मकवानपुर । हेटौंडामा भएकाे पर्यावरण सम्बन्धी खुला कविता प्रतियोगितामा रिजन राना प्रथम भएका छन् । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले विश्व वातावरण दिवस– २०८० को अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तरगत बुधबार पर्यावरण सम्बन्धी खुला कविता प्रतियोगिता आयाेजना गरेकाे हाे ।
प्रतियोगितामा किशन पौडेल द्वितिय, बैकुन्ठ लामिछाने तृतिय, ईश्वर थापा र स्वस्तिका बानियाँ सान्तना भएका छन् । विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार, ७५ सय र ५/५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र विश्व वातावरण दिवसको समापन कार्यक्रमका दिन प्रदान गरिने आयोजकले जनाएको छ । सर्जक सञ्जाल मकवानपुरको संयोजन तथा व्यवस्थापन संचालित प्रतियोगितामा ३३ जना कविहरूले प्रतियाेगितात्मक कविता बाचन गरेका थिए ।
कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् समितिका सल्लाहकार ज्ञानबहादुर थापा, सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिल, समाजसेवी मुक्ति गोविन्द वैद्यकाे आथित्यता रहेकाे थियाे ।
यसैगरी नेपाली लेखक संघका छवि अनित्य, साहित्य संगम मकवानपुरका सानु खनाल, प्रगतिशिल लेखक संघका मसान उपासक, मातृभूमि साहित्य समाजका माधव पोखरेल, गजल मञ्च मकवानपुरका संजित श्रेष्ठ, समितिका सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, कविहरू दिपक गौतम, शान्ति प्रिय बन्दना, श्याम कुमार बानियाँ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समेत उपस्थितिमा कार्यक्रम गरिएकाे हाे ।
मकवानपुर । हेटौडा उपमहानगरपालिकामा जारी तेस्राे मेयर कप फुटबल प्रतियाेगिता अन्तर्गत बुधबार भएकाे खेलमा १८ नम्बर वडाकाे फुटबल टिम विजयी भएकाे छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियाेगिता अन्तरगत बुधबारकाे खेलमा १८ नम्बर वडाले ४ नम्बर वडालाई सडन डेथमा पराजित गरेको हो ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेल निर्धारित समयमा दुबै टिमबाट गोलरहित बराबरीमा राेकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १८ र ४ नम्बर वडाले समान ३–३ गोल गरेपछि खेलको निर्णय सडेन डेथबाट लिनु परेकाे हाे । सडेन डेथको पहिलो प्रहारमै १८ नम्बरले जित निकालेको हो ।
बुधबारकाे विजेता १८ नम्बर वडाले अब आइतबार क्वाटरफाइनलमा १५ नम्बर वडासँग खेल्नेछ । जेठ १५ गते भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्बर ३ लाई ३–१ गोलअन्तरले पराजित गर्दै १५ नम्बर विजयी भएकाे थियाे । यसैगरी मंगलबार भएको खेलमा ६ नम्बर वडालाई २–० गोलअन्तरले हराउँदै १० नम्बरले विजयी सुरुवात गरेको हाे । १० नम्बर वडाले प्रतियाेगितामा वाई पाएकाे १३ नम्बर वडासँग जेठ २१ गते आइतबार क्वाटरफाइनल खेल खेल्नेछ ।
हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०/५० हजार रुपैया तथा सर्वोत्कृष्ट खेलाडिलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५÷५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार प्राप्त गर्ने हेटौडा उपमहानगरपालिका खेलकुद शाखा अधिकृत बसन्त सिटौलाले जानकारी दिए । प्रतियाेगिताकाे फाइनल खेल जेठ २७ गते हुने बताइएकाे छ ।

