नेपाली लघुकथामा बिशिष्ट लघुकथाकारको रुपमा पहिचान बनाइ सक्नु भएका सुमन सौरभसँग राजु क्षत्री अपुरोले लघुकथा कै बिषयमा केन्द्रित रहेर गर्नुभएको भलाकुसारी :
सर्वप्रथम आफ्नो पूरा परिचय र लेखन यात्रा बारे बताइदिनुहुन्छ कि ?
साहित्यको सन्दर्भमा वार्ता गर्दैगर्दा अन्य परिचयको चर्चाको अर्थ हुन्छ जस्तो लाग्दैन किनकी प्रत्येक मान्छे सयौँ “परिचय” बोकेर हिँडेको हुन्छ, सबैभन्दा बढी हुन्छ, नभन्दा कम हुन्छ । त्यसैले छरितोसँग भन्दा म आफ्नो स्कूलको समयदेखि नै साहित्यको विद्यार्थी हुँ । साहित्य पढ्ने र लेख्ने कोशिश पनि गर्ने मीठो लत बाल्यकालदेखि नै लाग्यो र लत अझै बढ्दोक्रममा जारी छ ।
सुनिन्छ, यहाँले लघुकथा बाहेक अन्य बिधामा त्यति कलम चलाउनु भएको छैन , यसको कारण जान्न सकिएला ?
प्रकाशनको परिमाणको हिसाबले धेरै लेखिएको र प्रकाशित भएको लघुकथा नै हो । अन्य बिधामा कलम नै नचलाएको भन्ने होइन । कुनै विषयलाई केन्द्रबिन्दु बनाएर नतन्काइकन लेख्दा लघुकथाको आयतन नै काफी छ, २५० शब्दमा धेरै कुरा भन्न सकिन्छ भन्ने अनुभव छ । संसारका ठूलाभन्दा ठूला पुस्तकलाई पनि लघुकथामा निचोर्न सकिन्छ भने लामो नै लेख्छु भनेर किन लागिपर्नु ? झन् लघुकथा नै लेख्छु भनेर सोचिसकेपछि अरू लामो नै किन सोच्नु ? मान्छे आफ्नो बानीको दास जो छ !
राजधानी र आसपास क्षेत्रमा बसोबास गर्ने साहित्यकारहरूले बाहिरका साहित्यकारलाई खासै महत्त्व नदिनुको कारण के हुन सक्ला ? अझ लघुकथाकारहरूमा पनि त्यो खालको रोग भएको बताइन्छ।यहाँको भनाई के छ ?
मान्छेका अनेकन मनोग्रन्थीहरू हुन्छ्न् । महत्व खोजि हिड्नेको लागि त के बाहिर के राजधानी, सबैले महत्व नदिएको जस्तो लाग्छ । दुईचारवटा सिर्जना मै वाहवाही होस्, प्रशंसा निरन्तर भैरहोस् भन्ने चाहना प्रारम्भमा सबैमा धेरथोर देखिन्छ ।अझ “मेरै सेरोफेरोमा दुनियाँ घुम्नुपर्ने हो” जस्तो आत्ममुग्धता उब्जेपछि अरुले मैले पाउनुपर्ने जति महत्व दिएनन् भन्ने लाग्छ । यो स्वभाविक हो तर रोग हो । रोग आफैँमा छ । साधनारत सर्जकले सिर्जनामा ध्यानस्थ हुनुपर्छ न कि प्रचारमा । समुहवाद, आफन्तवाद, चिनजानवाद, चियावाद र रेस्टुरेन्टवाद त जताततै चलिरहन्छ, कहिल्यै शून्य हुँदैन । साधनामय निरन्तरताको सिर्जना त अहिले नभए १०० वर्षपछि पनि चिहान खनेर निकालिने छन् !
लघुकथा के हो र कस्तो हुनुपर्ने हो ? यहाँले लघुकथालाई कसरी परिभाषित गर्नु भएको छ? आफ्नो धारणा राखिदिनु होस् न ?
