मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबई जहाजको १ इञ्जिनमा समस्या देखिए पनि अवतरण नगरी गन्तव्य तर्फ गएको छ ।
सोमबार राती उडेको केहिवेरमै १ वटा इञ्जिन फेल भइ झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो। पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाजमा उडेको केहीबेरमै समस्या देखिएको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’
अहिले त्रिभुवन विमानस्थलकाे अवस्था सामान्य भएकाे र विमान सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरिसकेको बताइएको छ । जहाज अहिले भारतकाे आकाशमा पुगेकाे बताइएकाे छ । दुवै इन्जिन नर्मल भनेर पाइलटले जानकारी गराएको विमानस्थलले जनाएको छ।

