मकवानपुर । हेटौडा उपमहानगरपालिकामा जारी तेस्राे मेयर कप फुटबल प्रतियाेगिता अन्तर्गत बुधबार भएकाे खेलमा १८ नम्बर वडाकाे फुटबल टिम विजयी भएकाे छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियाेगिता अन्तरगत बुधबारकाे खेलमा १८ नम्बर वडाले ४ नम्बर वडालाई सडन डेथमा पराजित गरेको हो ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेल निर्धारित समयमा दुबै टिमबाट गोलरहित बराबरीमा राेकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १८ र ४ नम्बर वडाले समान ३–३ गोल गरेपछि खेलको निर्णय सडेन डेथबाट लिनु परेकाे हाे । सडेन डेथको पहिलो प्रहारमै १८ नम्बरले जित निकालेको हो ।
बुधबारकाे विजेता १८ नम्बर वडाले अब आइतबार क्वाटरफाइनलमा १५ नम्बर वडासँग खेल्नेछ । जेठ १५ गते भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्बर ३ लाई ३–१ गोलअन्तरले पराजित गर्दै १५ नम्बर विजयी भएकाे थियाे । यसैगरी मंगलबार भएको खेलमा ६ नम्बर वडालाई २–० गोलअन्तरले हराउँदै १० नम्बरले विजयी सुरुवात गरेको हाे । १० नम्बर वडाले प्रतियाेगितामा वाई पाएकाे १३ नम्बर वडासँग जेठ २१ गते आइतबार क्वाटरफाइनल खेल खेल्नेछ ।
हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०/५० हजार रुपैया तथा सर्वोत्कृष्ट खेलाडिलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५÷५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार प्राप्त गर्ने हेटौडा उपमहानगरपालिका खेलकुद शाखा अधिकृत बसन्त सिटौलाले जानकारी दिए । प्रतियाेगिताकाे फाइनल खेल जेठ २७ गते हुने बताइएकाे छ ।


