मकवानपुर । अङ्गारेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले १ हप्ते राजयोग तथा ध्यान कोर्स संचालन गर्ने भएको छ। राजयोग तथा ध्यान कोर्स जेठ २६ देखि ३२ गतेसम्म हुनेछ।
प्रत्येक दिन साझ ५ बजेदेखि ६ बजेसम्म संचालन हुने कार्यक्रम हेटौंडा १७ हटिया स्थित अङ्गारेश्वर मन्दिरको सभाहलमा हुने मन्दिर ब्यबस्थापन समिती अध्यक्ष कृष्णदेव भण्डारीले जानकारी दिए।
राजयोग कोर्स ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौंडाकी प्रमुख ब्रह्माकुमारी सुशिला दिदीको प्रमुख आतिथ्यता र अङ्गारेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको अध्यक्षता २६ गते साझ ५ बजे उद्घाटन हुने कार्यतालिका रहेको छ । प्रशिक्षण ब्रह्माकुमारी दिदीहरूबाट हुने भण्डारीले बताए ।
यस्ता कार्यक्रमले मानिसको तन र मन स्वस्थ्य राख्नुका साथै अनुशासित र सत्चरित्रवान बनाउन मद्दत पुग्ने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार यस किसिमको योग तथा ध्यान कार्यक्रमले अध्यात्मिक ज्ञान समेत दिने उनको भनाइ छ ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले अपराध तर्फ ४ हजार ५४ वटा मुद्दा दर्ता गरेका छ । अपराध सम्बन्धी मुद्दा अन्तरगत सबै भन्दा बढी आत्महत्यामा ७ सय ९४ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालू वर्षको प्रगति विवरण सार्वजनिकमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले प्रगति विवरण सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार लागूऔषधमा ३ सय २२, चोरीमा २ सय ५९, जबरजस्ती करणीमा २ सय २४, सवारी ज्यानमा २ सय ८ मुद्दा दर्ता भएको जानकारी दिए । रेग्मीका अनुसार ज्यान मार्ने उद्योगमा ६३, जबरजस्ती करणी उद्योगमा ५९, ठगी ५७, कर्तव्यज्यान अन्तर्गत ३६, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९ सय ३४ मुद्दा दर्ता भएको हो ।
प्रगति विवरण सार्वजनिक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी किरण राणाले प्रहरीको सुरक्षामा सुधार ल्याउन आफूले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागिपरेको जानकारी दिइन् । स्मार्ट कन्ट्रोल रुम चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको उनले बताइन् । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अपराध नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने बताइन् ।
कार्यालय आन्तरिक शुद्धीकरण देखि अपराध नियन्त्रणको अभियानमा रहेको बताउँदै राणाले भनिन् ‘लागूऔषध नियन्त्रण, प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता, सबै किसिमको तस्करी नियन्त्रण, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने लगायतका योजना रहेको छ ।’
संगठनमा कतिपय व्यक्तिहरुबाट गल्ती हुने गरेकोमा संगठन शुद्धीकरण गरेर जाने जानुपर्छ डिआइजी राणाले भनिन् – मकवानपुरमा गाँजाको खेती तथा ओसारपसार अत्यधिक मात्रामा हुने गरेकोले त्यसको व्यवस्थापनमा लागिपरेका छौं ।’आफूले गाँजा न्युनीकरणका लागि आन्तरिक मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीसँग छलफल गरेको र व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत उनले जनाइन् ।
प्रदेश प्रहरी कार्यालयकाे उपत्यकाका ३ जिल्ला बाहेक प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेकाे छ ।
मकवानपुर । कोशी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फर्ता लिने निर्णय गरिएसँगै मन्त्रीहरूले पनि राजीनामा दिएको माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
उनले अब माओवादीकै नेतृत्वमा सरकार बनाउन कसरत गरिने बताए । नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाएका छौं ।’
माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले राजीनामा दिएका हुन् । माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् ।
उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । प्रदेश सरकारमा मन्त्री भइ कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले मैले तपाईको सरकारमा रहि निरन्तरता दिन नसक्ने अवस्था सृजना भएकोमा आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख छ ।
