मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज बुधबार सार्वजनिक गर्दैछ । आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक तथा घोषणा गर्न लागेको हो ।
समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली सम्बन्धित दलहरुबाट प्राप्त भइसकेकाले आयोगले उनीहरूलाई निर्वाचित गरी अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।
अन्तिम परिणाम घोषणा पछि आयोगले प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने छ । निर्वाचन कानुनमा अन्तिम परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। साथै निर्वाचन प्रतिबेदन सम्बन्धित प्रदेश प्रमुख समक्ष बुझाईने आयोगले जनाएको छ ।
आयोगबाट निर्वाचन घोषणा भइ प्रतिबेदन प्राप्त भएपछि संसद बैठक संचालन र सरकार गठन प्रक्रिया अघि बढने कानूनी व्यवस्था रहेको छ ।
मकवानपुर । गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ । निर्वाचन आयाेगले आज समानुपातिक तर्फकाे समेत विजयी सांसदकाे घाेषणा गर्ने भएकाे छ । दलहरुले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् । दलहरुले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदहरुको नाम राष्ट्रपति समक्ष बुझाउने छ । आयाेगले सम्पूर्ण निर्वाचन परिणाम घाेषणा गरी जानकारी गराए पछि प्रदेश सभाकाे बैठक प्रक्रिया र प्रदेश सरकार गठनकाे प्रक्रिया अघि बढ्छ ।
प्रदेश सभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले गर्नेछन् प्रदेश सभा बैठकको अध्यक्षता
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानकाे धारा १८२ काे उपधार १ मा रहेकाे छ । सभामुख चयन नहुन्जेल प्रदेश सभामा प्रतिनिधित्व गर्ने जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था रहेकाे छ । प्रदेश सभा सचिवालयले उमेरका आधारमा सबैभन्दा पहिला ज्येष्ठ सदस्यको पहिचान गर्छ । ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ । ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य सभाका सदस्यहरुलाई शपथग्रहण गराउन प्रदेश सभा सचिवालयले सम्पूर्ण दल र सदस्यहरुमा सूचना जारी गर्छ । शपथ ग्रहणपछि सम्बन्धित दलहरुसँग सम्पर्क स्थापित गर्ने र दलहरुलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम प्रदेश सभा सचिवालयको हुन्छ ।
सबै दलहरुसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनका काम पनि प्रदेश सभा सचिवालयले गर्नेछ । पहिलो सर्वदलीय बैठकमा सबै दलको प्रतिनिधि रहने गरी बैठक बोलाउने र बैठकमा आगामी प्रदेश सभाको पहिलो बैठकको एजेण्डा के–के हुने ? के कस्ता विषयहरु लैजाने ? भन्ने बारेमा छलफल र निर्णय हुन्छ । साथै सोही सर्वदलीय बैठकमा नै सभाको अध्यक्षता गर्ने अध्यक्ष मण्डल चयन हुनेछ ।
सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कि नगर्ने ? भन्ने बारेमा निर्णय हुनेछ । साथै सोही बैठकमा नै दलहरुलाई सिट प्लान बारेमा पनि जानकारी प्रदेश सभासचिवालयले गराउँछ । प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष प्रदेश सभा बैठक आह्वानका लागि पत्र पठाउने व्यवस्था रहेकाे छ । प्रदेश प्रमुख कार्यालयले संसद आह्वानको पत्र संसद सचिवालयमा पठाइसकेपछि संसदमा ज्येष्ठ सदस्यले पढेर सुनाउनु पर्नेछ । संसद् आह्वानको पत्र पढेर सुनाइसकेपछि ज्येष्ठ सदस्य अध्यक्षबाट सदस्यहरुको स्वागत हुन्छ ।
त्यसपछी दलका नेताहरुले बोल्ने निर्णय सर्वदलीय बैठकमा तय भएमा दलका नेताहरुले सम्बोधन गर्नेछन । आगामी दिनमा सभामुख, उपसभामुखको निर्वाचन नभएसम्मका लागि बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको पनि सँगै चयन हुने र सोही बैठकमा यस बीचमा प्रदेश सरकारबाट कुनै अध्यादेशहरु जारी भएका भए ती अध्यादेशहरु पनि पहिलो बैठकमा पेस गर्नुपर्ने हुन्छ । दलहरुले सहमतिबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने कुरा सर्वदलीय बैठकमा नै टुंगो लागेको खण्डमा भने पहिलो बैठकबाट नै सभामुखको निर्वाचनको प्रक्रिया प्रारम्भ हुनेछ । संसदको पहिलो बैठकमा नै आगामी बैठकको बारेमा पनि जानकारी गराइने व्यवस्था रहेकाे छ ।
यस्तो हुन्छ प्रदेश सभामुखको निर्वाचन प्रक्रिया
त्यस्तै संविधानकाे धारा १८२ काे उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछ भन्ने व्यवस्था रहेकाे छ ।
प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेकाे छ । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्ने व्यवस्था संविधानकाे धारा १८३ले गरेकाे छ । पहिलाे बैठक आव्हान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने वयवस्था रहेकाे छ ।
