चितवन । नारायणगढ लेडि जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ चयन भएकी छिन् । जेसीजको चौथो साधारणसभा तथा २७ औँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन् ।
युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नारायणगढ लेडि जेसिज वर्ष २०२४ का लागि श्रेष्ठले नेतृत्व सम्हाल्ने भएकी हुन् ।
समुदायमा सकारात्मक प्रभाव सृजना गर्न, नवीन विचार, सहकार्य र सकारात्मक योजनाहरुलाई आत्मसात गर्दै अगाडि बढाउने प्रतिबद्धता सहित स्थापित लेडि जेसीजको अध्यक्ष निर्वाचित श्रेष्ठ सानैदेखि सामाजिक कार्यहरुमा रुचि देखाउँदै र कार्यहरु गर्दै आइरहेको, विभिन्न सामाजिक संघ, संस्थाहरुमा समेत आवद्ध छिन् ।
श्रेष्ठले लेडि जेसीजको वर्ष २०२२ मा महासचिव र वर्ष २०२३ मा कानुनी सल्लाहकार पदमा काम गरिसकेकी छिन् । यस्तै लेडि जेसीजको २७ औँ अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा कोपिला गुरुङ र सुमिता सिंह, उपाध्यक्षमा दीपा अधिकारी, गंगा कुँवर थापा, सीता बराली(सितास्मा) र सोनिसा श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी निर्देशकमा रन्जु घिमिरे, वर्षा श्रेष्ठ, सुजना अधिकारी र स्वेता शाक्य चयन भएका छन् ।
मकवानपुर । हेटौंडामा सञ्चालन भएको छैठौं संस्करणको उपमेयर भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधी १७ नम्बर र महिलातर्फको उपाधी ९ नम्बर वडाको कब्जामा पारेको छ ।
शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेटौंडा १७ ले ११ लाई हराउँदै उपाधि हात पारेको हो । १७ ले ११ लाई १७–२५, २५–२२, २५–२३, १७–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनलमा १७ ले ५ लाई र ११ र १९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
खेलमा १७ नम्बरका विवेक माझी उत्कृष्ट खेलाडी हुँदा, उत्कृष्ट स्पाइकर ११ का निश्चल राना, लिफ्टर १७ का कुमार श्रेष्ठ, डिफेण्डर ११ का निरन सापकोटा, उदयीमान खेलाडी १६ का विवश तिमल्सिना र उत्कृष्ट प्रशिक्षक १७ का कमल बिडारी घोषित भए ।
यस्तै महिलातर्फ ९ ले १२ लाई हराउँदै प्रतियोगिताको विजेता भएको हो । ९ ले १२ लाई १७–२५, २५–१६, २५–२३ र २६–२४ को सेटमा हराएको हो । सेमिफाइनलमा ९ ले १४ लाई र १२ ले १७ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

महिलातर्फको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका आयुषा सिंह, उत्कृष्ट स्पाइकर १२ की चमेली योञ्जन, लिफ्टर १२ की प्रशंसा भोम्जन, उदयीमान खेलाडी १२ का प्रतिक्षा माझी र १९ को सिम्रन स्याङ्बो तथा प्रशिक्षक प्रशिक्षक ९ नम्बर वडाका रवि बस्नेत घोषित भए ।
महिला र पुरुष दुवै विधाका प्रथम भएको वडाले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता वडाले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका वडाले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
गत वर्ष भएको उपमेयर कपको पाँचौ सस्करणको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले हात पारेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग एवम् केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा प्रतियोगिता भएको हो ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् ।
अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भनेका छन् ‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन,सडक,सेवा प्रवाह गरिने सार्वजनिक निकाय एवम् विभिन्न कार्यस्थललाई अपाङ्गमैत्री बनाइनुपर्दछ । ’