जति सरल रूपमा बुझियो विषय त्यत्तिनै सजिलो हुन्छ भन्ने लाग्छ । लघुकथा नामै अनुसार लघु र कथाको संयुक्त रूप हो । लघु भनेपछि छोटो आकारको हुन्छ र कथा भनेपछि त्यसमा केही घटना घटित भएको हुन्छ । यो आख्यानको एउटा विधा हो र साहित्य हो । यस अर्थमा सहित्य जे हो, आख्यान जे हो, त्यही तत्वमा आधारित लघु आयतनको कथा नै लघुकथा हो । कस्तो कथा बनाउने, कुन रसमा चोपलेर लेख्ने, कथा भन्ने कुन शैली प्रयोग गर्ने, कथालाई कसरी सिँगार्ने क्यामराको एङ्गल कसरी मिलाउने , छोटो आयतनमा नै के के तत्व हालियो भने सिर्जना वजनदार बन्ला भन्ने विषय प्राविधिक कुरो हो जसको व्याख्या छोटो भनाइमा सकिँदैन ।
हाम्रो लघुकथा केन्द्रका गतिविधिलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
यो केन्द्र नाम परिवर्तन गरेर आएछ । नभने पनि बुझिने कुरो हो, थप महत्वाकांक्षी अभियान अनुसार नै यसो गरिएको हो, बधाई छ । यस केन्द्रका शुरुआत देखिनै म पनि बेलाबेलामा जोडिएको छु । तपाईँहरूको टिमको विविध गतिविधि लघुकथाको बिधागत उन्नति केन्द्रित छ र प्रशंसनीय छ ।
ऐतिहासिक रुपमा तयार गरिएको साहित्य बिधा मै पहिलो लघुकथाको गीतलाई केही स्थापित र अग्रजहरूले मुन्टो बटारेको समेत पाइयो। जब कि यतिको गीत अरुले निर्माण गरेका हुन्थे भने राष्ट्रिय स्तरमा चर्चा हुन्थ्यो। कनिष्ठहरूलाई महत्त्व नदिइएको हो या आफू भन्दा अगाडि बढ्न खोजे भनेर ईर्ष्या गरिएको हो ? यो बारे यहाँको आफ्नो भनाई के छ ?
यो प्रश्न बहुआयामिक खालको छ । “मुन्टो बटारेको ” प्रसंगमा कसैले त्यसो गरेको वा गर्नुपर्छ भन्ने लाग्दैन । गीतको विमोचनको साक्षी म पनि हुँ । गीतको माध्यमबाट लघुकथा विधाको समग्र ईतिहास नै प्रस्तुत गरिएको छ । त्यो सर्हानीय र नौलो कार्य हो । लघुकथामा लागिपरेका र फेसबुकमा जोडिएका सबै लघुकथाका सर्जकहरू ” लघुकथा गान” बाट परिचित होलान भन्ने लाग्छ, राष्ट्रियस्तरको चर्चा भनेको त्यो भन्दा पर के होला र ? तपाईँहरूको अपेक्षा अनुसार सबैले यसको गुणगान गरेनन् भन्ने हो भने त्यस्तो हुन्छ । मान्छेहरू आफ्नै अनुहार हेरेर मक्ख पर्ने जात हो । सयौंको भीड भएको फोटोमा पनि सबभन्दा पहिला आफ्नै अनुहार खोज्ने जात हो । तर ईर्ष्या नै त कसले र किन गर्नुपर्यो र !
नयाँ र लेख्दै गरिरहेकाहरूलाई यहाँले सुझाव दिनु पर्दा ?
साहित्यमा हामफाल्नु, लेख्दैगर्दा लघुकथा लेख्नु नितान्त आफ्नो रूचीको विषय हो । सकारात्मक सोचमा सिर्जनामा रमाउँ । नयाँदेखि पुराना भ्याएसम्मका सिर्जनाहरू पढौँ । अरुले प्रयोग गरेका केही राम्रो लागे आफ्नो सिर्जनामा पनि कोशिश गरौं, अरुमा केही गल्ती देखियो भने आफ्नो रचनामा त्यही प्रकारको गल्ती नदोहोरियोस् भनेर सचेत बनौँ । समग्र नेपाली साहित्यमा र विश्व सहित्यमा समेत हाम्रो रचना कुन स्थानमा छ भनेर प्रत्येक रचना, रचनाका प्रत्येक हरफ र हरफका प्रत्येक शव्दमा गम्भीर बनौँ । साहित्य सिर्जना इन्स्ट्यान्ट नुडल होइन भनेर आत्मसात गरौँ ।
२०० वटा सोचौँ, १०० वटा लेखौँ, ९० वटा फालौँ र १० वटा मात्रै प्रकाशित गरौँ । यसो गर्दा कसैलाई पनि हानी हुँदैन, फाइदा भनेको गुणवत्ताले पाउने हो ।
अन्तमा मैले सोध्न भुलेका , यहाँलाई भन्न मन लागेका केहि कुरा बांँकि छन् कि ?
साहित्य र आख्यान जस्तो विषयमा गरिने कुराकानी त जीवनभर सकिँदैन । समय र सन्दर्भ रहँदा थप बात मार्दै गरूँला नि ! छोटो मीठो वार्ताका लागि हार्दिक धन्यवाद ।

लघुकथाकार तथा हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं एड्मिन राजु क्षत्री अपुरोले हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा पोस्ट गर्नु भएको अन्तर्वार्ता हामीले साभर गरेका हौं । सम्पादक

