मकवानपुर । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण नेपालमा पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगू संक्रमण देखिएको छ ।
बागमती प्रदेशमा सबै भन्दा बढी
देशभर साउनदेखि यता २ हजार एक सय ७९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । हालसम्म बागमती प्रदेशमा १ हजार २ सय ९१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा ५ सय ८३, प्रदेश नम्वर १ मा १ सय ४४, गण्डकी प्रदेशमा ५२, मधेश प्रदेशमा ४८, कर्णाली प्रदेशमा १७ र सुदूपश्चिम प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर २०७८ पुसदेखि यता ४ हजार १सय ४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हेटौंडामा डेंगु नियन्त्रण अभियान
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फैलदै गरेको डेंगु नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शनिबारबाट सञ्चालन गरिने जनाएको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाले अभियानबारे अभिमुखिकरण कार्यक्रम गरि जानकारी गराएको हो । शनिवारबाट ४ दिने लार्भा नष्ट गर्ने अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए ।
साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ र ५ नंबर वडाका रहेका छन्