ज्येष्ठ सदस्यकाे अध्यक्षतामा हुने प्रदेश सभाको बैठकबाट सभामुखको निर्वाचनको मिति तोक्ने व्यवस्था रहेकाे छ । सम्भवतः पहिलो बैठकबाट नै सभामुख र उपसभामुुखको निर्वाचनको मिति तोकिन सक्छ । प्रदेश सभाकाे बैठकबाट निर्वाचनको मिति निर्धारण भएपछि सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न प्रदेशसभा सचिवालयका सचिवलाई निर्देशन दिने व्यवस्था रहेकाे छ । त्यसपछि मात्रै प्रदेश सभा सचिवालयका सचिवले सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्ने छन् ।
सभामुखकाे निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसदमा बोल्नुपर्ने हुन्छ । त्यस्ता प्रस्तावक र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ । एक भन्दा बढी प्रस्ताव आए दर्ता क्रम अनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ । प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । एक मात्र प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नेछन ।
यसरी चुनिन्छ मुख्यमन्त्री
प्रतिनिधि सभाको बैठकबाट नै मुख्यमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ । र, निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ । तर यो निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेस सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेकाे छ ।
प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संविधानकाे धारा १६८ काे उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेकाे छ। संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
बैठकमा सदस्यको आसनको व्यवस्था
कुनै पनि पार्टीबाट प्रदेश सभामा निर्वाचित सदस्यका लागि पहिलो बैठक वा त्यसपछिका अरु बैठकको आसन छुट्टै हुने भन्ने व्यवस्था नरहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । पहिलो बैठकबाट नै सचिवालयले दलहरुसँग सम्पर्क स्थापित गरेर दलहरुकै राय, सल्लाह बमोजिम नै सत्तापक्ष, प्रतिपक्ष रहने सिटहरुको व्यवस्था गर्नेछ । सम्भव भएसम्म सबै दलहरुको कम्तीमा एक जना सदस्य अगाडि रहने गरी सचिवालयले सिटको व्यवस्थापन गर्नेछ । दलका नेताहरु सबैलाई अघि राख्ने गरी व्यवस्थापन गर्ने भनेपनि संसद् भवन साँघुरो भएका कारण व्यवस्थापनमा कठिनाइ हुने सचिवालयको भनाइ छ ।
बागमती प्रदेश सभा अधिवेशनको तयारी सकियोः सचिव खड्का
बागमती प्रदेशसभा सचिवालयले संसद्को नयाँ अधिवेशनकाे सबै तयारी पूरा गरेको जनाएको छ । नवनिर्वाचित सांसदहरूको स्वागत, शपथ ग्रहण, सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका तथा प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गर्नेबारे सचिवालयले सबै तयारी सकेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । कर्मचारी अभाव रहे पनि प्रदेशसभा भवनको रङरोगन तथा मर्मत, संसदीय समिति, दलको कार्यालय, चमेना गृह, मिडिया सेन्टरको स्थापना तथा सुरक्षाकर्मीको ब्यारेक व्यवस्थापनको काम सकिएको सचिव खड्काले जानकारी दिए ।
‘निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रदेश सभातर्फको निर्वाचनको अन्तिम परिणाम बुझाए पछि आयोगले अन्तिम परिणाम औपचारिक रूपमा सचिवालयलाई हस्तान्तरण गर्छ । त्यससँगै सांसदको शपथ ग्रहण, प्रदेशसभा बैठक र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने खड्काले बताउछन ।
मकवानपुर । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना फाइनल प्रवेश गरेको छ ।
नेपाली समय अनुसार मंगलबार राती १२:४५ बजे लुसेल रंगशालामा भएको पहिले सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउदै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाले खेलको ३४ मिनेटमा पेनाल्टी बाट १ गोलको अग्रता लिएको थियो ।
खेलको पहिलो हाफको ३९ औ मिनेटमा पुन १ गोल थपेको अर्जेन्टिनाले दोस्रो हाफको ६९ औ मिनेटमा क्रोएसियाको गोल पोष्टमा थप एक गोल गर्दै फाइनल प्रवेश गरेको हो । क्रोएसियाले खेल अबधि भर गोल गर्ने प्रयास सफल भएन ।
कतारमा विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलको यात्रा तय गरेका थिए । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४-२ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर सेमिफाइनल प्रवेश गरेको हो ।
