मकवानपुर । मकवानपुरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आइतबार ६ हजार जनाले अवलोकन गरेको अनुमान गरिएको छ । महोत्सवको बाह्रौं दिन आइतबार करिब ४० लाख बराबरको कारोबार भएको अनुमान आयोजक मकवानपुर उद्योग संगले गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा माघ ११ गतेबाट सुरु भएको महोत्सवमा आइतबार युवा पुस्ता माझ चर्चित गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकहरुलाई नचाएकी थिइन् । उनले बोल माया…, लाउन्न दाजै पिरती…, भीर मौरी भीरैमा…, गलबन्दी च्यातियो…, ए फुलमाया यता आइजो…, हिमाल फुल हिउँमै सरेको…, सोल्टी बजारमा…, नयाँ नयाँ लुगा फेरे लगायत थुप्रै गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै आजै गायक सुजील कर्माचार्यले भुमो भुमा…, मानिलेउ संसारकै तिमी राम्री लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
महोत्सवको अन्तिम दिन भोली सोमबार चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भएको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । आइतबार आइडलबाट राजेश दर्नाल बाहिरेका छन् भने बाकीँ ५ जना फाइनल प्रवेश गरी आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् ।

महोत्सवमा आज आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।
मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्धक रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
मकवानपुर । बागमती प्रदेशसभाले कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । आज दिउँसो बसेको प्रदेश सभा बैठकले कार्यव्यवस्था परामर्श समितिको गठन गरेको हो ।
प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १३ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा सांसदहरुलाई मनोनयन गरिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार सांसदहरू ओमकुमारी श्रेष्ठ, आन्दकुमार श्रेष्ठ, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, मधुसुदन पौडेल, भारती पाठक, रत्नप्रसाद ढकाल, राधिका तामाङ, रामकृष्ण चित्रकार, शैलेन्द्रमान ब्रर्जाचार्य, सुरेन्द्रराज गोसाईँ, र हरिप्रभा श्रेष्ठलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको छ ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्य न्यायधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए। बैठक अब भोलि (सोमबार) दिउँसो १२ बजे बस्ने गरी स्थगित छ।
मकवानपुर । बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले पत्रकारहरुलाई हरेक क्षेत्रमा प्रदेश सरकारको सहयोग रहने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा आइतबार हटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रम मन्त्री श्रेठले यस्तो बताएका हुन् । प्रेस चौतारी मकवानपुरको आयोजनामा सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने “पत्रकार र पत्रकारिता क्षेत्रलाई हरेक क्षेत्रबाट सहयोग गरिनेछ,अहिलेको अवस्थामा कुनैपनि व्यावसायहरु धारासाही बन्दै गएको छ, पत्रकारिता क्षेत्रमा पनि समस्या शृजना भएप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”
नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले पत्रकारका निम्ती आफ्नो मन्त्रालयबाट पनि सक्दो सहयोग गर्ने बताए । उनले बिशेषगरी श्रम र रोजगार मुलक तालिम दिएर रोजगारी सृजना गर्ने तर्फ मन्त्रालय लागि परेको बताए ।
