिन त्यही
कठघरामा बयान दिन तिमीलाई
उभ्याउन सक्छ
अरूको बेइमानीको प्रमाण जुटाउन
आफैँ लिलाम हुन सक्छौ
लुटेर पहिरिएको शीरताज
आफ्नो खुट्टामा आफैँले हानेको
बञ्चरो पनि बन्न सक्छ,
विचार गर्नु ।
शुक्लागण्डकी तनहुँ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडामा ७४ किलाे गाँजा सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा पिकअप गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नंबरको तरकारी बोक्ने गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषधसहित २ जना पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गाडी चालक नुवाकोट बिदुर-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ,गाडीमा सवार पर्सा ठोरी-३ बर्मानगर बस्ने ३४ वर्षीया चन्द्र कुमारी श्रेष्ठ रहेका छन् । प्रहरीले उनिहरुको साथबाट नगद ३१ हजार ७ सय रुपैयाँ फेला पारेको जनाएको छ । पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण नेपालमा पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगू संक्रमण देखिएको छ ।
बागमती प्रदेशमा सबै भन्दा बढी
देशभर साउनदेखि यता २ हजार एक सय ७९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । हालसम्म बागमती प्रदेशमा १ हजार २ सय ९१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा ५ सय ८३, प्रदेश नम्वर १ मा १ सय ४४, गण्डकी प्रदेशमा ५२, मधेश प्रदेशमा ४८, कर्णाली प्रदेशमा १७ र सुदूपश्चिम प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर २०७८ पुसदेखि यता ४ हजार १सय ४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हेटौंडामा डेंगु नियन्त्रण अभियान
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फैलदै गरेको डेंगु नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शनिबारबाट सञ्चालन गरिने जनाएको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाले अभियानबारे अभिमुखिकरण कार्यक्रम गरि जानकारी गराएको हो । शनिवारबाट ४ दिने लार्भा नष्ट गर्ने अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए ।
साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ र ५ नंबर वडाका रहेका छन्
