मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल बुधबारबाट हुदैछ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत मंगलबार क्वार्टरफाइनलका दुई खेलहरु भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको हो ।
हेटौँडा–५ पिप्लेक्याम्पा रंगशालामा मंगलबार भएको खेलमा १३ नम्बर र १५ नम्बर वडा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । १३ नम्बरले २ नम्बरलाई ३–१ गोलअन्तरले र १५ ले १९ नम्बरलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो क्वाटरफाइनल खेलबाट ११ नम्बर वडा र दोस्रो खेलबाट १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरे । ११ नम्बर वडाले १ नम्बर वडालाई र १४ नम्बर वडाले ९ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन ।
बुधबारको पहिलो सेमिफाइनल खेलमा १४ नम्बरले १५ नम्बर वडाको सामना गर्नेछ । यस्तै बिहीबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितीका अधिकृत लक्ष्मण न्यौपानेले बताए । प्रतियोगिताको फाइनल खेल भने शनिबार हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

