मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१२ का २३ वर्षीय रोशन लामा, सोही ठाउँका २६ वर्षीय अनिल कुमार घलान र हेटौंडा–१३ का ३३ वर्षीय सुमन परियार रहेका छन् ।
मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा–१० बसपार्क टीसीएन रोडस्थित लागुऔषधको कारोबार भएको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जाँच गर्दा रोशनको साथबाट लागुऔषध एनारगन ९ पत्ता (९० पिस ट्याब्लेट), ट्रमाडेक्स ३५ पत्ता (३ सय ५० पिस ट्याब्लेट) र अनिलको साथबाट लागुऔषध गाँजा १ सय ५० ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।
प्रहरीले उनीहरुसँगै रहेका सुमन परियारलाई पनि नियन्त्रणमा लिएको हो । तीनै जनालाई लागुऔषधसहित पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरका १९ मतदानस्थल अती संवेदनशील सूचीमा रहेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका १९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
२ संघीय क्षेत्र र ४ प्रदेशसभा क्षेत्रको १६७ मतदान स्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा सुरु गरिएको बताए ।
प्रमुख पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए । उनले अति संवेदनशील क्षेत्रमा बढी सुरक्षाकर्मी खटाइने बताउँदै निर्वाचनको तयारीलाई तीब्रता दिइएको समेत बताए । प्रमुख पाण्डेले जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलहरुमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको प्रहरी सुरक्षा पनि केहि दिन पछि खटाउने तयारी रहेको बताए ।
जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि करिब २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् । निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था निर्वाचन आयोग ऐन, २०७३ ले गरेकाे छ ।
निर्वाचन आयोग ऐन, २०७३ मा भएकाे ब्यवस्था बमाेजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत, (राप. द्वितीय श्रेणीे वा सो सरह वा राप. तृतीय श्रेणी वा सो सरह) – एकजना, लेखा अधिकृत वा लेखापाल (रा. प. तृ. श्रेणी वा सो सरह वा (रा.प.अनं प्रथम श्रेणी वा सो सरह) एक जना, सहायक कर्मचारी (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना रहनेछन् । यस्तै कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना,. सवारी चालक (सवारी साधन भएमा) एक जना, सहयोगी कर्मचारी (श्रेणी विहीन) दुई जना, निजी सुरक्षा अधिकारी (पि.एस.ओ.) एक जना गरी नौ जना जनशक्ति रहेका छन् । यसैगरी निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी नै रहेका छन् ।
यसैगरी मतदान केन्द्रमा मतदाता संख्याकाे आधारमा ९ जना देखि ११ जनासम्म रहने व्यवस्था रहेकाे आयाेगले जनाएकाे छ । आयाेगका अनुसार २ सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जनासहित ९ जना कर्मचारी रहने आयाेगले जनाएकाे छ । २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जनासहित ११ जना कर्मचारी रहने छन् भने ५ सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक सहित १२ जना कर्मचारी परिचालन गरिने आयाेगले जनाएकाे छ । आवश्यकता अनुसार अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिने भएकाे छ ।
निर्वाचन कार्यकाे लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाइने आयाेगले जानकारी दिएकाे छ । त्यस्तै काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत आवश्यकताकाे आधारमा खटाइने भएकाे छ ।
यसैगरी आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाको लागि कर्मचारी काजमा लिइ कार्य गरिरहेकाे छ ।
यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाइने
निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने जनाएकाे छ ।
यसैगरी जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत, टेलिफोन, बैंक, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाको लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा नखटाइने व्यवस्था रहेकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको सानोपोखराबाट लागुऔषध खैरो हिरोइन सहित ३ जनालाई पकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ सानोपोखराबाट १ ग्राम ४ सय ६० मिलिग्राम खैरो हिरोईन सहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्रहरीले सानोपोखरामा ना ४८ प ९००५ नम्बरको मोटरसाइललाई रोकी जाँच गर्दा १ ग्राम ४ सय ६० मिलि ग्राम खैरो हेरोईन र सानो डिजिटल तराजु १ थान सहित श्रेष्ठ, चौलागाईं र कार्कीलाई पक्राउ गरेको कार्कीले जानकारी दिए ।
मकवानपुर । मकवानपुर जिल्लामा सोमबार ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ८ सय जना पुरुष र २ हजार २ सय ४५ जना महिला गरी ५ हजार ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हेटौंडा उपमहानगरपालिकामा मात्रै हालसम्म ३ हजार ९ सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । हेटौंडामा २ हजार २ सय जना पुरुष र एक हजार ७ सय ५५ जना महिला संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । आइतबार १३ जनामा डेंगु संक्रमण देखिएको थियो । सोमबार जम्मा ८ जनामा डेंगु संक्रमण देखिएको छ । यसले जिल्लामा पछिल्लो २ दिनदेखि डेंगु संक्रमणको संख्या घट्दो रहेको तथ्याङ्कले देखाउँछ ।
सोमबार संक्रमण पुष्टि भएका ८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रको रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

