मकवानपुर । मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकामा आयुर्वेद औषधालय भवन बन्ने भएको छ । मकवानपुरकाे पश्चिम क्षेत्रमा रहेका राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ ठाडेचुरीमा शुक्रबार आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको छ ।
स्थानीय ८६ वर्षीय बृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान दिएपछि भवन निर्माण गर्न सहज भएकाे हाे । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २० लाख बजेट मार्फत ५ कोठे भवन वन्ने आयुर्वेद शाखा प्रमुख राम बचन शाहले बताए। जग्गा दान दिने प्रजालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ढाका टोपी, दोसल्ला ओढाई सम्मान गरेका थिए ।
वन जङ्गलमा पाइने जडीबुटीको प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अवसरमा भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिका भित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न सबैको महत्वपूर्ण भूमिका रहेको बताए । हाम्राे गाउँ ठाउँ र जङ्गलमा पाइने जडिबुटीबाट बन्ने औषधीले कुनै शारीरिक असर नगर्ने भएकोले पछिल्लो समयमा आम मानिसकाे आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको समेत बताए ।
शिलान्यास कार्यक्रमसँगै भएकाे स्वास्थ्य परीक्षणमा ४० जनाको स्वास्थ्य परीक्षण गरिएकाे आयुर्वेद शाखा प्रमुख शाहले जानकारी दिए। शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहित उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ७ का अध्यक्ष राम बहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ को अध्यक्ष राजकुमार थिङ्ग, कार्यपालिका सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँने भएकाे छ । पालिकाले विहीबार काेषमा आवद्ध हुन आवेदन माग गरेकाे छ ।
गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन हुने भएकाेले उक्त योजनामा सहभागी हुन इच्छुक व्यक्तिलाई आवेदन दिन पालिकाले सूचनामार्फत भनेको हो । योजनामा सहभागी हुन इच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र आवेदन दर्ता गर्न सक्ने सूचनामा उल्लेख छ ।
बागमती प्रदेशमै पहिलो पटक अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानमा भीमफेदी गाउँपालिका जुटेको हो । नेपालमै स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भीमफेदी दोस्रो स्थानीय तह हो ।
भीमफेदी गाँउपालिकाको गाँउसभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य,सामाजिक सुरक्षा,सहकार्य, योगदान र सहभागिताको लागि भीमफेदी गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोष बिच सम्झौता भए बमोजिम कार्य अघि बढेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले योजनामा सहभागी हुन पूरा गर्नुपर्ने विभिन्न आवश्यक मापदण्ड सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिलाइ जानकारी समेत गराएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई डकर्मी, सिकर्मी,लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जिबिका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक, तथा स्वरोजगार व्यक्तिहरु यस योजनामा सहभागी हुनसक्ने गाउँपालिका अध्यक्ष हिदम लामा बताउँछन् ।
अध्यक्ष लामाले गाउँपालिकाको साझेदारी लगानीमा सामाजिक सुरक्षा कोषमा सहभागी भई आफ्नो भविष्य सुरक्षित गर्नका लागि पालिकाभित्र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई आग्रह गरेका छन् । योजनामा आबद्ध हुन चाहने अनौपचारिक क्षेत्रका श्रमिकहरुले सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, सम्बन्धित वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनि गरेको सिफारिसपत्र, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, चेकको प्रतिलिपि बुझाउनुपर्ने पालिकाले सूचनामा भनेको छ ।
यस्तै, स्वरोजगार व्यक्तिको लागि सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, पेशा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि/दर्ता नभएको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, प्यान वा कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणापत्र, चेकको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।


