मकवानपुर । मनोसामाजिक सु–स्वास्थ्यको सवालमा कोशिश मकवानपुरले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेशलाई अनुरोध पत्र बुझाएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेश अध्यक्ष अस्बिन लम्साललाई अनुराेध पत्र बुझाएका हुन् । अपाङ्गताको क्षेत्रमा गरेको नेतृत्वदायी भूमिकामा मनोसामाजिक सु स्वास्थ्यको सवाललाई पनि ग्रहण गर्न अनुरोध गरिएकाे हाे ।
“दश प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था अपाङ्ग महासंघमार्फत मनोसामाजिक स्वास्थ्यको सवालमा पनि ध्यान दिनको लागि हामीले अनुरोध गरेका हौं” कोशिस मकवानपुरको पैरवी अधिकृत सुनिरा लामाले भनिन् । महासंघ मार्फत सरोकारवाला निकायको हक हित र अधिकार सुनिश्चित गर्ने काममा आफूहरुले पनि हातेमालो गर्न चाहेको लामाले बताइन् ।
पछिल्लो जनगणना २०७८ साल अनुसार नेपालमा मनोसामाजिक अपाङ्गता भएकाहरु ४ दशमल २८ प्रतिशत अर्थात १३ हजार ७२ जना पुरुष र १४ हजार ९७३ जना महिला छन् । बागमती प्रदेशमामात्रै महिला २ हजार ७९७ जना र पुरुष २ हजार ८६३ जना रहेको छन् । मकवानपुर जिल्लामा महिला २३० र पुरुष २९४ रहेको
संयुक्त राष्ट्रसंघले जारि गरेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा १२ मा न्याय तथा कानुनी पहुंचमा अपाङ्गता भएका व्यक्तिहरुको समान पहुंच रहने सुनिश्चित गरेको छ । सो महासन्धिमा नेपालले पक्ष राष्ट्रको रुपमा हस्ताक्षर गरिसकेको छ । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई शुत्रबद्ध गर्ने उदेश्यले मकवानपुरको भिमफेदी लगाएतका हेटौडा उपमहानगर अर्न्तगतका वडाहरुमा सञ्जाल गठन भएको र बागमती प्रदेशको हकमा सञ्जालको गठन गरिएको छ । सञ्जालमार्फत अधिकारको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको उनले बताइन् ।
उक्त सञ्जाल मार्फत् प्रदेश तहदेखि स्थानिय तहसम्म विभिन्न किसिमका अधिकार सम्बन्धि बैठक, क्षमता अभिवृद्धि तथा ध्यानाकर्षण पत्र सम्प्रेषमा सक्रिय प्रतिनिधित्व रहदैं आएको लामाले बताइन् ।
जसको सवाल उसकै नेतृत्व भने झै मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका विभिन्न तह र तप्कामा अर्थपूर्ण प्रतिनिधित्व भएमा थप प्रभावकारी र न्यायोचित हुने भन्दै अनुरोध पत्र बुझाइएको हो । अनुराेध पत्र बुझ्दै अध्यक्ष लम्सालले आफू र आफ्नाे सँस्थागत सहकार्यमा कुनै कमी नआउने बताए।
कार्यक्रममा मनोसामाजिक अपाङ्गतामा रहेको व्यक्ति संगीता मोक्तान, अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक गणेश भण्डारीलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

