मकवानपुर । हेटौंडामा सञ्चालन भएको छैठौं संस्करणको उपमेयर भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधी १७ नम्बर र महिलातर्फको उपाधी ९ नम्बर वडाको कब्जामा पारेको छ ।
शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेटौंडा १७ ले ११ लाई हराउँदै उपाधि हात पारेको हो । १७ ले ११ लाई १७–२५, २५–२२, २५–२३, १७–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनलमा १७ ले ५ लाई र ११ र १९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
खेलमा १७ नम्बरका विवेक माझी उत्कृष्ट खेलाडी हुँदा, उत्कृष्ट स्पाइकर ११ का निश्चल राना, लिफ्टर १७ का कुमार श्रेष्ठ, डिफेण्डर ११ का निरन सापकोटा, उदयीमान खेलाडी १६ का विवश तिमल्सिना र उत्कृष्ट प्रशिक्षक १७ का कमल बिडारी घोषित भए ।
यस्तै महिलातर्फ ९ ले १२ लाई हराउँदै प्रतियोगिताको विजेता भएको हो । ९ ले १२ लाई १७–२५, २५–१६, २५–२३ र २६–२४ को सेटमा हराएको हो । सेमिफाइनलमा ९ ले १४ लाई र १२ ले १७ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

महिलातर्फको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका आयुषा सिंह, उत्कृष्ट स्पाइकर १२ की चमेली योञ्जन, लिफ्टर १२ की प्रशंसा भोम्जन, उदयीमान खेलाडी १२ का प्रतिक्षा माझी र १९ को सिम्रन स्याङ्बो तथा प्रशिक्षक प्रशिक्षक ९ नम्बर वडाका रवि बस्नेत घोषित भए ।
महिला र पुरुष दुवै विधाका प्रथम भएको वडाले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता वडाले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका वडाले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
गत वर्ष भएको उपमेयर कपको पाँचौ सस्करणको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले हात पारेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग एवम् केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा प्रतियोगिता भएको हो ।

