नेपाली लघुकथामा बिशिष्ट लघुकथाकारको रुपमा पहिचान बनाइ सक्नु भएका सुमन सौरभसँग राजु क्षत्री अपुरोले लघुकथा कै बिषयमा केन्द्रित रहेर गर्नुभएको भलाकुसारी :
सर्वप्रथम आफ्नो पूरा परिचय र लेखन यात्रा बारे बताइदिनुहुन्छ कि ?
साहित्यको सन्दर्भमा वार्ता गर्दैगर्दा अन्य परिचयको चर्चाको अर्थ हुन्छ जस्तो लाग्दैन किनकी प्रत्येक मान्छे सयौँ “परिचय” बोकेर हिँडेको हुन्छ, सबैभन्दा बढी हुन्छ, नभन्दा कम हुन्छ । त्यसैले छरितोसँग भन्दा म आफ्नो स्कूलको समयदेखि नै साहित्यको विद्यार्थी हुँ । साहित्य पढ्ने र लेख्ने कोशिश पनि गर्ने मीठो लत बाल्यकालदेखि नै लाग्यो र लत अझै बढ्दोक्रममा जारी छ ।
सुनिन्छ, यहाँले लघुकथा बाहेक अन्य बिधामा त्यति कलम चलाउनु भएको छैन , यसको कारण जान्न सकिएला ?
प्रकाशनको परिमाणको हिसाबले धेरै लेखिएको र प्रकाशित भएको लघुकथा नै हो । अन्य बिधामा कलम नै नचलाएको भन्ने होइन । कुनै विषयलाई केन्द्रबिन्दु बनाएर नतन्काइकन लेख्दा लघुकथाको आयतन नै काफी छ, २५० शब्दमा धेरै कुरा भन्न सकिन्छ भन्ने अनुभव छ । संसारका ठूलाभन्दा ठूला पुस्तकलाई पनि लघुकथामा निचोर्न सकिन्छ भने लामो नै लेख्छु भनेर किन लागिपर्नु ? झन् लघुकथा नै लेख्छु भनेर सोचिसकेपछि अरू लामो नै किन सोच्नु ? मान्छे आफ्नो बानीको दास जो छ !
राजधानी र आसपास क्षेत्रमा बसोबास गर्ने साहित्यकारहरूले बाहिरका साहित्यकारलाई खासै महत्त्व नदिनुको कारण के हुन सक्ला ? अझ लघुकथाकारहरूमा पनि त्यो खालको रोग भएको बताइन्छ।यहाँको भनाई के छ ?
मान्छेका अनेकन मनोग्रन्थीहरू हुन्छ्न् । महत्व खोजि हिड्नेको लागि त के बाहिर के राजधानी, सबैले महत्व नदिएको जस्तो लाग्छ । दुईचारवटा सिर्जना मै वाहवाही होस्, प्रशंसा निरन्तर भैरहोस् भन्ने चाहना प्रारम्भमा सबैमा धेरथोर देखिन्छ ।अझ “मेरै सेरोफेरोमा दुनियाँ घुम्नुपर्ने हो” जस्तो आत्ममुग्धता उब्जेपछि अरुले मैले पाउनुपर्ने जति महत्व दिएनन् भन्ने लाग्छ । यो स्वभाविक हो तर रोग हो । रोग आफैँमा छ । साधनारत सर्जकले सिर्जनामा ध्यानस्थ हुनुपर्छ न कि प्रचारमा । समुहवाद, आफन्तवाद, चिनजानवाद, चियावाद र रेस्टुरेन्टवाद त जताततै चलिरहन्छ, कहिल्यै शून्य हुँदैन । साधनामय निरन्तरताको सिर्जना त अहिले नभए १०० वर्षपछि पनि चिहान खनेर निकालिने छन् !
लघुकथा के हो र कस्तो हुनुपर्ने हो ? यहाँले लघुकथालाई कसरी परिभाषित गर्नु भएको छ? आफ्नो धारणा राखिदिनु होस् न ?