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता स्अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्घता’ भन्ने नारासहित नेपालमा आइतबार ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर ३ का दिन यो दिवस मनाउँदै आइएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले फरक क्षमताका सम्पूर्ण देशबासीप्रति आफूले उठाउँदै आएका मुद्घाहरुमा सफलता प्राप्तिका लागि सफलता मिलोस् भन्ने शुभकामना दिएका हुन् ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनी रुपमा अधिकारसम्पन्न बनाइएको उल्लेख गर्दै उनीहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा समावेशिताका लागि विभिन्न अभियानहरु सञ्चालन पनि भइरहेको उनको भनाई छ । समाजले अपाङ्गता भएकाहरुको अवस्थालाई हेर्ने दृष्टिकोणलाई रुपान्तरण गर्दै विकासको मूल प्रवाहमा सहभागिता गराउने कार्यमा कन्ज्युस्याँई हुुनु नहुने प्रमुख शर्माको भनाई छ ।
उनीहरुको पक्षमा प्रभावकारी ढङ्गमा क्रियाशील हुनुनुपर्ने शर्माको सन्देशमा उल्लेख छ । ‘फरक क्षमता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता पक्षमा प्रभावकारी ढङ्गबाट क्रियाशील रहनु सबैको दायित्व हो ।’ शर्माले भनेका छन् ।
प्रदेश प्रमुख शर्माले अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकाय लगायत सबैलाई भिन्न क्षमता भएका नागरिकको पक्षमा सदैव क्रियाशील रहन यो दिवसले उर्जाकाे लागि शुभकामना दिएका छन् ।
मकवानपुर । हरेक वर्ष जस्तै याे वर्ष पनि लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान चलिरहेकाे छ । २५ नाेभेम्बर महिला हिंसा अन्त्य दिवसदेखि १० डिसेम्बर अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म १६ दिनसम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष २५ नोभेम्बरलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम सन् १९९१ देखि बिश्वब्यापी रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । नेपालमा बि.सं. २०५४ साल देखी यो अभियान सञ्चालन हुँदै आईरहेकोमा नेपाल सरकारको २०७६ साल जेठ ६ गते वर्ष २०७६ लाई लैंगिक हिंसा बिरुद्धको अभियान बर्ष घोषणा गरेको थियाे ।
याे वर्ष “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान मनाइँदैछ । अभियानकाे क्रममा सरकारी कार्यालय, सुरक्षा निकाय, सामुदायिक सेवा केन्द्र, महिला सम्बद्ध संघ संस्थाहरुले अभियानमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
हरेक वर्ष लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान मनाइने गरेकाे भए पनि तथ्याङ्कले लैंगिक तथा घरेलु हिंसाकाे घटना बढेकाे देखाउँछ । यस्तै लैंगिक तथा घरेलु हिंसाकाे घटना बढेकाे तथ्याङ्क बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अभियानकाे अवसरमा गरेकाे अन्तरक्रियमा समेत देखाइएकाे थियाे । तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा लैङ्गिक तथा घरेलु हिंसाका घटना १४ प्रतिशतले बढेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशका १० जिल्लामा २ हजार २१९ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ५२८ र गत आर्थिक वर्ष २०७९/०८० मा २ हजार ५२० वटा घटना भएको छ । १० जिल्लामा चालु आर्थिक वर्षमा ७८६ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक किरण राणाले जानकारी दिइन् ।
