मकवानपुर । २ महिना पछि मंगलबार बसेकाे बागमती प्रदेश सभाबाट २ वटा विधेयक पारित भएको छ । चैत १२ गतेकाे बैठकबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचार गरियोस् भनेर सदनमा पेस गरेका थिए । यसैगरी, मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ लाई विचार गरियोस् भनी प्रस्तुत गरेका थिए ।
आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै चिठ्ठाको व्यवस्थापन सम्बन्धमा व्यक्तिको सट्टा संस्थालाई चिठ्ठा सञ्चालन गर्न अनुमतिपत्र दिन उपयुक्त हुने सदस्यहरूको सुझावलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । उक्त बैठकमा चिठ्ठाको नियन्त्रण तथा व्यवस्थापन विधेयकमाथि प्रदेश सभा सदस्यहरु रामेश्वर श्रेष्ठ, केशव पौडेललगायतले सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावलीको नियम ११० को उपनियम १ लाई प्रस्तुत विधेयकको सम्बन्धमा निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्काे बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छन् ।