जति सरल रूपमा बुझियो विषय त्यत्तिनै सजिलो हुन्छ भन्ने लाग्छ । लघुकथा नामै अनुसार लघु र कथाको संयुक्त रूप हो । लघु भनेपछि छोटो आकारको हुन्छ र कथा भनेपछि त्यसमा केही घटना घटित भएको हुन्छ । यो आख्यानको एउटा विधा हो र साहित्य हो । यस अर्थमा सहित्य जे हो, आख्यान जे हो, त्यही तत्वमा आधारित लघु आयतनको कथा नै लघुकथा हो । कस्तो कथा बनाउने, कुन रसमा चोपलेर लेख्ने, कथा भन्ने कुन शैली प्रयोग गर्ने, कथालाई कसरी सिँगार्ने क्यामराको एङ्गल कसरी मिलाउने , छोटो आयतनमा नै के के तत्व हालियो भने सिर्जना वजनदार बन्ला भन्ने विषय प्राविधिक कुरो हो जसको व्याख्या छोटो भनाइमा सकिँदैन ।
हाम्रो लघुकथा केन्द्रका गतिविधिलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
यो केन्द्र नाम परिवर्तन गरेर आएछ । नभने पनि बुझिने कुरो हो, थप महत्वाकांक्षी अभियान अनुसार नै यसो गरिएको हो, बधाई छ । यस केन्द्रका शुरुआत देखिनै म पनि बेलाबेलामा जोडिएको छु । तपाईँहरूको टिमको विविध गतिविधि लघुकथाको बिधागत उन्नति केन्द्रित छ र प्रशंसनीय छ ।
ऐतिहासिक रुपमा तयार गरिएको साहित्य बिधा मै पहिलो लघुकथाको गीतलाई केही स्थापित र अग्रजहरूले मुन्टो बटारेको समेत पाइयो। जब कि यतिको गीत अरुले निर्माण गरेका हुन्थे भने राष्ट्रिय स्तरमा चर्चा हुन्थ्यो। कनिष्ठहरूलाई महत्त्व नदिइएको हो या आफू भन्दा अगाडि बढ्न खोजे भनेर ईर्ष्या गरिएको हो ? यो बारे यहाँको आफ्नो भनाई के छ ?
यो प्रश्न बहुआयामिक खालको छ । “मुन्टो बटारेको ” प्रसंगमा कसैले त्यसो गरेको वा गर्नुपर्छ भन्ने लाग्दैन । गीतको विमोचनको साक्षी म पनि हुँ । गीतको माध्यमबाट लघुकथा विधाको समग्र ईतिहास नै प्रस्तुत गरिएको छ । त्यो सर्हानीय र नौलो कार्य हो । लघुकथामा लागिपरेका र फेसबुकमा जोडिएका सबै लघुकथाका सर्जकहरू ” लघुकथा गान” बाट परिचित होलान भन्ने लाग्छ, राष्ट्रियस्तरको चर्चा भनेको त्यो भन्दा पर के होला र ? तपाईँहरूको अपेक्षा अनुसार सबैले यसको गुणगान गरेनन् भन्ने हो भने त्यस्तो हुन्छ । मान्छेहरू आफ्नै अनुहार हेरेर मक्ख पर्ने जात हो । सयौंको भीड भएको फोटोमा पनि सबभन्दा पहिला आफ्नै अनुहार खोज्ने जात हो । तर ईर्ष्या नै त कसले र किन गर्नुपर्यो र !
नयाँ र लेख्दै गरिरहेकाहरूलाई यहाँले सुझाव दिनु पर्दा ?
साहित्यमा हामफाल्नु, लेख्दैगर्दा लघुकथा लेख्नु नितान्त आफ्नो रूचीको विषय हो । सकारात्मक सोचमा सिर्जनामा रमाउँ । नयाँदेखि पुराना भ्याएसम्मका सिर्जनाहरू पढौँ । अरुले प्रयोग गरेका केही राम्रो लागे आफ्नो सिर्जनामा पनि कोशिश गरौं, अरुमा केही गल्ती देखियो भने आफ्नो रचनामा त्यही प्रकारको गल्ती नदोहोरियोस् भनेर सचेत बनौँ । समग्र नेपाली साहित्यमा र विश्व सहित्यमा समेत हाम्रो रचना कुन स्थानमा छ भनेर प्रत्येक रचना, रचनाका प्रत्येक हरफ र हरफका प्रत्येक शव्दमा गम्भीर बनौँ । साहित्य सिर्जना इन्स्ट्यान्ट नुडल होइन भनेर आत्मसात गरौँ ।
२०० वटा सोचौँ, १०० वटा लेखौँ, ९० वटा फालौँ र १० वटा मात्रै प्रकाशित गरौँ । यसो गर्दा कसैलाई पनि हानी हुँदैन, फाइदा भनेको गुणवत्ताले पाउने हो ।
अन्तमा मैले सोध्न भुलेका , यहाँलाई भन्न मन लागेका केहि कुरा बांँकि छन् कि ?
