मकवानपुर । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले उपाधि हात पारेको हो । पेनाल्टी सुट आउटमा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी हुँदा यो उसको तेस्रो विश्वकप उपाधि हो ।
विश्वकप उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्सले कतारको लुसेल स्टेडियममा फाइनल खेलेका थिए । पहिलो हाफमा अर्जेन्टिनाले लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले २ गोलको अग्रता बनाएको थियो । तर, फ्रान्सका किलियान एम्बाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएका थिए ।
यसअघि १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । त्यसपछि खेल पेनाल्टीमा पुगेको थियो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी भएको हो ।
अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करण उपविजेता क्रोएसिया तथा फ्रान्सले पहिलोपटक सेमिफाइनल खेलेको मोरक्कोलाई हराएको थियो ।
विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी हात पारेको छ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो ।
यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने नियम रहेको छ ।
मकवानपुर । राष्ट्रपतिद्वारा विद्यादेवी भण्डारीद्वारा संघीय सरकार गठनको आह्वान गरेकी छिन् । गत मंसिरमा सम्पन्न निर्वाचनबाट सहभागी दलहरु मध्ये कसैकाे बहुमत नआए पछी बहुमतकाे सरकार गठनकाे लागि राष्ट्रपतिद्वारा भण्डारीले आह्वान गरेकी हुन् ।
नेपालकाे संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुने व्यवस्था छ । निर्वाचनबाट कुनैपनि राजनीतिक दलको बहुमत नपाए पछी राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार ७ दिन भित्र दुइ वा दुइ भन्दा बढी दलकाे सममर्थमा नयाँ सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
संविधानकाे धारा ७६ काे उपधारा २ काे व्यवस्था अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने जो सुकै प्रतिनिधि सभा सदस्य प्रधानमन्त्री बन्न सक्नेछ । राष्ट्रपतिकोआह्वानसँगै मुलुकले अबको एक सातामा नयाँ प्रधानमन्त्री पाउने छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रमुख राजनीतक दल र नेताहरु नयाँ सरकार गठनमा केन्द्रित हुने भएका छन् ।
प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० सांसद गरी २७५ जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेकाे छ । प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये साधारण बहुमत अर्थात १३८ जनाको समर्थनमा सरकार बनाउन राष्ट्रपतिले ताेकेकाे समय सिमामा दुई वा दुई भन्दा बढी दलहरुले बहुमत सांसदकाे दावी साथ पेस गर्नु पर्ने हुन्छ ।
अहिलेकाे स्पष्ट बहुमत कसैकाे नभएकाे अवस्थामा सत्ता गठबन्धनमा रहेका दलहरुकाे सरकार गरुठनकाे लागि प्रयास गर्नेछन् । अन्य बाँकी दलहरुले सरकार गठनकाे कसरत गर्ने अवस्था देखिदैन । अन्य दलले सरकार गठन प्रक्रिया अघी बढाउन गठबन्धन दल मध्येबाटै साथ लिनु पर्ने हुन्छ तर अहिलेकाे अवस्थामा त्याे संभव देखिदैन । सत्ता गठबन्धनसँग १ सय ३६ सांसद रहेकाे अवस्थामा उसले नै अन्य साना दललाई साथमा लिएर अघी बढ्ने छ । नयाँ सरकार गठनका लागि हाल सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले अन्य दलहरु जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाकाे समेत साथमा पहल गर्ने आंकलन गर्न सकिन्छ ।
तर, गठबन्धनभित्र को पहिला प्रधानमन्त्री हुने भन्ने विषयको टुंगो लागिसकेको छैन । यो विषयको टुंगो नलागेकाले गठबन्धनभित्र प्रधानमन्त्रीको आकांक्षी रहेका कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने अन्यौल छ ।
नेपाली कांग्रेसले आइतबार बैठक बसेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेको छ । गठबन्धनको सरकार बनाउन गठबन्धनका शीर्ष नेतादेखि अन्य नेताहरू समेत एकमत भएपनि कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषय नटुंगिएसम्म गठबन्धनकाे सरकार बन्ने विषय थप पेचिलो समेत हुने देखिन्छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधनी हेटौंडामा टाटा मोटर्सको एक्सपरेन्शियल ड्राइभकाे टेष्ट गरिएकाे छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा विद्धुतीय गाडी (इभी) को हेटौंडामा “एक्सपरेन्शियल ड्राइभ” नामक टेष्ट ड्राइभ कार्यक्रम गरिएकाे हाे ।
विद्युतीय गाडीमा रुची राख्ने ग्राहक, संघ संस्थासँग भेटघाट कार्यक्रम सहित आयोजना गरिएकाे “एक्सपरेन्शियल ड्राइभ” होटेल लिडोमा भएकाे हाे । पछिल्लो समय सन्तुलित वातावरण, न्यूनतम संचालन खर्च र अन्य विभिन्न दृष्टिकोणले इभी उपयुक्त भएको सिप्रदी कम्पनीले जनाएकाे छ । यसको बजार नेपालमा द्रुत गतिमा विस्तार भइरहेकोले टेष्ट ड्राइभ कार्यक्रमहरुमा सहभागीकाे संख्या उल्लेखनीय रहेको कम्पनीले बताएकाे हाे ।
हेटौडाका व्यावसायीक तथा प्रतिष्ठित व्यक्तिले समेत भाग लिएकाे कार्यक्रममा ग्राहकहरुलाई खरिद गर्न सहजताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता रहेकाे थियो। कम्पनीका अनुसार ‘टाटा ब्रान्डका टिगोर र नेक्सन इभीहरु अरु भन्दा विशेष भएकोले सफलता हासिल गर्दै गएकाे छ । कम्पनीले इभीहरु दक्षिण एसियासँगै नेपाली भूभाग लागि एकदम सुहाउँदो र नेपाली बजारमा सर्वाधिक रुचाइने गरेकाे बताएकाे छ ।
समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गर्नुका साथै नेक्सन इभीको बाहिरी र भित्री बनावट आकर्षक, बलियो एवं आरामदायी रहेकाे कम्पनीकाे दावी छ । यसको ग्राउन्ड क्लिएरेन्स पनि अन्य भन्दा उत्कृष्ट रहेकाे बताइएकाे छ।
मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित सांसदलाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेकाे हाे ।
आयोगको मुख्य कार्यालय काठमाडाैमा आयोजित प्रमाणपत्र वितरण समारोहमा समानुपातिक निर्वाचनका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
आयोगले गत मंसिर २८ गते समानुपातिक तर्फकाे निर्वाचन परिणाम प्रतिवेदन सार्वजनिक गरेको थियो । मंसिर २९ गते राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन बुझाएकाे आयाेगले शनिबार सात वटै प्रदेश प्रमुख समक्ष प्रदेशकाे निर्वाचन परिणाम प्रतिवेदन बुझाएकाे हाे ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरेकाे समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए । दुवाडीले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका थिए । समारोहमा आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त न्यून चापीय प्रणालीले गर्दा आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएकाे छ।
राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
सोमबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने र उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ। तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन महाशाखाकाे अनुरोध छ ।
