मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक शुक्रबार अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा शर्माको सालिक अनावरण गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्वर्गीय शर्माको अर्ध कदको सालिक अनावरण गरेका हुन । ‘नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीति र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएका छन्’ सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले भने-‘समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैँ सम्मान गर्नुपर्छ ।’
प्रतिष्ठानका उपाध्यक्ष इन्द्र प्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
१९८६ असार ६ गते मकवानपुरको तत्कालिन मन्थली गाविसमा जन्मिएका शर्माको आइमाई साथि लगायत साहित्यिक तथा राजनीतिक गरि दर्जन बढि पुस्तक प्रकाशित छन् ।

