हेटौंडा । मकवानपुरकाे प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ८ जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनकाे लागि शनिबार एमालेकाे २ वटै क्षेत्रिय कमिटीले ८ जनाको नाम सिफारिस गरेको हो ।
एमाले मकवानपुर क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधिसभा निर्वाचनकाे लागि ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय कमिटीको हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
यसैगरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ कमिटीले नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार बिभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरेकाे हाे । दुबै तर्फको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु डोरमणि पौडेल, जुनेली श्रेष्ठ, भारती पाठक, अनन्त पौडेल, रामचन्द्र राई, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो ।

