जुनु खड्का
समाज भाँड्ने र बिगार्नेहरूको
जमातभित्र पर्ने नाम हो `जलन´
यसको दुश्मनी अरूको खुशी
अरूको हाँसो र प्रगतिसित हुन्छ
अरूको प्रगतिमा जल्नेहरूले
न इमानदारीताको कदर गर्छन्
न मिहिनेतको फल देख्छन्
बस जलनको आगो फुकेर
अरूको वचन रुपी घिउ खोज्दै गाउँ डुल्ने
दुरुस्त भुस्याहा जस्तै हुन्छन्
कपोलकल्पित भनाइका तिखा नङ्ग्राले
चिथोरि रहन्छन्
यस्ता जलनहरूले आफू जल्दै
अरूलाई जलाउन खोज्छन्
मिलेसम्म प्रगतिलाई काँडेतारले रोक्ने
खुशीलाई तहसनहस परिदिने
हाँसोलाई लुट्ने
हिँड्ने गरोटोमा पहिरो खन्याउने
चढ्ने सिँढी भत्काउने
कोसिस गरिरहन्छन्
ए समाजभित्रका जलनहरू हो
निच पनि कति बन्छौ
कसैको इमान बेचेर
बेइमानीको कठघरामा
किन उतार्छौ ?
तिमीहरूलाई हेक्का नहोला सायद
समयले घुमाउँदै एक दिन त्यही
कठघरामा बयान दिन तिमीलाई
उभ्याउन सक्छ
अरूको बेइमानीको प्रमाण जुटाउन
आफैँ लिलाम हुन सक्छौ
लुटेर पहिरिएको शीरताज
आफ्नो खुट्टामा आफैँले हानेको
बञ्चरो पनि बन्न सक्छ,
विचार गर्नु ।
शुक्लागण्डकी तनहुँ
In: राष्ट्रिय, साहित्य/ कला
Tags: No Comments

