मकवानपुर । हेटौंडामा मिडिया र अपाङ्गता विषयक अन्तरक्रिया गरिएकाे छ । आइतबार मिडिया र अपाङ्गता विषयक अन्तरक्रियामा अपाङ्गता अधिकार सवाल पहुँचयुक्त भौतिक संरचना सम्बन्धी प्रतिवेदन सार्वजानिक गरिएको छ ।
प्राविधिक, राष्ट्रिय अपाङ्ग महासंघ, सदस्य संस्थाका प्रतिनिधि तथा प्रयोगकर्ता, मिडियाकर्मी र सम्बन्धित कार्यालयका प्रतिनिधिहरुले संयुक्त रुपमा सरकारी कार्यालयको भाैतिक संरचनाको गरिएको अनुगमनको प्रतिवेदन सार्वजनिक गरेका हुन ।
प्रतिवेदनमा चिन्ह तथा संकेत, र्याम, लिफ्ट, विपद् व्यवस्थापन योजना, संकेतिक भाषाको ज्ञान भएका व्यक्ति, बैठक हल जस्ता समस्या सरकारी कार्यालयको मातहतभित्रै रहेको उल्लेख छ । यस्तै नक्सा र अडियो गाइड, पार्किङ क्षेत्र, उजुरी तथा गुनासो बाकस, प्रतीक्षा क्षेत्र, करीडोर, पहुँचयुक्त शाैचालय र धारा, पहुँचयुक्त वेवसाईट र स्वास्थ क्षेत्रमा समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक गर्नुहुँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका जनवकालती सुरेन्द्र तिमल्सिनाले अपाङ्गता भएका व्यक्तिहरुले निःशुल्क औषधि पाउने अवस्था नरहेको बताए । नेपाल सरकारले सय प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरेका छन् तर २-३ वटा प्रकारका औषधि नै पाउन मुस्किल रहेको उनले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकामा दोभाषे राखिएकाेमा प्रशंसा गर्दै उनले सरकारी कार्यालयमा दोभाषे नहुँदा अपाङ्गता भएकाहरुले सेवा लिन, आफ्ना गुनासा राख्न नसक्ने अवस्था रहेकाे बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, हेटौंडा-१२ नम्बर वडा कार्यालय, हेटौंडा-१३ स्थित युग चेतना नमुना आधारभूत विद्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला अदालत मकवानपुर, हेटौंडा उपमहानगरपालिका लगायतका विभिन्न क्षेत्रको सरकारी कार्यालयमा अनुगमन गर्दा अपाङ्गता भएका व्यक्तिले सेवा लिन समस्या पाइएकाे उनले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश कार्यालयको आयोजनामा भएको अन्तरक्रियमा अपाङ्गता अभियानकर्मी तथा सिआईएलका महासचिव गणेश केसीले अपाङ्गता तथा उक्त विषयमा समाचार लेख्दा ध्यानदिनु पर्ने विषयवस्तु माथि कार्यपत्र प्रस्तुत गरेका थिए । केसीले अपाङ्गता भएका व्यक्तीकाे लागि प्रयोग गर्न हुने र नहुने शब्द, मिडियामा अपाङ्गता भएका व्यक्तिको स्थान, अपाङ्गताका विषयमा समाचार लेख्दा पत्रकारले पालना गर्नुपर्ने र ध्यान दिनुपर्ने कुरामा कार्यपत्र प्रस्तुत गरेका थिए । उनकाे कार्यपत्र माथि छलफल गरिएको थियो ।
महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी निकायहरुको पहुँच परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश जनवकालत अधिकृत सुरेन्द्र तिमल्सिनाले सरकारी निकायहरुमा प्रमुख समस्या प्रस्तुत गरेका थिए । अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, लक्ष्मी पौडेल, महासंघका केन्द्रीय उपाध्यक्ष अनिता घिमिरे तथा नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा नम्बर नखुलेको सवारीको ठक्करबाट १ जनाकाे मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर –४ नारायणी पेट्रोल पम्प नजिक नम्बर नखुलेको सवारीको ठक्करबाट १ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएकाे छ ।
प्रदेश प्रहरीका अनुसार शनाखत हुन नसकेको मागी खादै हिड्ने ४५ वर्षीय १ पुरुषको सवारीकाे ठक्करबाट ज्यान गएको हो । ठक्करबाट गम्भीर घाईते ती पुरुषको उपचारको क्रममा हेटौंडा अस्पताल मृत्यु भएको हो । शव हेटौंडा अस्पतालमा राखिएको छ भने ठक्कर दिने सवारीको खोजी भइरहेको प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । स्थगित भएकाे १५ दिन पछि बसेकाे बागमती प्रदेश सभामा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक माथि छलफल भएको छ । प्रदेश सभाको आइतबार बसेको दोस्रो बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सौद्धान्तिक छलफल भएको हो ।