पत्रकारहरुले मन्त्री र सरकारलाई खुइल्याउने मात्र भन्दा पनि रचनात्मक सुझाब र सहयोग गर्न उनले आग्रह गरे । यातायात कार्यालयहरुमा हुँदे आएको समस्या र बिचौलीयाको समस्या हटाएरै छाड्ने उनले बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाँईले पत्रकारका विभिन्न संघसंस्था र महासंघलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । पत्रकारलाई परेका समस्या समाधानका लागि मकवानपुरबाट पत्रकार पेन्सन कोष र उपचार कोष स्थापना गरिएकाले त्यसका लागि सरकारले थप सहयोग गर्न आग्रह गरे ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, पार्टीका उपसचिब तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, पत्रकार महासंघका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपा बागमती प्रदेशका महासचिब प्रकाश दाहाल लगायतले सामाजिक उत्तरदायित्व सहितको मर्यादित पत्रकारीताको तर्फ सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापालगायत मकवानपुरका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । ठेकदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला, एक दुई हप्ता वा महिना ? तर हैन मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मुटुमै रहेको एउटा पुल निर्माण गर्न ठेक्का दिएको म्याद अबको ४ महिनामा सकिदैछ । तर काम भने ४ प्रतिशत पनि भएको छैन ।
उपमहनगरपालिकाको वडा न १ मा वर्षौदेखि महाकालको रुपमा रहेको तुइन विस्थापित गरेर पक्कि पुल निर्माण गर्न २ वर्ष अघि दिइएको ठेक्का अन्तरगत हालसम्म एउटा खाल्डो खन्नु बाहेक काम भएको छैन । पुल निर्माण गर्ने भनेपछि तुइन त विस्थापित गरियो तर पुल बनेन । अहिले स्थानीयहरु समस्या झेल्दै आएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणमा ढीलाइ हुँदा स्थानीयहरुले दबाब सुरु गरेका छन् । उपमहानगरपालिका १ स्थित लालकाडी र चौकीटोल जोड़ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनले निर्माण व्यवसायी शिवशक्ति,सिद्धार्थ शिवम जे भी मकवानपुरसंग ठेक्का सम्झौता गरेको थियो ।
२०८० जेठ १७ मा कार्य सम्पन्न गर्ने गरी २०७३ जेठ १८ गते भएको सम्झौता अनुसार काम नहुदा स्थानीयहरु मारमा परेका छन् । पुल निर्माणका लागि ८ करोड ४७ लाखमा भएको सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौता अनुसारको झण्डै ४० लाख बजेट बुझिसकेको छ तर काम अघि बढ्न सकेको छैन ।
२० महिना बितिसक्दा हालसम्म कामको सुरुवातको नाममा एउटा खाल्डो खनिएको छ । पुल निर्माण हुने भएपछि स्थानीयहरुले छोड्नु पर्ने जमिन छाडिसकेका छन् । “यहाँ छेउमा भएको घर, घट्ट हामीले हटाइसक्यौ, पुलमा जोडिने बाटो १५ मिटर क्लियर गर्न कुनै समस्या भएन” वडा अध्यक्ष सविन न्यौपानेले भने “सबै स्थानीयहरुले सहज वातावरणमा घर सारे, रोजिरोटी चल्दै आएका घट्ट झिके, बाटो विस्तार गर्न बिना मुअब्जा जग्गा छोडिदिएका छन्, यही पुल बन्न सकेन ।”
पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, उपमहानगरप्रमुख हरिबहादुर महत र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरु कै रोहवरमा निर्माण चाँडो गर्ने लिखित सहमतिको चाँङमात्रै लागेको तर काम नभएको न्यौपानेले बताए । “कागजी प्रक्रिया र सारा फलोअप भयो, अब हामी सडकमा जाने र उहाँलाई सडकमै बोलाउने बाहेकको काम बाँकी छैन” न्यौपानेले भने ।
स्थानीय रुपमा आइपर्ने समस्याहरुमा समेत पूर्णरुपमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धतासहित भइसकेको बेला ठकेदारले काम नगर्दा स्थानीयहरु आवतजावतमा समस्या भएको उनले बताए । खोलामा जोखिपूर्ण काठको पुल छ, कुनै पनि समय बालबालिका घटनामा पर्न सक्छन् स्थानीय संघर्ष समिति अध्यक्ष विनोद पौडेलले भने ।
कानुनतः सम्झौता गरेर जिम्मेवारी दिएको कार्यसमेत नगरी नेपाल सरकारको कानुनलाई समेत मिचिएको मनोमानी ढंगले कामप्रति हेलचक्रयाइ गरेको उनले बताए ।
यो पुल निर्माण नहुँदा यहाँबाट लालझाडी, मैनाटार, नकौली, लामीडाडा बांझोडाँडा र घ्याङसिङटार क्षेत्र सडक सञ्जाल राजमार्गसंग नजोडिदा स्थानीयवासीहरु आजित भएको टोल विकास संस्थामा अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए ।
