मकवानपुर । नेपालीहरुकाे अर्काे ठूलो पर्व तिहार सुरु भएकाे छ । शुक्रबार आज धनतेरस परेकाे छ । आजबाट यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ ।
आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।
यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ ।
यसैगरी राष्ट्र बैंकले गत पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको जनाएको छ । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभागले जनाएकाे छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।

