मकवानपुर । बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले पत्रकारहरुलाई हरेक क्षेत्रमा प्रदेश सरकारको सहयोग रहने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा आइतबार हटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रम मन्त्री श्रेठले यस्तो बताएका हुन् । प्रेस चौतारी मकवानपुरको आयोजनामा सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने “पत्रकार र पत्रकारिता क्षेत्रलाई हरेक क्षेत्रबाट सहयोग गरिनेछ,अहिलेको अवस्थामा कुनैपनि व्यावसायहरु धारासाही बन्दै गएको छ, पत्रकारिता क्षेत्रमा पनि समस्या शृजना भएप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”
नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले पत्रकारका निम्ती आफ्नो मन्त्रालयबाट पनि सक्दो सहयोग गर्ने बताए । उनले बिशेषगरी श्रम र रोजगार मुलक तालिम दिएर रोजगारी सृजना गर्ने तर्फ मन्त्रालय लागि परेको बताए ।
पत्रकारहरुले मन्त्री र सरकारलाई खुइल्याउने मात्र भन्दा पनि रचनात्मक सुझाब र सहयोग गर्न उनले आग्रह गरे । यातायात कार्यालयहरुमा हुँदे आएको समस्या र बिचौलीयाको समस्या हटाएरै छाड्ने उनले बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाँईले पत्रकारका विभिन्न संघसंस्था र महासंघलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । पत्रकारलाई परेका समस्या समाधानका लागि मकवानपुरबाट पत्रकार पेन्सन कोष र उपचार कोष स्थापना गरिएकाले त्यसका लागि सरकारले थप सहयोग गर्न आग्रह गरे ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, पार्टीका उपसचिब तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, पत्रकार महासंघका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपा बागमती प्रदेशका महासचिब प्रकाश दाहाल लगायतले सामाजिक उत्तरदायित्व सहितको मर्यादित पत्रकारीताको तर्फ सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापालगायत मकवानपुरका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

