मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित सांसदलाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेकाे हाे ।
आयोगको मुख्य कार्यालय काठमाडाैमा आयोजित प्रमाणपत्र वितरण समारोहमा समानुपातिक निर्वाचनका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
आयोगले गत मंसिर २८ गते समानुपातिक तर्फकाे निर्वाचन परिणाम प्रतिवेदन सार्वजनिक गरेको थियो । मंसिर २९ गते राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन बुझाएकाे आयाेगले शनिबार सात वटै प्रदेश प्रमुख समक्ष प्रदेशकाे निर्वाचन परिणाम प्रतिवेदन बुझाएकाे हाे ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरेकाे समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए । दुवाडीले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका थिए । समारोहमा आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो ।

