मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज बुधबार सार्वजनिक गर्दैछ । आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक तथा घोषणा गर्न लागेको हो ।
समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली सम्बन्धित दलहरुबाट प्राप्त भइसकेकाले आयोगले उनीहरूलाई निर्वाचित गरी अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।
अन्तिम परिणाम घोषणा पछि आयोगले प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने छ । निर्वाचन कानुनमा अन्तिम परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। साथै निर्वाचन प्रतिबेदन सम्बन्धित प्रदेश प्रमुख समक्ष बुझाईने आयोगले जनाएको छ ।
आयोगबाट निर्वाचन घोषणा भइ प्रतिबेदन प्राप्त भएपछि संसद बैठक संचालन र सरकार गठन प्रक्रिया अघि बढने कानूनी व्यवस्था रहेको छ ।