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना महिलालाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तरगत बुधबार ६ जना महिला चेलीलाई सम्मान गरेको हो ।
पालिकाले कैलाश ६ की संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० का सरुया प्रजा र उर्मिला थिङ र कैलाश २ कि लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद २० हजार र सम्मानपत्र सहित सम्मान गरेका हुन् । ‘विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको हाे’ गाउँपालिका अध्यक्ष मुक्तान भने– ‘चेली सम्मान देशभरका स्थानीय तहहरुमध्ये पृथक कार्यक्रमको सुरुवात गरेका छाैं ।’
पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएकाे यो कार्यक्रमले “गाउँघरमा छोरीलाई वालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएकाे अध्यक्ष मुक्तानले बताए ।
सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष ठकुरीले आगामी वर्षबाट कार्यक्रमलाई अझै बृहत रुपमा विस्तार गरिदै लगिने बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्टले वालविवाह अन्त्यका लागि पालिकाले चेली सम्मान सहित अन्य कार्यक्रम समेत गर्दै आएकाे जानकारी दिए ।
गाउँपालिका सामाजिक बिकास समिति संयोजक राजेन्द्र घिसिङले यो बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । सम्मानित चेलीहरुले गाउँपालिकाले प्रोत्साहन कार्यक्रम मार्फत सम्मान गरेकोमा आफूहरु उत्साहित भएकाे र सामाजिक समस्याको रुपमा रहेको वालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा लाग्न उर्जा मिलेको बताएका छन् ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम सहित विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलबाट उनिहरु सेमिफाइनल पुगे पनि आधिकारिकत घोषणा भने उक्त टिमहरु बिचको विहीबारको खेल पछि हुनेछ ।
मकवानपुर जिल्ला भलिबल टिम, झापाको पाथीभरा टाइगर भलिबल क्लब र स्याङ्जाको वालिङ भलिबल क्लब भने समूह चरणबाटै बाहिरिएको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलाले जनाकारी दिए ।
एउटै समूहमा रहेको आर्मी र गण्डकी समूह चरणको दुबै खेल जितेर सेमीफाइनल प्रवेश गरेको हो । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार बिहान भएको पहिलो खेलमा त्रिभुवन आर्मीले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।
मंगलबार भएको पहिलो खेलमा मकवानपुरलाई हराएको गण्डकीले बुधबारकाे खेलमा वालिङलाई ३–१ सेटले हराएको हो । गण्डकीले पहिलो र दोस्रो सेट जित्दा तेस्रो सेटमा हार व्यहोर्नुपर्यो । चौथो सेटमा सफलता संगै गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनलमा स्थान बनाएको हो । प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो भएको पहिलो खेलमा झापाको पाथिभरा टाइगर भलिबल क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । नेपाल पुलिसले पाथीभरालाई सोझो सेटमा पराजित गरेको हो ।

बुधबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो । विहीबार पहिलो खेल मकवानपुर र वालिङबीच खेल हुनेछ भने दोस्रो खेलमा सशस्त्र प्रहरी र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर र वालिङ बीचको खेल प्रतिष्ठाका लागि र सशस्त्र प्रहरी र नेपाल पुलिसबीचको खेल समूह चरणको विजेता र उपविजेता घोषणको लागि हुने सिटौलाले बताए । विहीबारको अन्तिम खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशको भलिबल टिमबीचको खेल पनि समूहको विजेता र उपविजेता छिनोफानो र सेमीफाइनल समीकरण पूराको लागि महत्वपूर्ण रहने अध्यक्ष सिटौलाले बताए ।
केशबलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठान मकवानपुर र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद २ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद १ लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५०/५० हजार हात पार्ने संघ अध्यक्ष सिटौलाले जानकारी दिए । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद ५/५ हजार प्राप्त गर्ने सिटौलाले बताए ।

अध्यक्ष सिटौलाका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहेकाे छ ।
प्रतियोगितामा करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनमा हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले सहयोग रहेकाे आयोजकले जनाएको छ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइएकाे छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउँदै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधसभाकाे अघिल्लाे कार्यकालमा पारित भई राष्ट्रपति कार्यालयमा धन्किएर बसेकाे विधेयकलाई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभामा छलफल नै नगराई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आराेप अनेरास्ववियुकाे छ । हेटौँडाको बुद्धचोकमा अनेरास्ववियुले कोँणासभा गर्दै शान्तिका दूत भगवान बुद्धको प्रतिमा सामुन्ने देशका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको हो ।
भारतले नयाँ संसदमा नेपालको भूभाग समेटेर नक्सा बनाउँदासमेत सरकार चुप लागेको र भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर भारतलाई खुसी पार्ने नाममा राष्ट्रघाती काम गरेकोले पुत्ला जलाइएको अनेरास्ववियु मकवानपुरले जनाएकाे छ । पुत्ला दहन पछि कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु सचिव पुष्कर तिमल्सिनाले तिमल्सिनाले सरकारलाई दलालको संज्ञा दिँदै राष्ट्रघाती काम गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई कुनै बहानामा माफी दिन समेत नमिल्ने बताए ।
राजनीतिक आवरणमा टिकापुर हत्याकाण्ड गराएका रेशम चौधरीको रिहाइले जघन्य अपराधमा सरकारले प्रश्रय दिने काम गरेको उनको आरोप छ । सत्तामा रहेका नेताहरूले मुलुकविरुद्ध निरन्तर षडयन्त्र गरिरहेकोले अनेरास्ववियु चुपलागेर नबस्ने उनले चेतावनी दिए ।
राष्ट्रपति पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गर्नु अघी उनीहरुले राँके जुलुस पनि निकालेका छन् ।