साहित्य र आख्यान जस्तो विषयमा गरिने कुराकानी त जीवनभर सकिँदैन । समय र सन्दर्भ रहँदा थप बात मार्दै गरूँला नि ! छोटो मीठो वार्ताका लागि हार्दिक धन्यवाद ।

लघुकथाकार तथा हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं एड्मिन राजु क्षत्री अपुरोले हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा पोस्ट गर्नु भएको अन्तर्वार्ता हामीले साभर गरेका हौं । सम्पादक
पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण पक्राउ परेसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका इन्चार्ज एसएसपी दानबहादुर कार्कीले खाणका स्वकीय सचिव केसीलाई पनि पक्राउ गरिएको बताए।
नक्कली भटानी शरणार्थी प्रकरणमा खाणसँगै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन्। यसअघि प्रहरीले यो प्रकरणमा १० जनालाई पक्राउ गरिसकेको छ। उनीहरुले दिएको बयानका आधारमा खाण र उनका स्वकीय सचिव केसीलाई पक्राउ गरेको जनाइएको छ।
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।
कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ। स्राेत himalkhabar.com
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाणलाई बुधबार बिहान पक्राउ गरिएको हो। खाणलाई काठमाडौंको चाबहिलस्थित निवासबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका इन्चार्ज एसएसपी दानबहादुर कार्कीले हिमालखबरलाई बताए। “भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,” एसएसपी कार्कीले भने।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा यसअघि १० जना पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेकामध्ये हाइप्रोफाइल व्यक्ति उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसँग जोडिएका पूर्व गृहमन्त्री खाण अनुसन्धानको घेरामा तानिएका हुन्। पूर्व गृहसचिव समेतका रहेका पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।
पाण्डेको मोबाइलबाट समेत खाण यो प्रकरणमा प्रत्यक्ष जोडिएको ‘क्लू’ भेटिएको प्रहरीको दाबी छ। वाट्सएप मार्फत गिरोहका बिचौलियासँग कुराकानी गर्दा पाण्डेले मन्त्री खाणको नाम बारम्बार लिएको भेटिएको जनाइएको छ।
खाण गृहमन्त्री बनेको एक महीनापछि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए।
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।
कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।
केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। यसमध्ये दुलाल र शर्मा गिरोहका मुख्य योजनाकार भएको प्रहरीको दाबी छ। दाङ, कास्की, झापा र मोरङका पीडित बढी छन्।
बिचौलियासम्म सरकारी कागजात पुर्याउन पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृह प्रशासनको नेतृत्व गर्ने सचिवको भूमिका देखिएको प्रहरीको भनाइ छ। प्रहरीले यो अवधिमा गृहसचिव र गृहमन्त्री बनेका सबैलाई अनुसन्धानको दायरामा तानेको छ।
स्राेत www.himalkhabar.com
मकवानपुर । आर्थिक मन्दी बढीरहेको बेलामा यसै अनुसार अघि बढ्ने भन्दै बागमती प्रदेशको बजेटको आकार घटाउन सुझाव दिएका छन् ।
आज बसेको सर्वदीय संयन्त्रको बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । आथिक वर्ष २०८०।०८१ को लागि बजेटको आकार कस्तो रहने भन्नेबारे छलफल भएको थियो ।
आगामी आर्थिक वर्षमा घटाउन राय संकलन भएको प्रदेश सरकारका अर्थमन्त्री मन्त्री बहादुरसिं लामाले बताए। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० करोड ९३ लाखको बजेट ल्याएको थियो।
बागमती प्रदेश सभाहलमा बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटको विषयमा छलफल गरेको थियो । सर्वदलीय बैठकले प्रदेशमा आवश्यक नीति तथा कार्यक्रमको बिषयमा छलफल गरेको प्रदेशका अर्थमन्त्री लामाले बताए। बजेट कुन क्षेत्रमा कसरी प्राथमिकता दिंदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल भएको मन्त्री लामाले बताए।
“प्रदेश सरकारलाई कसरी प्रभावकारी नीति तथा कार्यक्रम बनाउने भन्ने विषयमा छलफल भयो, राम्रै सुझाव आएको छ” उनले भने, ।
‘बजेटमा के विषयलाई फोकस गर्ने, कस्तो प्रकारको कार्यक्रमलाई प्राथमिकता दिने, दिगो विकास लक्ष्यका अवधारणालाई ख्याल गरेर कसरी बजेट बनाउने भन्ने विषयमा छलफल गरिएको उनले बताए ।
शैक्षिक अवस्थामा सुधार ल्याउने, कृषिलाई प्रवद्र्धन गर्ने, भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने गरी बजेट ल्याउने बारे छलफल भएको उनले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा उद्यमशिलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा ४ वडा कार्यालयको लगानी तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा कार्यक्रम हुने भएको हो ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । आगामी ५ जेठमा हुने प्रतियोगितामा हेटौंडाको १९ वटा वडाको उद्यामीहरु तथा नृत्य टोलीहरुको सहभागीता रहने छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रियता उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हेटौंडा ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
प्रदर्शनीमा सहभागीहरुको मूल्याङ्कनको आधारमा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ र सान्तवना हुने २ वटालाई नगद ५ हजार रुपैयाँ प्रदान गर्ने छ ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका सचिव राजेन्द्र चौलागाईको संयोजकत्वमा व्यवस्थापन मूल समिति रहेको छ । यसैगरी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई नगद ३५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद २० हजार रुपैयाँ र सान्त्वना हुनेलाई नगद १० हजार रुपैयाँ २ वटा समूहलाई प्रदान गरिने छ ।
नृत्य प्रतियोगिताको लागि एक वडाको एक समूह मात्रै रहने र टोल विकास संस्थाको समन्वय समिति मार्फत समूह दर्ता गरिने छ । नृत्य प्रतियोगिताको व्यवस्थापन समितिको संयोजकमा हरि गोपाल सापकोटा रहेका छन् ।
जेठ ५ गते हुने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा टोल विकास नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, हेटौंडा ४ नम्वर वडा कार्यालयका सचिव टीका कडेंललगायतको आतिथ्यता रहेको थियो ।