यससँगै मुख्यमन्त्री कार्कीको नेतृत्वमा बनेको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि जसपाबाट स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूले राजीनामा दिइसकेकी छन् । अब एमालेलाई राप्रपाको मात्रै समर्थन रहेको छ । तर, एमाले र राप्रपाको सिट संख्या जोड्दा ४६ मात्रै पुग्छ । जबकि, सरकार निर्माणका लागि ४७ सिट आवश्यक पर्ने हुन्छ ।
अब मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएको अवस्थामा स्वत: सरकार परिवर्तन हुने संवैधानिक व्यवस्था रहेको छ ।
अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासोको विषय रहेको समयमा दलहरूले भने आ–आफ्नै अडान राखेका छन् । माओबादीले सरकारबाट समर्थन फिर्ता लिने जनाएसँगै आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरेको छ । तर, माओवादीका लागि सभामुख रहेका कारण सरकार बनाउन तत्काल बाधा उत्पन्न हुनेछ ।
उता, नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय संसदीय दलले गरेको कांग्रेस प्रमुख सचेतक तथा पार्टी महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
केन्द्रीय गठबन्धनमा रहेका राजनीतिक दलहरूसँग समन्वय गरेर कांग्रेस नेतृत्वको सरकार बनाउने निर्णय भएको उनको दाबी छ । उनले भने, ‘माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माण बाटो खुलेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।’
यसअघी मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३ (सभामुखसहित), राप्रपाका ६ र जनता समाजवादी पार्टी (जसपा) का एकजना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा परेका छन् ।
अब कांग्रेसका २९, माओवादीको १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षीका रूपमा छन् । अब सरकार निर्माणका लागि एमाले नेतृत्व र अन्य दलसँग जम्मा ४६–४६ सिट मात्र छन् । सरकार निर्माणका लागि राप्रपाको पनि भूमिका देखिने भएको छ । राजधानी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल बुधबारबाट हुदैछ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत मंगलबार क्वार्टरफाइनलका दुई खेलहरु भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको हो ।
हेटौँडा–५ पिप्लेक्याम्पा रंगशालामा मंगलबार भएको खेलमा १३ नम्बर र १५ नम्बर वडा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । १३ नम्बरले २ नम्बरलाई ३–१ गोलअन्तरले र १५ ले १९ नम्बरलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो क्वाटरफाइनल खेलबाट ११ नम्बर वडा र दोस्रो खेलबाट १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरे । ११ नम्बर वडाले १ नम्बर वडालाई र १४ नम्बर वडाले ९ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन ।
बुधबारको पहिलो सेमिफाइनल खेलमा १४ नम्बरले १५ नम्बर वडाको सामना गर्नेछ । यस्तै बिहीबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितीका अधिकृत लक्ष्मण न्यौपानेले बताए । प्रतियोगिताको फाइनल खेल भने शनिबार हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। एमालेले फरक-फरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको हो।
गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत उसले सर्कुलर गरेको हो। एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजनको जिम्मा पाएका छन्। सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन्।
बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन्। एमालेले यसपटक सह इन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ।
स्थायी कमिटी सदस्य यामलाल कँडेल दैलेखको इन्चार्ज तोकिएका छन्। सीता पौडेल महिला फाँटको इन्चार्ज बनेकी छिन्। बिन्दा पाण्डेले अर्थ तथा योजना विभागको प्रमुखको भूमिका पाउँदा गोरखबहादुर बोगटी सुर्खेतको इन्चार्ज तोकिएका छन्।
कर्णबहादुर थापा युवा खेलकुद विभागको प्रमुख बनेका छन्। थममाया थापा कास्कीको इन्चार्ज बनेकी छिन्। शेरबहादुर तामाङ ललितपुरको इन्चार्ज बनाइएका छन्।
शिवमाया तुम्बाहाङ्फे इलामको इन्चार्ज बनेकी छिन्। हिक्मतकुमार कार्की मोरङको इन्चार्ज चयन भएका छन्। अरुण नेपाल नुवाकोटको इन्चार्ज बन्दा देवी ज्ञवालीलाई मकवानपुरको जिम्मा दिइएको छ भने परशुराम मेघी गुरुङ उदयपुरको इन्चार्ज बनाइएका छन्।
