सरस्वती पौडेल
आँखा भरी सपनाको थानै थान लिएर ।
बिहानै छुटेको छ जहाज जवान लिएर।
गाउँको बाँझो वारि छोडेर मुग्लानी भयो,
फर्केला अर्को बर्ष झोलामा मुग्लान लिएर।
मजदुर गर्नु नै छ चुलो ओभानो पार्नै पनि,
पाक्दैन जाउलो पनि हातमा ओदान लिएर।
दुधे बच्चा छोडेर कसरी जान सकेको होला,
उफ !पठायौ भगवान यो कस्तो ईमान लिएर ।
बेलुका झोलामा के खोज्दै छ सानी छोरीले,
मजदुर बाउ फर्केको छ मुहारमा थकान लिएर।
भरतपुर, चितवन
मकवानपुर । बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको हाे । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगाराम श्रेष्ठले जानकारी दिए ।
बुधबारकाे बैठकले प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य सहित ३ वटा निर्णय गरेको छ । बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारिका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।
मकवानपुर । २ महिना पछि मंगलबार बसेकाे बागमती प्रदेश सभाबाट २ वटा विधेयक पारित भएको छ । चैत १२ गतेकाे बैठकबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचार गरियोस् भनेर सदनमा पेस गरेका थिए । यसैगरी, मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ लाई विचार गरियोस् भनी प्रस्तुत गरेका थिए ।
आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै चिठ्ठाको व्यवस्थापन सम्बन्धमा व्यक्तिको सट्टा संस्थालाई चिठ्ठा सञ्चालन गर्न अनुमतिपत्र दिन उपयुक्त हुने सदस्यहरूको सुझावलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । उक्त बैठकमा चिठ्ठाको नियन्त्रण तथा व्यवस्थापन विधेयकमाथि प्रदेश सभा सदस्यहरु रामेश्वर श्रेष्ठ, केशव पौडेललगायतले सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावलीको नियम ११० को उपनियम १ लाई प्रस्तुत विधेयकको सम्बन्धमा निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्काे बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छन् ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई वटा घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
मंगलबार बिहान ११ बजेको समयमा राक्सिराङ ५ का गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले २ वटा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुडा जलेर नष्ट हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । घरमा लागेको आगो स्थानीयको सहयोगमा दिउँसो ४ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबई जहाजको १ इञ्जिनमा समस्या देखिए पनि अवतरण नगरी गन्तव्य तर्फ गएको छ ।
सोमबार राती उडेको केहिवेरमै १ वटा इञ्जिन फेल भइ झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो। पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाजमा उडेको केहीबेरमै समस्या देखिएको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’
अहिले त्रिभुवन विमानस्थलकाे अवस्था सामान्य भएकाे र विमान सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरिसकेको बताइएको छ । जहाज अहिले भारतकाे आकाशमा पुगेकाे बताइएकाे छ । दुवै इन्जिन नर्मल भनेर पाइलटले जानकारी गराएको विमानस्थलले जनाएको छ।
