मकवानपुर । मकवानपुरकाे हेटौडा स्थित राप्ती खाेलामा विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशन गरिएकाे छ । बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरण पूर्व तयारीकाे लागि सशस्त्र प्रहरी वल नेपाल नं १४ गण मकवानपुरले डेमो प्रर्दशन गरेको हाे ।
सोमबार सशस्त्र प्रहरी वल नेपाल नं १४ गणले हेटौडा ११ स्थित राप्तीखोलामा विपदले पुन्याउने क्षतिलाई न्यूनिकरण गर्ने जल विपद उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरेकाे थियाे । प्रकोप पश्चात उद्धार सुरक्षकर्मीहरुको भूमिका र सूचना प्रबाहमा ध्यान दिनेलगायतका अभ्यास सशस्त्र प्रहरीद्वारा प्रस्तुत गरिएको थियो ।
डेमाे प्रर्दशनमा हेटौडा उपमहानगरपालीकाका मेयर मिना कुमारी लामाले विपद्को बेलामा हतोत्साहित नभईकन स्थानिय श्रोत साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफू सुरक्षित रहनुका साथै अन्य व्यक्तिहरुलाई समेत सुरक्षित गराउन सकिने बताइन । विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशनबाट व्यक्ति तथा समुदायलाई यस्ता अभ्यासहरुले चेतना फैलाउने उनले बताइन् । मेयर लामाले बिपदबाट सुरक्षित बनाउन सामाग्रीहरु खरिदका लागि उपमहानगरले थालनी गरिसकेको बताउदै बिपद आउनुपुर्वनै यसबाट सचेत रहन नागरिकहरुलाई आग्रह समेत गरिन । सशस्त्र प्रहरी बलले हेटौडामा बिभिन्न समयमा आईपरेका बिपदका घट्नामा खेलेको भूमिकाबारे प्रसंसा गर्दै उपमहानगर हरेक कार्यमा सहयोग गर्न तत्पर रहेकाे उनले बताइन् ।
यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिब धुर्व गैडाले सशस्त्र प्रहरीद्वारा सचेतनाका लागि बिपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधनकाे कम क्षति हुने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बिपदका बेला सबैभन्दा पहिला मानवीय क्षतिबाट बच्ने उपायहरु अबलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताए । जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिन तर्फ लाग्नु पर्ने पाण्डेले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भूकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानविय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको जानकारी दिए । ‘नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण जनधनको क्षति हुने गरेको छ’ गणपती कार्कीले भने– ‘कुनै पनि विपद् र विपद्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालीम प्राप्त दक्ष जनशक्ति उत्पादनका यस्ता कार्यक्रम आयोजना गरिएकाे हाे ।’ कार्कीले विभिन्न किसिमका प्रकोपबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरीएको बताए ।
अभ्यासमा उद्वारकहरुले पानी जन्य विपदबाट बच्नको लागि स्थानीय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । विपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिने,घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगाएतका प्रयोगहरु देखाईएको थियो ।
कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपति गोविन्दराज घिमिरे,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतम, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल, हेटाैडा उपमहनागरपालिकाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु,विभिन्न स्कुलका शिक्षक एवं विद्यार्थीहरु तथा स्थानीयहरुले विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशन अवलोकनमा सहभागी थिए । ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले १ वर्षकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित पदाधिकारीहरुकाे कार्यकाल १ वर्ष पुगेमा प्रगति विवरण सार्वजनिक गरेकाे हाे । गत वर्ष जेठ ५ गते पदभार ग्रहण गरेका जनप्रतिनिधिहरुकाे १ वर्ष कार्यकालकाे प्रगति विवरण सोमबार एक कार्यक्रमका विच सार्वजनिक गरिएकाे हाे ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचन भएका जनप्रतिनिधिहरुले सार्वजनिक जवाफदेहितालाई महत्व दिदै गाउँपालिका कार्यालय र पालिकाका ९ वटै वडा कार्यालयबाट चुस्त रुपमा सेवा प्रवाह भइरहेकाे प्रगति विवरण सार्वजनिक कार्यक्रममा बताइएकाे छ ।
यसैगरी नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ स्थानीय सरकारलाई दिएकाे एकल अधिकार र ती अधिकार क्षेत्र भित्र रहेर निर्वाचित जनप्रतिनिधिहरुबाट घरदैलोमा सेवा प्रवाह लगायत विकास क्रियाकलाप संचालन गरिएकाे पालिकाले जनाएकाे छ ।
मनहरी गाउँपालिकाले सार्वजनिक गरेकाे १ वर्षकाे प्रगति विवरणको भिडियो हेर्नुहाेसः
मकवानपुर । बागमती प्रदेश प्रमुखले प्रदेश सभाबाट पारीत भइ प्रमाणीकरणको लागि प्राप्त १ बिधेयक प्रदेश सभामा फिर्ता गरेका छन । प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि प्राप्त बिधेयक पहिलो पटक प्रदेशसभामा फिर्ता गरिएको हो ।
बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले ‘‘प्रदेश स्तरको चिठ्ठा ब्यावस्थापन तथा नियन्त्रण गर्ने सम्वन्धमा ब्यावस्था गर्न बनेको बिधेयक’’ प्रदेश सभामा फिर्ता गरेका हुन । ।
प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष प्राप्त बिधेयक पुनर्विचारका लागि फिर्ता गरिएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता गोबिन्दप्रसाद पौडेलले जानकारी दिए ।
बैशाख १२ गते प्रदेशसभाबाट पारित भै प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष उक्त बिधेयक पेश गरिएको थियो । नेपालको संबिधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचार हुन आबस्यक रहेको सन्देश सहित बिधेयक प्रदेशसभामा फिर्ता गरिएको प्रबक्ता पौडेलले बताए ।
संघीय सरकारको चिठ्ठा ऐन २०२५ संग बाझिएको, अबैध सम्पति सुद्धीकरण गर्नका लागि मद्दत पुग्ने, संघ र प्रदेश सरकारको साझा सूचीमा पर्ने लगायतका कारणले प्रदेश प्रमुखले उक्त बिधेयक प्रदेशसभा मै पुनर्विचारको लागि फिर्ता गरेको बताइएको छ ।
प्रदेश प्रमुखबाट फिर्ता गरिएको बिधेयक सम्बन्धमा अबको प्रदेश सभा बैठकमा सभामुख भुवन कुमार पाठकले जानकारी गराउनु पर्नेछ । संबैधानिक ब्यबस्था अनुसार सभामा फिर्ता बिधेयक माथि पुन छलफल गरी परिमार्जनसहित पारीत गरि प्रमाणीकरणको लागि पुन: पठाउन सकिने छ ।
मकवानपुर हर्नमाडीको गीत सार्वजनिक (म्युजिक भिडियो सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हर्नमाडीको ऐतिहासिकता समेटिएकाे हर्नामाडी मकवानपुर बाेलकाे गीत र म्युजिक भिडियो सार्वजनिक भएकाे छ । हाल हेटौडा १८ हर्नामाडी (तत्कालिन हर्नामाडी गाविस) तथा यस स्थानसँग जोडिएका ऐतिहासिक महत्व गीतमा समेटिएको छ ।
हर्नामाडीका स्थायी बासिन्दा समेत रहेका ओकिलराज बानियाको युवट्युव च्यानल मार्फत सार्वजनिक गीत मकवानपुरकाे ऐतिहासिक गढी दरबार, राजदेवी मन्दिर, हर्नामाडी फाँट, गुम्बाडाडा लगायतका स्थानमा छायाङ्कन गरिएको छ । गीतको शब्द रचना ओकिलराज बानियाँले गरेका हुन भने स्वर गीतकार बानियाँ र अस्मिता थापाको रहेको छ ।
गीतमा सुमन तामाङ नेटिभ स्टुडियोले संगीत भरेका छन भने गीतको म्युजिक भिडियोमा नृत्य निर्देशक प्रनिश घिमिरे रहेका छन । गीतकार बानियाँले निर्देशन गरेको भिडियोमा क्यामरा तथा सम्पादन मनोज दाहालले गरेका छन ।
