जुनु घिमिरे
यो गग्रेटो,
जसले आफ्नो पहिचान जोगाउन
भरपुर कोसिसमा थियो
तर, ऊ पनि
म जस्तै खस्किएको छ
न म गग्रेटोमा गाग्री ठ्याउन सक्छु
न गाग्रीले मेरो कम्मर ठ्याउन सक्छ
मसँग अब, केही बाँकी छन् भने
यिनै एकजोर धमिला आँखाहरू
अनी शून्यतामा हराएका कानहरू
र, मनभरी स्मृतिका बगर
सुतेका छन् लम्पसार भएर
जहाँ पुगेर म ,
हरेक दिन भिज्ने कोशिस गर्छु यादहरूले
तर बिडम्बना
जसरी तातो घाममा डडेको बालुवाले
पैतालामा डाम बस्ने गरि पोल्छ
हो ठ्याक्कै त्यसरी नै
मेरा अतितहरूले
पिल्सिने गरि पोलिदिन्छ मन
र पनि ,
बारम्बार म त्यही पुग्न चाहन्छु
हिजै जस्तो लाग्छ
यो घरका कुना कुनाले
मान्छेको आवाज निकालेर
जीवित भएको प्रमाण पेस गरेको ।
ती अम्बा,आरू,लिचि,आँपका बोटहरू,
चिचिलामै लुछिएका
गोठमा खाँबो पिच्छे
दाम्लोले श्वास फेरेको,
आगनको डिलले
भुइँ चर्किने गरि पिङ मचाएको
अनी,
गग्रेटोले घैलाका घैला पानी पिएको।
आज त्यहि घर
जीवित मान्छेको शोक मनाई रहेछ
बोटमै लटरम्म पाकेर फलफूलले
यो मृत घरलाई
जिस्क्याउँदै गलेर झरिरहेछन्
गोठ अनी दाम्लो अब यो घरका लागि मरिसके
आगनको डिल टुडिखेल भन्दा ठूलो भैदियो
गग्रेटो हिजोआज तिर्खाउँन छोड्यो
घैला बोक्ने कम्मर बुढो भएर
साना बोतल ठ्ड्याएको छ
र पनि
म पात झरेको सिक्रो रुख झै ठडिएर
यी धमिला आँखाहरू पर परसम्म फिजाइ रहन्छु
मुना पलाउने आशमा ।
यस्तो लाग्छ कहिलेकाही त
यी मेरा आँखामै केही खोट छन्
नत्र यो ढुक्ढुकी चलाईराख्ने घुट्को
श्वासमा मिसिएका आकृति
आँखाले देखाउँन किन कन्जुस्याइँ ?
यी मेरा कान बन्द भएकोमा
मनलाई बिस्मात लागि रहेछ
र बारम्बार भन्छ मनले
एक दिन त
यो घर बौरिने छ
र भन्ने छ
आमा ढोका खोल्नुस् न
हामी आयौँ
त्यो बेला मैले नसुन्न सक्छु ।
चागुनारायण २ दुवाकाेट भक्तपुर
मकवानपुर । अपाङ्गता भएकाहरूलाई बागमती प्रदेश सरकारले निजामति सेवा प्रवेशमा तोकिएको कोटा कटाउन खोजेको विरुद्ध महासंघ सर्वोच्चमा जाने तयारी गरेको छ ।
राष्ट्रिय अपांग महासंघ बागमतीले प्रदेश सरकार अपाङ्गमैत्री नीति नलिएको प्रती महासंघले ध्यानाकर्षण भएको हो । यसैबीच आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको विरोध गरेको छ ।
अपाङ्ग महासंघ बागमतीले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बजेटको विरोध गरेको हो । महासंघ प्रदेश अध्यक्ष अश्विन लम्सालले बजेटमा समाबेश कार्यक्रमले अपांगता भएकाहरुको उत्थान नहुन बताए । ‘हाम्रो क्षेत्रका लागि सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेट अधिकांश कार्यक्रम झारा टार्ने खालको मात्र छ’ लम्सालले भने ‘प्रदेश सरकारले आगामी वर्षका लागि विनियोजन गरेको बजेटले अपांगताको क्षेत्रलाई समेट्न नसक्ने भएकोले बजेट संशोधनको माग गर्दछौं ।’
अघिल्लो आवको तुलनामा यसवर्ष बजेटको आकार बढे पनि मागहरु सम्बोधन नभएको लम्सालले बताए । “हाम्रो माग भन्दा असाध्यै न्यून बजेट मात्र विनियोजन गरिएको छ, जसका कारण यस क्षेत्रको सम्बोधन हुनै सक्दैन’ लम्सालले भने ।
राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश व्यवस्थापक सीता मल्लले पहुँचयुक्त संरचना नहुँदा अपांगता भएकाहरुले समस्या झेल्दै आएको बताइन् ।
कार्यक्रमा बागमती प्रदेशसभामा एकजना अपांग भएका सदस्य रहेकोमा उनले अपांगमैत्री संरचना नहुँदा अनेक समस्या झेल्नुपरेको समेत बताइएको छ ।
२०७८ को जनगणना अनुसार नेपालमा २ दशमलव २५ प्रतिशत अपांगता भएका व्यक्ति बसोबास गर्छन ।
मकवानपुर । आगामी आर्थिक वर्षको लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा न ४ ले स्थानीय सरोकारवालाहरुसँग योजनाबारे छलफल गरेको छ ।
आगामी आर्थि वर्ष २०८०।०८१ को लागि स्थानीय आवश्यकताको सम्बोधन गर्दै बजेट तथा कार्यक्रमहरु लागु गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको वडा अध्यक्ष प्रकाश थापाले बताए । स्थानीयहरुले खानेपानीकाे व्यवस्थापन, सडक बाटो तथा तटबन्धनमा बढी योजना मागेका छन् ।
यस्तै कृषिका योजना, शिक्षा, स्वास्थ्यका योजनाहरु पनि स्थानीयले माग गरेको थापाले बताए । स्थानीयको माग बमोजिम कार्यक्रम ल्याउन बजेटको बेवस्था गरिने उनले बताए । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गरिसकेकाे छैन ।
‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ सार्वजनिक
Tags: No Comments
मकवानपुर । ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ पुस्तक सार्वजनिक गरिएकाे छ । बुधबार बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री मसिना खड्काले डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यद्वारा लिखित पुस्तक सार्वजनिक गरेकी हुन् ।