मकवानपुर । मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित १ जनालाई पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका–१५ नयाँवस्तीस्थित सडकबाट नक्कली नोट सहित हेटौँडा–६ का ३० वर्षीय देवराज चौलागाईलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले विहीबार दिउँसो हेटौँडा बजारबाट हेटौडा १५ नयाँवस्तीतर्फ जाँदै गरेको प्र २–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक देवराजको साथबाट नेपाली नक्कली रुपैयाँ ५ सय दरका २० थान नाेट बरामद भएको हाे ।
प्रहरीले देवराजलाई हिरासतमै राखी अनुसन्धान गरिरहेको जनाएको छ । मुलुकी अपराध संहिता–०७४ अनुसार जाली नोटको कारोबार गरेकाे प्रमाणित भएमा ५ वर्षदेखी १० वर्ष कैद र ५० हजार देखी १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
मकवानपुर । नेपालीहरुकाे अर्काे ठूलो पर्व तिहार सुरु भएकाे छ । शुक्रबार आज धनतेरस परेकाे छ । आजबाट यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ ।
आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।
यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ ।
यसैगरी राष्ट्र बैंकले गत पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको जनाएको छ । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभागले जनाएकाे छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा बालसुधार गृहका बालकसँग प्रदेशकाे सामाजिक विकास मन्त्रालयले साक्षात्कार गरेकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभर्याङस्थित बाल सुधार गृहमा रहेका बालकहरुसँग सामाजिक विकास मन्त्रीलगायतका सराेकारवाला निकायले साक्षात्कार गरेको हाे ।
प्रदेश बालअधिकार समितिको अध्यक्ष समेत रहेकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, समितिका सदस्य प्रकाश खतिवडा, मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेल, मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी लगायतले सुधार गृहका बालबालिकाका गुनासो सुन्ने र उनीहरुको इच्छा–चाहना बुझ्न अन्तरक्रिया गरेकाे हाे ।
सुधार गृहमा रहेका ६४ जना बालबालिकाले मन्त्री मोक्तानसहितको टोलीलाई अध्ययन तथा सीप विकास तालिमको व्यवस्था गरिदिन माग गरेका थिए । ६४ जनामध्ये १७ जनाले मात्रै ८ कक्षा पास गरेको बताएका थिए । मन्त्री मोक्तानले सुधार गृहमा रहेका बालबालिकालाई पढाईको व्यवस्थापन गर्नु पर्ने बताउँदै अध्ययनका लागि मन्त्रालयले छिट्टै व्यवस्थापन मिलाउने र सीप विकास तालिमको लागि अबसर प्रदान गरिने उनको प्रतिबद्धता व्यक्त गरिन् ।
माओवादी सशस्त्रद्वन्द्वका बेला आफू पनि जेल परेको अनुभव सुनाएकी उनले सुधार गृहबाट निस्कन पाउने चाहना हुँदा हुँदै पनि कानुनी प्रक्रिया अबलम्बन गर्नु पर्ने भन्दै सुधार गृह भित्रै मन्त्रालयले घर र विद्यालयको वातावरण निर्माण गर्ने विश्वास दिलाएकी हुन । मोक्तानले सुधार गृहबाट गइसके पछि गलतलाई बिर्सिन र राम्रो कार्यलाई मात्रै अंगाल्न आग्रह गरिन् ।
सुधार गृह छोडेर जाँदा सीपसिकेर जानआग्रह गरेकी छन् । सीप सिकाउन र पढन मन्त्रालयले व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडाले आधारभूत आवश्यकताको सम्बोधनमा मन्त्रालय र समिति गम्भीर रहेको बताए । उनले सुधार गृहमा तत्काल शिक्षा र सीपविकास तालिमको आवश्यक रहेको बताए । सुधार गृहका बालकहरुले सीप विकासतर्फ मोटरसाइकल र मोबाइलमर्मत गर्ने, इलेक्ट्रिकल र पम्ब्लिङको तालिम सिक्न चाहेको बताए ।
मोबाइल र मोटरसाइकल मर्मत गर्ने तालिम सिक्न करिब २५ जना इच्छुक भएका थिए । सुधार गृहमा शौचालय र पानीको समस्या रहेको उनीहरुको गुनासो छ । बालकहरुले विगतको तुलनामा सुधार गृह धेरै नै सुधार भएको बताएका थिए । उनीहरुलाई राज्यले दिने सुविधा नै अपुग रहेको पाइएको छ । वर्षमा दुई पटक गर्मी महिनामा १ हजार २ सय र जाडो मौसममा १ हजार ५ सय गरेर कपडा किन्न राज्यले नगद सहयोग गर्ने गरेको भन्दै उक्त रकम पर्याप्त कपडा किनेर लगाउन अपुग भएको उनीहरुको गुनासो गरेका थिए ।
सुधार गृहका बालबालिकाले कम्प्युटर समेत माग गरेका छन । सुत्न र खान उचित व्यवस्थापन भइरहेको उनीहरुको भनाई छ । सानो कोठामा १३ जना र ठूलो कोठामा २५ जनासम्म बालबालिका सुताउने गरेको सुधार गृहका प्रमुख प्रदीप गौतमले जानकारी दिए । सुधार गृहमा तराईका जिल्लाका आधाभन्दा बढी बालकहरु रहेका छन् भने मकवानपुरका १५ जना रहेको प्रमुख गौतमले बताए । २ जना बालक क्षयरोगका बिरामी छन । ६४ जना बालक मध्ये करिब ४५ जना जर्वजस्ती करणी मुद्दाका आरोपितहरु रहेको गौतमले बताए । २४ जना पुर्पक्षका लागि थुनामा छन् भने बाँकीको हकमा अदालतबाट फैसला भएर सुधार गृहमा बस्दै आएका छन् ।