मकवानपुर गढिदरबार राजदेवी मन्दिर गुफास्थान हर्नाफाँट लगाएतका क्षेत्रको महत्व दर्शाइएको भाव रहेको गीतको भिडियोमा बानियाँसहित अस्मिता भट्टराई, मनिशा क्षेत्री, सबिना खतिवडा, लक्ष्मी घलान, प्रमिश अधिकारी, स्वस्तिका बानियाँ, आशिष बिक, सुस्मिता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन ।
गीतकार बानियाँका अनुसार सेन वंशीय राजाले राज्य गरेकाे हर्नामाडी लगायतकाे क्षेत्रकाे ऐतिहासिक महत्व नयाँपुस्तालाई बुझाउन तथा प्रचार प्रसारकाे लागि गीतले सहयाेग पुग्नेछ ।
मकवानपुर । दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रतियोगिताकाे दोस्राे संस्करणको जेठ ७ गते आइतबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेसंगै प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, प्रदेशका जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शनी, ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजी सहित सांङ्गीतिक प्रस्तुती भएको थियो ।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएकाे प्रतियोगितामा १३ खेल समावेश गरिएकाे छ भने २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कास्य गरी ७ सय ९४ पदका लागि प्रतिस्पर्धा हुने बताइएकाे छ । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको पुरुष फुटबल र एथ्लेटिक्स् हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ भने महिला फुटबल हेटौडाकाे गौरीटार रंगशालामा हुनेछ । हेटौंडा–४ स्थित हुप्रचौरमा भलिबल, रग्वी, कराँते, तेक्वान्दो, आईटीटीफ र तेक्वान्दोको खेल हुनेछ ।
त्यस्तै बक्सिङ्ग महिला र पुरुष खेल हेटौंडा–४ स्थित कर्भड हलमा हुनेछ भने व्याटमिन्टन महिला र पुरुष हेटौंडा–११ थानाभ¥याङ्गस्थित कर्भड हलमा हुनेछ । जुडो काठमाडौं, उसु त्रिपुरेश्वर, क्रिकेट चितवन, पौडी सादोबाटो ललितपुरमा हुने तय भएको भएको सदस्य सचिव भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा १ हजार ७५ महिला र १ हजार ४ सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै १ सय ७३ प्रशिक्षक, १ सय ४२ व्यवस्थापक, २ सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।
दोस्राे संस्करणकाे प्रतियोगिता जेठ १३ गते शनिबार समापन हुने कार्यतालिका रहेकाे छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित बामगती प्रदेश खेलकुद बिकास परिषदले देशमै पहिलो पटक प्रदेश स्तरको खेलकुद प्रतियोगिता गत बर्ष आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा गत वर्ष ८ वटा विधामा खेल खेलाइएको मा दोस्रो संस्करणमा ५ खेल थप गर्दै १३ बिधामा प्रतियोगिता हुने भएको हो ।
प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेश समुह तयार र खेलाडीलाई नियमित अभ्यास एवम् प्रशिक्षणको उद्देश्यका साथ दोस्रो वर्ष पनि प्रतियोगिता सुरु गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
यस्तै दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको मस्कटको रुपमा लोपन्मुख सालकलाई प्रयोग गरिएको छ । मकवानपुरको शानको रुपमा मान्ने गरिएको सालकलाई मस्कटको रुपमा प्रयोग गरिएको हो ।
‘किसानको साथी’ को रुपमा हेर्ने गरिएको सालक संरक्षणको पहल स्वरुप मस्कटको रुपमा प्रयोग गरिएको बागमती प्रदेश खेलकुद परिषद कार्यालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, ओलम्पियन खेलाडी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