गत आवमा चितवनमा सबैभन्दा बढी लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको तथ्याङ्क छ । चितवनमा गत आवमा ७३९ हिंसाका घटना भएकोमा चाुल आवकाे हालसम्म समेत चितवनमा २ सय ४८ दर्ता भएकाे राणाले बताइन् । यसैगरी , गत आवमा मकवानपुरमा ६ सय ३ तथा चालु आवकाे हालसम्म १ सय ५७ जना, सिन्धुलीमा गत आवमा २ सय ६ तथा चाुल आवकाे हालसम्म ५३, धादिङमा गत आवमा १ सय ७१, चालु आवमा ६०, काभ्रेमा गत आवमा २ सय ९८, चालु आवमा १ सय २२, रामेछापमा गत आवमा ८१, चालु आवमा १७, सिन्धुपाल्चोकमा गत आवमा १ सय ७७, चालु आवमा ५१, दोलखामा गत आवमा ९८, चालु आवकाे हालसम्म २६, नुवाकोटमा गत आवमा १४७ चालु आवमा ४९ र रसुवामा गत आवमा शुन्य चालु आवकाे हालसम्म ३ वटा हिंसाकाे घटना दर्ता भएकाे बागमती प्रदेश प्रहरी कार्यालयकाे तथ्याङ्कले देखाउँछ ।
जिल्लागत रुपमा तथ्याङ्क अनुसार उपत्यकाका ३ जिल्ला बाहेक चालु आवकाे हालसम्म चितवनमा ८१ वटा, काभ्रेमा ६२ वटा, मकवानपुरमा ५५, धादिङमा ३७ वटा, सिन्धुलीमा ३४ वटा नुवाकोटमा ३१ वटा, दोलखामा २० वटा, सिन्धुपाल्चोकमा ३० वटा, रामेछापमा १२ वटा र रसुवामा २ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । यस्तै चालु आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा मध्ये चितवनमा १ सय ६७ वटा, काभ्रेमा ६० वटा, मकवानपुरमा १ सय २ वटा, धादिङमा २३ वटा, सिन्धुलीमा १९ वटा, नुवाकोटमा १८ वटा, दोलखामा ६ वटा, सिन्धुपाल्चोकमा २१ वटा, रामेछापमा ५ वटा र रसुवामा १ वटा घरेलु हिंसाका घटना भएका छन् ।
गत आर्थिक वर्ष चितवनमा ८ सय र रसुवामा २७ वटा लैङ्गिक हिंसाका घटना भएका थिए । घरेलु हिंसातर्फ भने मकवानपुरमा १ हजार १ सय ४६ वटा र सबैभन्दा कम रसुवामा ५ वटा घटना भएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा ७ हजार ३ सय २१ वटा लैङ्गिक हिंसाका घटना भएको थियो भने ४ हजार ४६ वटा घरेलु हिंसा भएको थियो ।
गत तीन आर्थिक वर्षमा राजधानी उपत्यकासहित ७ वटै प्रदेशमा ५५ हजार २ सय १४ लैंगिक हिंसा भएकाेमा मधेस प्रदेशमा सबै भन्दा बढी १३ हजार ६ सय ७६ वटा लैंगिक हिंसा भएको तथ्याङ्कमा उल्लेख छ । उक्त अवधीमा सबै भन्दा कम कर्णाली प्रदेशमा ३ हजार ४४ वटा घटना भएकोमा बागमती प्रदेश बढी उपत्यका र लुम्विनी प्रदेश पछि ४ औ स्थानमा रहेको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेकाे छ ।
लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रदेश प्रहरी कार्यालय हेटौंडा मार्फत् विभिन्न क्रियाकलाप भएको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् । उनका अनुसार लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रदेशका १० जिल्लामा १० वटा जिल्लास्तरीय समिति गठन गरिएको छ भने महानगरस्तरीय एक वटा, नगरपालिकास्तरीय २५ वटा, गाउँपालिकास्तरीय ६१ वटा र वडास्तरीय ७७५ वटा सहित ८७२ वटा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको उनले बताइन् ।
‘लैङ्गिक हिंसा विरुद्ध एकिकृत सेवा दिन जिल्ला अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ’ उनले भनिन् जसले लैगिंक हिंसाका पिडितलाई आश्रय दिने, घाइते भए उपचार गर्ने, सामाजिक मनोविमर्श दिने, कानूनी सल्लाह उपलब्ध गराउने र पूर्नस्थापनाको लागि पहल गर्ने कार्य गरिरहेको छ ।’ उनका अनुसार हालसम्म १ हजार ६ सय १६ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत सेवा लिएका छन् ।
प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रद्वार स्थानिय स्तरमा सचेतना अभिबृद्धी गर्ने कार्य गरिदै आएको छ भने लैंगिक हिंसा र घरेलु हिंसामा संलग्न पिडकलाई नियन्त्रण तथा पक्राउ गरी कानुनी दायरामा ल्याउने गरिएको बताइएकाे छ। हिंसा न्युनीकरणमा बागमती प्रदेश प्रहरी कार्यालयले समुदायसँग प्रहरीद्वारा सञ्चालित कार्यक्रमहरुमा सक्रिय सहभागिता, समन्वय र सहकार्य, पिडितलाई परामर्श र सहयोग, पिडतको उद्दार तथा पुनस्थापनामा सहयोग प्रदान गर्न सहयाेगकाे अपेक्षा समेत गरेका राणाले बताइन् ।