उक्त विधेयक संस्कृतिक, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सौद्धान्तिक छलफल गरियोस् भनि संसदमा प्रस्ताव टेबुल गरेका थिए । प्रस्ताब टेबुल गरिए पछि प्रदेश सभा सदस्य रमा आले मगर, सुरेन्द्रराज गोरसाईँ, सृजना सैजू, मधुसुदन प्रसाद पौडेल, बसन्त मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
छलफलको क्रममा प्रदेश सभाका सदस्यहरुले सरकारद्वारा प्रस्तुत गरिएको उक्त विधेयककाे प्रशंसा गर्दै प्रदेशका बसाेबास गर्ने सुनुवार, जिरेल र मगर भाषालाई उत्थान गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले सानैदेखि विद्यालय तहबाटै मातृभाषामा अध्ययन अध्यापन गराउने प्रदेश र स्थानीय तहबाट हुनु पर्ने विविध भाषा हराउँदै जानु भनेकाे हाम्राे सभ्यता गुम्दै जानु भएकाेले विभिन्न भाषाकाे संरक्षण गर्नु पर्ने बताएका छन् । प्रदेश सभा सदस्यहरुले नेवारी परम्पराका जात्रा पर्वलाई सम्पदा सूचीमा सूचीकृत गरी संरक्षण गर्नेतर्फ सरकारकाे दीर्घकालिन कार्यलाई प्राथमिकतामा राखी तीब्रता दिनुपर्ने बताएका छन् ।
यस्तै, भाषा सम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री महर्जनले प्रदेश सरकारले दीर्घकालिन भाषिक विकासको लागि पहिलो चरणमा नेवारी र तामाङ भाषालाई प्राथमिकता दिएर संघीयताको आधारलाई कार्यान्वयमा ल्याउन लागिएको बताए । उनले प्रदेशको विभिन्न जिल्लामा रहेका आदीवासी जनजाति, दलितहरुको पनि मातृभाषासहितको भाषिक विकासको लागि क्रमशः विधेयकहरु प्रस्तुत गर्दै लैजाने सरकारको नीति रहेको सभामा जानकारी गराएका थिए ।
यस अघीकाे आजकाे प्रदेश सभाकाे पहिलाे बैठककाे शुन्य समयमा सभा सदस्यहरुले राष्ट्रिय तथा प्रदेशका जल्दाेबल्दाे विषयमा आफ्नाे धारणा राखेकाे थिए र आजकाे बैठकमा विशेष समय नरहेकाे जानकारी सभामुख भुवनकुमार पाठकले गराएका थिए ।सभामुख पाठकका अनुसार प्रदेश सभाको अर्को बैठक असोज १५ गते साेमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएकाे छ ।
गत भदाै ३० गते शनिबारकाे प्रदेश सभा बैठकले ४ वटा विधेयक विभिन्न समितिमा पठाउन स्वीकृती प्रदान गरेको थियो । साथै पूर्व सभामुख एवम् संविधान सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै आज आइतबारकाे लागि अर्काे बैठक बस्ने गरी स्थगित गरिएकाे थियाे ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम निगमले मूल्यवृद्धि फिर्ता लिएको जनाएको छ ।
निगममले मूल्यवृद्धि गर्ने निर्णय आइतबार राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको छ । निगमले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर ६ रुपैया, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैया तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

काठमाडौं । ललितपुरमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको हो ।
शनिबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ललितपुरको पाटन दरबार क्षेत्रमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए ।
उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं’ उनले भने ।
त्यस्तै एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले प्रदर्शनी निक्कै नै प्रभावकारी भएको बताए। ‘ज्येष्ठ नागरिक केहि गर्न सक्दैनन् भन्नेलाई हामी पनि अझै केहि सक्रिय छौं भन्ने सन्देश आजको फोटो प्रदर्शनीले दिएको छ, यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै जाने छौं ।’ उनले भने।
कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए । प्रदर्शनीमा राखिएको तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म राखिएको फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।