कतार विश्वकपको दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्स बिच हुनेछ । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा हुनेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको क्वाटरफाइनल खेलबाट पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
विश्वकप अन्तर्गत फाइनल खेल अर्जेन्टिना र मोरक्को र फ्रान्स बिच हुने सेमिफाइनल बिजेता बिच पुस ३ गते हुने छ ।
मकवानपुर । बागमती प्रदेशको निर्माणधिन प्रदेश सभा सचिवालय अपाङमैत्री बनाउन माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको हो ।
महासंघले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो । हालको सचिवालय अपाङगमैत्री छैन । प्रदेश सभामा हाल रहेको भवन न्यूनतम पूर्वाधार समेत पुरा नभएको कारण समस्या भएपछि अहिले नयाँ भवन निर्माण कार्य जारी छ ।
महासंघका अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा पनि शारीरिक अपांगता भएका ह्विलचियर प्रयोगकर्ता सदस्यलाई सहज हुने गरी प्रदेशसभाको संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।
४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनबाट बागमती प्रदेशमा समानुपातिकतर्फबाट १ जना सदस्य अपाङ्गता भएको व्यक्ति छन् ।
स्पाइनल कर्ड इन्जुरीको कारण ह्विलचियर प्रयोगकर्ता सांसदलाई समेत सहज हुने गरी सचिवालय निर्माण गर्न ध्यानाकर्षण गराइएको हो ।
महासंघको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस प्रदेशमा पनि यसपटक शारीरिक अपांगता भएका प्रदेश सभा सदस्य निर्वाचित भएकाले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी प्रदेश सदस्यलाई सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गर्ने वातावरण मिलाउन माग गर्दछौँ ।’
यस्तै, ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख सचिव खड्काले नयाँ बन्ने प्रदेशसभा बैठकको निर्माण कार्य तिब्र गतिमा भइरहेको र उक्त भवनलाई अपाङ्गमैत्री बनाउनतत्काल पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
यसपटक बागमती प्रदेश सभामा रामेछापबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरे निर्वाचित भएकी छन् । बागमती प्रदेश सभाको सचिवालय गत बैशाखमा निर्माण सम्पन्न हुनुपर्नेमा काम नसिएपछि आगामी जेठसम्मको लागि म्याद थप गरिएको छ ।
सामान्य बिबाद हुँदा सरस्वतीको हत्या, स्थानीय रोज वाइबा पक्राउ
Tags: No Comments
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाकी सरस्वती वाइबाको मत्या भएको प्रहरी बयानमा खुलेको छ । मकवानपुर प्रहरीले अन्दाजी ३५ वर्षीय सरस्वतीको हत्य सामान्य विवादपछि भएको मकवानपुर प्रहरीले जनाएको छ ।
आज पत्रकार सम्मेलत गरेर मकवानपुर प्रहरीले यस्तो जानकारी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सरस्वती गत मंसिर १३ गतेदेखि बेपत्ता भएकी थिइन् । पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए ।
मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जादा मंसिर २४ गते शनिबार साँझ ७ बजेर ३० मिनेट समयमा शरिरमा लगाएको थोरै लुगा र टाउँको देखिने गरी ज्यामिरेस्थित स्थानीय रोज वाईबाको बारीमा गाडिएको अवस्थामा सरस्वतीको शव फेला परेको थियो । तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
सरस्वतीको शव फेला परेको भोलिपल्ट मंसिर २५ गते आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्ड पनि घटनास्थल पुगेको थियो । घटनास्थल पुगेको प्रहरी चौकी सिस्नेरी, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
कार्कीका अनुसार घटनास्थल हेर्दा सरस्वतीको हत्या भएको र उक्त घटनामा संलग्न रहेको आरोपमा आईतबार केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा पक्राउ परे रोज वाईबा । जो सरस्वतीको हत्यारा भएको भन्दै प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको रोजलाई पक्राउ पछि सोधपुछको क्रममा रोज आफैंले सरस्वतीलाई मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि प्रहरी समक्ष स्वीकार गरेको कार्कीले जानकारी दिए ।
प्रहरी समक्षको बयानमा रोजले भने, ‘घटना मंसिर १३ गतेको हो । म बाटोमा जाँदै थिए । उही बेला सरस्वती बाटोमा भेट भयो । मेरो र सरस्वतीबीच सामान्य भनाभन भयो । सोही क्रममा हाम्रो कुटाकुट पनि भयो । कुटपिटको क्रममा सरस्वती ढुंगामा ठोक्किन पुग्यो र उनको त्यही मृत्यु भयो । अनि मैले आफ्नै बारीमा खाल्टो खनेर गाडिदिए ।’
हत्यामा संलग्न रोज वाईबा र मृतक सरस्वती छिमेकी हुन् । पक्राउ परेका वाईबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