देशमै तुइन विस्थापन गर्ने सरकारको नीतिबमोजिम तुइन विस्थापन भइली र सोही स्थानमा बन्न लागेको पुल समयमा सम्पन्न नहुँदा दैनिक आवतजावत गर्न अप्ठ्यरो परेको अध्यक्ष तिमल्सिनाले बताए ।

यो पुल बन्दा ३० हजार भन्दा बढी जनताहरु प्रत्यक्ष लाभ लिन सक्नेछन् । यसक्षेत्रमा उत्पादन भएको कृषि उपज बजार ल्याउन असहज पुल अभावकै कारण समस्या भएको वडा अध्यक्ष न्यौपानेले बताए । आफूहरुले पटक पटक ठेकदार कम्पनीलाई झकझक्याउँदा २ पटक सम्म “अब काममा रफ्तार बढाउने” लिखित सहमति भएको, तर त्यो दस्तावेज मन्त्रालयमा थन्किने र काम अघि नबढ्ने समस्या भएको न्यौपानेले बताए ।
“८ करोडको पुल निर्माण गर्न एउटा मिसेन ल्याएर यस्सो हल्लाउँदै हाम्रो आँखामा छारो हाल्ने काम भैरहेको छ, २० महिनामा एउटा खाल्डो पनि पुरा भएको छैन, यस्तो कम्पनीले कसरी काम गर्छ” तिमल्सिनाले भने ।
अबको एक सातासम्म पनि काम सुचारु नगरिए मन्त्रालय घेराउ तथा राजमार्गमा चक्काजाम गर्नेसम्मको चरणवद्ध आन्दोलन गर्न चेतावनी स्थानीयवासीले दिएका छन् । विगतमा यहाँको राप्तिखोला तुइनबाट पार गर्दा पटक पटक मानवीय क्षति भएको थियो ।
यसबारे प्रश्न गर्दा ठेकदार कम्पनीका फिल्ड इञ्चार्ज विष्ण्ु अर्यालले निर्माण अवधि थप गर्न माग गर्ने र अबको समयसिमा भित्र कुनै पनि हालमा काम सक्ने प्रतिक्रिया दिए । “हामीले यस अघि पुन निर्माणको काम गरेका थिएनौ, एक हिसाबले हामीलाई मिसिनरी पार्टपुर्जाको पनि समस्या भयो, र केही आइडियाको पनि कमी भयो” उनले भने “हेटौंडामा उपलब्ध भाडाका सामान ल्याएर काम थालियो तर, प्राविधिक काम भनेजस्तो सहज छैन, अब चाँडौ कामले रफ्तार लिने छ ।”
मकवानपुर । राक्सिराङ गाउँपालिका ५ स्थित बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले खानेपानी धाराको उद्घाटन गरे पछी उक्त योजना स्थानीय बाङदीराङ खानेपानी तथा सरसफाई योजना समितिलाई हस्तान्तरण गरेका हुन ।
रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको ३० वटा खानेपानी धारा शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । कुल बजेट १२ लाख ७० हजार ५ सय ६५ र श्रमदान ४ लाख ९० हजार ७ सय २५ रुपैयाँ गरी खानेपानी निर्माणमा जम्मा १७ लाख ६१ हजार २ सय ९० रुपैयाँ लागत रहेको बताईएको छ ।
खानेपानी योजना अन्तर्गत बाङदिराङका २८ घरधुरीमा खानेपानीको धारा जडान भएको छ । सबैजसो घरधुरीमा धारा पुर्याउने लक्ष्यका साथ खानेपानी योजना सञ्चालन रिकभर परियोजनाले जनाएको छ ।
खानेपानी, सिचाई, कृषि, आवासको कार्य क्षेत्र बनाउदै आएका सीआरएस नेपाल, लुमन्ती, सप्रोस नेपालको गाउँ बस्तिमा जागरण शिक्षासंगै व्यावसायिक रोजगारी मुलक बनाउन सफल रहेको प्रमुख घलानले बताए । त्यस्तै, खानेपानी तत्कालको लागि समस्या समाधान भए पनि दिर्घकालिन हुने गरि क्षेत्रअधिकार बढाउन समेत उनले आग्रह गरे ।

खानेपानी धारा उद्घाटन पछि समितिको कोषाध्यक्ष रुक्मिणी बर्तौलाले भनिन -‘पहिले खानेपानीको लागि धाउनु पर्ने हुन्थ्यो, महिला दिदीबहिनीको दैनिकी पानी ओसार्नु मै बित्थ्यो । सीआरएस नेपाल, लुमन्ती र सप्रोस नेपालको सहयोग पछि घरघरमै पानी आएको छ ।’ ‘हाल ३१ घरमा ३० वटा धारा संचालनमा आइसकेको छ’ उनले भनिन ‘धाराबाट खेरा गएको पानीबाट तरकारी बाली लगाएका छौ ।’
त्यस्तै, रिकभर परियोजना मार्फत निर्माण भएको घरको अनुगमन गरिएको छ । जसमा जिल्ला समन्वय समिति, भुकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुर, राक्सिराङ गाउँपालिका तथा वडा लगायतको टिमले अनुगमन गरिएको छ ।
समितिको अध्यक्ष हर्कबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख सानुकाजी लुईटेल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, डिएलपीयु प्रमुख रबिन पाठक, सीआरएस नेपालकी संजिता श्रेष्ठ, सप्रोस नेपालको कार्यक्रम संयोजक भानु लिम्बु, महेश्वर ढकाल लगायतको उपस्थिति थियो ।
