मकवानपुर । ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ पुस्तक सार्वजनिक गरिएकाे छ । बुधबार बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री मसिना खड्काले डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यद्वारा लिखित पुस्तक सार्वजनिक गरेकी हुन् ।
पुस्तक सार्वजनिक गर्दै चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सके पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक समुन्नति हुने बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काले बताइन् । मनहरीस्थित डिभिजन वन कार्यालय राप्ती परिसरमा बुधबार पुस्तक सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले चिउरी बहुउपयोगी बृक्ष भएकाेले यसको संरक्षणसँगै उपयोगितामा बारे जनचेतना आवश्यक भएकाे बताइन् । खड्काले चिउरीको संरक्षण गर्दै यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र नीतिगत व्यवस्थाका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाइन् ।
त्यसैगरी बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री एबम् चेपाङ अगुवा सन्तबहादुर चेपाङले चिउरी प्रवर्धनका लागि आफूले पटक पटक पहल गरेको बताउँदै अहिले वन तथा वातावरण मन्त्रालयमार्फत बजेट बिनियोजन हुनुपर्ने चिउरी संरक्षणको लागि अन्य मन्त्रालयले कार्य गर्न लागेकामा असन्तुष्टि समेत जनाए ।
वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले २८ बर्ष अघि आफू कबुलियती वनको प्राविधिकको रुपमा आउँदा पनि चिउरी संरक्षणकै बहस भइरहेको र अहिले पनि त्यही बिषयमा बहस भइरहेको पाइएकाले सरकारले गर्नुपर्ने काम र समुदायले निर्वाह गर्नुपर्ने भूमिका स्पष्ट नभएसम्म प्रश्न उठिरहने बताए । दाहाले चिउरी संरक्षणलाई आर्थिक पाटोसँग जोडेर अध्ययन गरिनुपर्ने भन्दै हरेक दृष्टिकोणले चिउरीको संरक्षण हुनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले चिउरी संरक्षण, सालक संरक्षणमा डिभिजन वन कार्यालय राप्तीले अग्रसरता देखाइ काम गरिरहेकाे बताए । कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, चिउरीको बिषयमा पिएचडी अध्ययन गरिरहनु भएका श्रीहरि भट्टराई, राक्सिराङ गाउँपालिका ८ नम्बर वडाध्यक्ष हविल प्रजा, ५ नम्बर वडाध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य सिंगलाल प्रजासहितका जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, चिउरी व्यवस्थापनमा ध्यान दिइरहेका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु र उपभोक्ताहरुले चिउरीको जगेर्ना, विकास र बजार व्यवस्थापनमा चासाे व्यक्त गरेका थिए ।
डिभिजन वन कार्यालय राप्ती र राक्सिराङ गाउँपालिकाको संयुक्त पहलमा प्रकाशित पुस्तक मन्त्री खड्काले चेपाङ समुदायलाई हस्तान्तरण गरी सार्बजनिक गरेका थिए । पुस्तकका सन्दर्भमा लेखक एबम् डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले स्पष्ट पारेका थिए । कार्यक्रम सुरु हुनुअघि डिभिजन वन कार्यालय राप्तीको परिसरमा मन्त्री खड्काले चिउरीको बिरुवा रोपेका थिए ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा चितवनको राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रबाट चिउरी संरक्षणकर्मी सहभागिता रहेकाे थियाे ।

