मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि करिब २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् । निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था निर्वाचन आयोग ऐन, २०७३ ले गरेकाे छ ।
निर्वाचन आयोग ऐन, २०७३ मा भएकाे ब्यवस्था बमाेजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत, (राप. द्वितीय श्रेणीे वा सो सरह वा राप. तृतीय श्रेणी वा सो सरह) – एकजना, लेखा अधिकृत वा लेखापाल (रा. प. तृ. श्रेणी वा सो सरह वा (रा.प.अनं प्रथम श्रेणी वा सो सरह) एक जना, सहायक कर्मचारी (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना रहनेछन् । यस्तै कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना,. सवारी चालक (सवारी साधन भएमा) एक जना, सहयोगी कर्मचारी (श्रेणी विहीन) दुई जना, निजी सुरक्षा अधिकारी (पि.एस.ओ.) एक जना गरी नौ जना जनशक्ति रहेका छन् । यसैगरी निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी नै रहेका छन् ।
यसैगरी मतदान केन्द्रमा मतदाता संख्याकाे आधारमा ९ जना देखि ११ जनासम्म रहने व्यवस्था रहेकाे आयाेगले जनाएकाे छ । आयाेगका अनुसार २ सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जनासहित ९ जना कर्मचारी रहने आयाेगले जनाएकाे छ । २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जनासहित ११ जना कर्मचारी रहने छन् भने ५ सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक सहित १२ जना कर्मचारी परिचालन गरिने आयाेगले जनाएकाे छ । आवश्यकता अनुसार अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिने भएकाे छ ।
निर्वाचन कार्यकाे लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाइने आयाेगले जानकारी दिएकाे छ । त्यस्तै काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत आवश्यकताकाे आधारमा खटाइने भएकाे छ ।
यसैगरी आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाको लागि कर्मचारी काजमा लिइ कार्य गरिरहेकाे छ ।
यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाइने
निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने जनाएकाे छ ।
यसैगरी जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत, टेलिफोन, बैंक, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाको लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा नखटाइने व्यवस्था रहेकाे छ ।