पुस्तक सार्वजनिक गर्दै चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सके पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक समुन्नति हुने बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काले बताइन् । मनहरीस्थित डिभिजन वन कार्यालय राप्ती परिसरमा बुधबार पुस्तक सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले चिउरी बहुउपयोगी बृक्ष भएकाेले यसको संरक्षणसँगै उपयोगितामा बारे जनचेतना आवश्यक भएकाे बताइन् । खड्काले चिउरीको संरक्षण गर्दै यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र नीतिगत व्यवस्थाका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाइन् ।
त्यसैगरी बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री एबम् चेपाङ अगुवा सन्तबहादुर चेपाङले चिउरी प्रवर्धनका लागि आफूले पटक पटक पहल गरेको बताउँदै अहिले वन तथा वातावरण मन्त्रालयमार्फत बजेट बिनियोजन हुनुपर्ने चिउरी संरक्षणको लागि अन्य मन्त्रालयले कार्य गर्न लागेकामा असन्तुष्टि समेत जनाए ।
वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले २८ बर्ष अघि आफू कबुलियती वनको प्राविधिकको रुपमा आउँदा पनि चिउरी संरक्षणकै बहस भइरहेको र अहिले पनि त्यही बिषयमा बहस भइरहेको पाइएकाले सरकारले गर्नुपर्ने काम र समुदायले निर्वाह गर्नुपर्ने भूमिका स्पष्ट नभएसम्म प्रश्न उठिरहने बताए । दाहाले चिउरी संरक्षणलाई आर्थिक पाटोसँग जोडेर अध्ययन गरिनुपर्ने भन्दै हरेक दृष्टिकोणले चिउरीको संरक्षण हुनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले चिउरी संरक्षण, सालक संरक्षणमा डिभिजन वन कार्यालय राप्तीले अग्रसरता देखाइ काम गरिरहेकाे बताए । कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, चिउरीको बिषयमा पिएचडी अध्ययन गरिरहनु भएका श्रीहरि भट्टराई, राक्सिराङ गाउँपालिका ८ नम्बर वडाध्यक्ष हविल प्रजा, ५ नम्बर वडाध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य सिंगलाल प्रजासहितका जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, चिउरी व्यवस्थापनमा ध्यान दिइरहेका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु र उपभोक्ताहरुले चिउरीको जगेर्ना, विकास र बजार व्यवस्थापनमा चासाे व्यक्त गरेका थिए ।
डिभिजन वन कार्यालय राप्ती र राक्सिराङ गाउँपालिकाको संयुक्त पहलमा प्रकाशित पुस्तक मन्त्री खड्काले चेपाङ समुदायलाई हस्तान्तरण गरी सार्बजनिक गरेका थिए । पुस्तकका सन्दर्भमा लेखक एबम् डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले स्पष्ट पारेका थिए । कार्यक्रम सुरु हुनुअघि डिभिजन वन कार्यालय राप्तीको परिसरमा मन्त्री खड्काले चिउरीको बिरुवा रोपेका थिए ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा चितवनको राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रबाट चिउरी संरक्षणकर्मी सहभागिता रहेकाे थियाे ।
मकवानपुर । प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाले बैठक अबरुद्ध गर्ने चेतावनी दिएपछि बागमती प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार दिउँसो साढे १ बजेको लागि बोलाइएको बैठक झण्डै ४ घण्टापछि साँझ सवा ५ बजे सुरु भएकाे थियाे ।
प्रमुख प्रतिपक्ष दल एमाले र प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबरुद्ध गर्ने तयारी गरेपछि प्रदेश सभाको बैठक असार १७ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख भुवनकुमार पाठकले असार १७ गते अपराह्न २ बजे बस्ने गरी बुधबारकाे बैठक स्थगित गरेका हुन् । मंगलबारकाे बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले राप्रपाले बहिष्कार गरेपछि बुधबारकाे लागि बाेलाइएकाे थियाे ।
बुधबारकाे बैठक प्रारम्भ हुनासाथ राप्रपा संसदीय दलका नेता उद्धब थापाले आफ्नो धाराणा राख्नासाथ बैठक अबरुद्ध भएको हो । थापाले बोल्नासाथ प्रतिपक्ष दलका सांसदहरुले सरकारले बजेट पुर्नलेखन नगरिकन संसद चल्न नदिने अडान राखेपछि बैठक १७ गतेसम्मको लागि स्थगित भएको हो ।
बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट लक्ष्य बिहीन एवम् जनताप्रति विभेदकारी भएको, आफ्नौ निर्वाचन क्षेत्र र चुनावीमूलक रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र नेमकिपाका सांसदहरुले पटक–पटक संसद अवरोध गर्दै आएको छ ।
विनियोजित बजेट २०८०/०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै एमाले र राप्रपाले विरोध गर्दै आएका छन् ।
